१४ कार्तिक २०८१, बुधबार

दृष्टि फाउण्डेशनले लियो ताराको स्याहारसुसारको जिम्मा



धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ६, बाहुनपुरकी १९ वर्षीया तारा जैशीको दृष्टि फाउण्डेशनले स्याहारसुसारको जिम्मेवारी बहन गर्ने भएको छ ।
मानसिक रूपमा निकै अस्वस्थ ताराबारे अनुमोदन दैनिकको सोमबारको अंकमा “दुई वर्षदेखि बाख्रको खोरमा” शीर्षकमा समाचार प्रकाशित भएपछि उनको अवस्थाबारे स्थानीय तह तथा विभिन्न संघसंस्थाको चासो बृद्धि भएको छ ।
बिहीबार लम्कीचुहा नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष नेत्र मगरको अध्यक्षतामा बसेको बैठकमा दृष्टि फाउण्डेसनले ताराको स्याहारसुसारको जिम्मेवारी लिनेगरी धनगढी पठाउने निर्णय भएको जनाइएको छ ।
समाचार प्रकाशित भएपछि फाउण्डेसनले ताराका आमा सर्जुकला र वडाध्यक्षको सहमतिमा उनको स्याहारसुसार, स्वास्थ्य उपचार तथा सुरक्षा गर्ने गरी जिम्मा लिएको फाउण्डेसनका अध्यक्ष कल्पना भट्टले बताइन् ।
उनले तारा मानसिक रूपमा ठिक भएपछि घरमा फर्काउने सहमति भएको बताइन् । उनले वडापालिका कार्यालय र नगरपालिकासँग ताराको स्याहारसुसारका लागि आवश्यक सहयोग प्राप्त हुने बताइन् ।
यसअघि मंगलबार लम्कीचुहा नगरपालिकाका नगर प्रमुख महादेव बजगाई ताराको घरमै भेटन पुगेका थिए । भेटका क्रममा नगर प्रमुख बजगाईले जैशीलाई तत्काल उपचारका लागि नेपालगञ्ज पठाउने र उपचार खर्चको जिम्मा लम्की नगरपालिकाले व्यहोर्ने बताएका थिए ।
त्यस्तै, लम्कीचुहा नगरपालिकाले तारालाई मासिक खर्च, लुगा कपडाको व्यवस्था पनि गर्ने, ग्रामीण विद्युत सहकारीसँग छलफल गरी जैशीको घरमा जडान भएको विद्युत महशुल नि:शुल्क गराउने, आमा सुर्जकलालाई घरमै आयआर्जनको व्यवस्था गर्ने भनि आश्वासन दिएको थियो ।
मानसिक रूपमा निकै अस्वस्थ तारालाई बाध्य भएर आमाले दिनभरी बाख्राको खोरमा बाँधेर राख्नु परेको थियो । उनकी आमा सुर्जकलाका अनुसार ताराले घरबाट भाग्ने, शरीरको कपडा च्यात्ने, जथाभावी सामान फयाक्ने गर्छिन् । आर्थिक अवस्था निकै कमजोर भएकी सुर्जकलाको परिवारका सदस्य दिउसो मजदूरी गर्न वा वनबाट दाउरा ल्याएर बेच्न जानुपर्ने भएकाले तारालाई बाँधेर दिनभरी बाख्राको खोरमा राख्नु परेको सुर्जकलाले बताइन् ।

सम्बन्धित समाचारहरु

दुई वर्षदेखि बाख्राको खोरमा
तारालाई नबाँध्न नगर प्रमुखको अनुरोध : उपचारको जिम्मा नगरपालिकाले लिने

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार