२१ बैशाख २०८१, शुक्रबार

प्रदेशकाे नाम सुदूरपश्चिम, राधजानी गाेदावरी (फाेटाे, प्रतिवेदन र भिडियाेसहित)



धनगढी । प्रदेश सातको नाम सुदूरपश्चिम र राजधानी कैलालीको गोदावरीमा रहने भएको छ ।
प्रदेश सभा सातको सभामा मंगलबार प्रदेशको नाम सुदूरपश्चिम र राजधानी गोदावरीमा राख्न प्रदेशको नामांकन र स्थायी राजधानी निर्धारण गर्न गठित विषेश समितिले सुझाव दिएको छ । समितिका संयोजक तथा नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलका नेता तारा लामातामाङ्गले सुझाव प्रतिवेदन प्रदेश सभामा पेश गरेका छन् ।

प्रतिवेदनमा प्रदेशको राजधानी गोदावरी नगरपालिका वडा नं. ४ तेघरीमा राख्न सुझाव दिइएको छ । सेनाको तेघरी व्यारेकदेखि उत्तर पश्चिम, भीमदत्त राजमार्गदेखि पश्चिम, गोदावरी नदीदेखि पूर्व र गोदावरी बजारदेखि दक्षिण पर्ने ससाना बुट्यान भएको वनमा राजधानी राख्न समितिले सुझाव दिएको छ ।
समिति नेकपाका प्रमुख सचेत तारा लामा तामांगको संयोजकत्वमा गठन भएको थियो । सो समितिमा प्रदेशसभा सदस्यहरू नेकपाका चुनकुमारी चौधरी, प्रेमप्रकाश भट्ट, वलदेव रेग्मी र कांग्रेसका श्यामलाल रानाथारू सदस्य रहेका थिए ।


समितिले प्रतिवेदन तयार गर्नका लागि सरोकारवाला पक्षहरुसंग प्रत्यक्ष भेट गरी, छलफल बहस, सम्वाद तथा विद्युतीय माध्यम प्रयोग गरी सुझाव संकलन गरेको थियो । प्रतिवेदन प्रस्तुत गर्दै लामाले आएका सुझावको आधारमा प्रतिवेदन तयार गरेको बताए ।
प्रदेश सभाको भोलि १ बजे बस्ने बैठकमा सो प्रतिवेदनमाथि छलफल हुने छ । सांसद्हरुले प्रदेशको नाम र राजधानीका बारेमा थप राय दिन पाउने छन् । प्रदेश सभाले यसै साताभित्र प्रदेशको नाम र स्थायी राजधानी टुंगो लगाउने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार