१२ श्रावण २०८१, शनिबार

निर्मला हत्याकाण्ड : महिला संघद्वारा विरोध प्रदर्शन



धनगढी । कञ्चनपुर, भीमदत्त नगरपालिका, उल्टाखामकी १३ वर्षीया निर्मला पन्त हत्या घटना भएको दुई महिना हुनलाग्दा पनि वास्तविक दोषिहरूलाई पत्ता लगाउन सरकार असफल भएको भन्दै नेपाल महिला संघ, कैलालीले आइतबार धनगढीमा विरोध प्रदर्शन गरेको छ । संघले निर्मला हत्यामा संलग्न दोषिलाई छिटो पत्ता लगाउन जिल्ला प्रशासन कार्यालय, कैलाली मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र समेत पठाएको छ ।
महिला संघले सरकारले निर्मला पन्त हत्याकाण्डमा संलग्न दोषिहरूलाई पक्राउ कानूनी कारबाहीको दायरामा ल्याउन गम्भीरता नदेखाएको भन्दै विरोध गरेको छ । घटनामा संलग्न दोषिलाई कानूनी सजाय दिनुको साटो सरकारले उल्टै दोषिलाई संरक्षण गर्ने नियतले छानबिन समितिहरू मात्रै बनाएर जनतालाई अल्मल्याउने प्रयास गरिरहेको सघंले आरोप लगाएको छ ।
धनगढी चौराहबाट शुरु भएको बृहत विरोध र्‍यालीमा सरकारविरुद्ध चर्को नाराबाजी भएको थियो । र्‍यालीमा महिला नेतृ तथा प्रदेश सभा सदस्य दिव्यश्वरी शाह, धनगढी उपमहानगरपालिका उपप्रमुख सुशीला मिश्र भट्ट, जनप्रतिनिधिहरू, महिला संघका पदाधिकारी तथा सदस्यहरू तथा ठूलो संख्यामा स्थानीयको सहभागिता रहेको थियो ।
दुई महिनासम्म अपराधी पत्ता नलागेको भन्दै महिला सघंले सरकार बिरुद्ध नाराबाजी गरेको थियो । बिरोध र्‍याली जिल्ला प्रशासन कार्यालय अगाडी गएर कोणसभामा परिणत भएको थियो । उपमहानगर कार्यपालिका सदस्य कल्याणी सिंहले निर्मलाको बलात्कार पछि हत्या भएको दुई महिना पुग्न लाग्दा पनि सरकार गम्भीर नभएको आरोप लगाइन ।
नेपाली काँग्रेस वडा नम्बर ४ का सचिव ईन्दिरा जैशीले वर्तमान सरकारले जनताका लागि अभिभावकको भूमिका निर्वाह गर्न नसकेका कारण देशभरी महिलाहरूले सडकमा उत्रिनु परेको बताइन् ।
उता, निर्मलाको बलात्कारपछि हत्या गर्ने दोषि पत्ता लगाउन र कानूनी कारवाही गर्न माग गर्दै नेपाल महिला संघ खोटाङले प्रधानमन्त्रीलाई चश्मा उपहार पठाएको छ । निर्मलाको बलात्कारपछि हत्या भएको लामो समय बित्दा समेत सकारले दोषि पत्ता लगाएर कारवाही गर्न नसकेको भन्दै महिला संघले आइतबार सत्यतथ्य पत्ता लगाएर न्याय सम्पादनको माग गर्दै प्रधानमन्त्रीलाई उपहार स्वरुप एक थान चश्मा पठाएको जनाइएको छ ।
निर्मलाको हत्या र बलात्कारको घटनाका विषयमा सत्य–तथ्य पत्ता लगाएर कानूनी कारवाही गर्नेक्रममा सरकारको ‘दृष्टिभ्रम नहोस्’ भन्ने अपेक्षा सहित प्रधानमन्त्रीलाई ज्ञापनपत्रका साथमा चश्मा उपहार पठाइएको नेपाल महिला संघ खोटाङकी अध्यक्ष रामकुमारी राईले बताइन् । निर्मलाको बलात्कारपछि हत्या भएको दुई महिना बित्दा समेत सरकारले दोषि पत्ता लगाउन नसकेको संघले प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्रका साथमा चश्मा पठाएको छ ।
“घटनाको सत्यतथ्य पत्ता लगाएर कारवाही गर्नुको सट्टा प्रधानमन्त्री घटनाको संवेदनशीलता नबुझी जघन्य अपराधलाई उखानटुक्का र मजाकमा उडाएर पीडितका बुवाआमा, समाज र महिलामाथि धावा बोल्न उद्यत रहेको हाम्रो ठम्याई छ” संघकी अध्यक्ष राईले भनिन्– “महिला अस्मितामाथि भइरहेको अपमानले समग्र देशको शिर निहुरिएको छ ।”

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार