२ जेष्ठ २०८१, बुधबार

‘सहमतिबाटै प्रदेशको नाम र राजधानीको टुंगो’



धनगढी । प्रदेश सातको नामाकरण र राजधानीको विषय सत्तापक्ष र प्रतिपक्षको सहमतिबाटै लाग्ने टुंगो लाग्ने सम्भावना देखिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सोमबार धनगढीमा बसेको संसदीय दलको बैठकमा प्रदेश सातका इञ्चार्ज भीम रावलले सहमतिमै नाम र राजधानी बारे टुंगो लाग्ने संकेत दिएको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार सात नम्बर क्षेत्र नै गृह जिल्ला रहेका काँग्रेसका सभापति शेरबहादुर देउवासँग नाम र राजधानी बारे नेकपाका नेताहरूले छलफल गरेका छन् । नेकपाको प्रदेश सभामा दुई तिहाई बहुमत भए पनि सत्तापक्ष तथा प्रतिपक्षको सहमतिमा प्रदेशको नाम र राजधानीको टुंगो लाग्दा समग्र प्रदेशकै हीत हुने भन्दै काँग्रेस सभापतिसँग छलफल गरेको बताइएको छ ।
५३ सदस्यीय प्रदेश सभामा नेकपाका ३९, काँग्रेसका १२ र राजपाका दुई सांसद रहेका छन् । दलको बैठकमा नाम र राजधानी बारे प्रदेश सभामा कसरी छलफल हुन्छ त्यही अनुसार आवश्यकता परे दलको बैठक फेरि पनि बस्ने निर्णय भएको जनाइएको छ ।
संसदीय दलको बैठकमा नेता रावलले पार्टीको नीति विपरित अभिव्यक्ति नदिन प्रदेश सभा सदस्यहरूलाई सचेत गरेका थिए ।
बैठकमा नेकपाका स्थायी समिति सदस्य लेखराज भट्टले पार्टीले दिएको जिम्मेवारी सबैले स्वीकार गर्नुपर्ने बताएका थिए ।
बैठकमा प्रदेश सभा सदस्यहरू वीरमान चौधरी, लीलाधर भट्ट, हर्क कुँवर, मीना साउँद लगायतले छलफलमा भाग लिएका थिए ।
प्रदेश सांसदहरूले प्रदेश सरकार बारे टिप्पणी गर्दै सरकार र सत्तापक्षीय सांसदहरूबीच समन्वय हुन नसकेको, प्रभावकारी कामहरू नभएको गुनासो गरेका थिए ।
बैठकमा नेकपाका सात नम्बर प्रदेशका सहइञ्चार्ज लक्ष्मणदत्त जोशी, प्रदेश अध्यक्ष कर्णबहादुर थापा, सचिव नेपबहादुर चौधरी, दलका नेता तथा मुख्यमन्त्री त्रिलोचन भट्ट र मन्त्रीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार