१० श्रावण २०८१, बिहीबार

संविधान दिवस, २०७५ : धुमधामसँग मनाइयो



धनगढी । नेपालको संविधान, २०७२ जारी भएको तीन वर्ष पुरा भएर चौथो वर्षमा प्रवेश गरेको छ । यस क्रममा बुधबार धनगढी सहित देशभरी विभिन्न कार्यक्रमसहित संविधान दिवस मनाइएको छ । यस क्रममा धनगढीमा र्‍याली, सांस्कृतिक झाँकी, प्रवचन लगायतका कार्यक्रम भएका छन् ।
संविधान दिवस, २०७५ का अवसरमा मंगलबारदेखि तीन दिनसम्म विभिन्न कार्यक्रम भइरहेका छन् । बुधबार प्रदेश ७ को संविधान दिवस मुल समारोह समितिको आयोजनामा र्‍याली, सांस्कृतिक झाँकी तथा प्रवचन कार्यक्रम भएका छन् । सात नम्बर प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट बाँजागाजा सहित र्‍याली निस्किएको थियो ।
र्‍यालीमा प्रदेशका मुख्यमन्त्री, सभामुख, मन्त्रीहरू, प्रदेश सांसदहरू, स्थानीय तहका जनप्रतिनिधिहरू, सरकारी कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।
र्‍यालीपछि आयोजित विशेष समारोहमा प्रदेश प्रमुख मोहनराज मल्ल प्रमुख अतिथि रहेका थिए । कार्यक्रम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा भएको थियो ।
सो अवसरमा मुख्यमन्त्री भट्टले जनताका चाहाना र आंकाक्षा अनुरूप काम हुन नसकेको चर्चा गरे । मुख्यमन्त्री भट्टले देश संघीय संरचना प्रवेश गरी तीन तहको सरकार निर्माण भए पनि संघीय संसदले आवश्यक कानून निर्माण नगरेका कारण सन्तोषजनक काम हुननसकेको बताए । उनले नेपालमा संघ वा केन्द्रीय सरकार र स्थानीय तह पुरानै व्यवस्था भए पनि प्रदेश सरकार नयाँ अभ्यास भएकोले व्यवस्थित हुन अझै केही समय लाग्ने बताए ।
मुख्यमन्त्रीले संघ, प्रदेश र स्थानीय तहबीचको समन्वयले मात्र देश समृद्ध बन्न सक्ने बताए । उनले तीनै तहका सरकारले आ–आफ्नो अधिकार प्रयोग गर्दै अगाडि बढ्नुपर्ने बताए । उनले भने– “संविधानको मर्म अनुसार संघीय व्यवस्था समन्वय, सहकार्य र सहअस्तित्वमा आधारित रहेको छ ।”
“संविधानले परिकल्पना गरेको राज्यव्यवस्थाको अभ्यास भएको छ । मौलिक हक, अधिकार स्थापित भएका छन् । सिंहदरवारको अधिकार जनताको घरदैलोमा पुगेको छ” उनले भने– “यी व्यवस्था जनताको बीचमा जस्ताको त्यस्तै लागू गर्नु सबैको दायित्व हो ।”
उनले संविधान कार्यान्वयनका क्रममा देखिएका चुनौति पनि मिलेर सामना गर्नुपर्ने बताए । मौलिक हक, शासन व्यवस्था, अधिकार तथा समाज रूपान्तरणका दृष्टिले वर्तमान संविधान अग्रगामी रहेको उल्लेख गर्दै उनले संघीयताको अभ्याससँगै मुलुक स्वाधिन, विकसित र समृद्ध राष्ट्र बनाउने बाटोमा अघि बढेको चर्चा गरे ।
कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाहले नेपाली जनताको लामो त्याग र बलिदानबाट सबैको अधिकारलाई सुनिश्चित गर्ने संविधान जारी भएको चर्चा गरे ।
यसैबीच, प्रदेश सरकारका मन्त्री, सांसद तथा कर्मचारीहरूलाई ‘प्रदेश सरकार, प्रदेश नम्बर ७’ लेखिएको र राष्ट्रिय झण्डा अंकित ढाका टोपी वितरण गरिएको छ ।
धनगढी रंगशालामा भएको विशेष समारोहमा विभिन्न सांस्कृति झाँकी प्रदर्शन गरिएको थियो । त्यस्तै, खेलाडीहरूले विभिन्न खेल प्रस्तुत गरेका थिए ।

समयमै सावधानी अपनाऔं– राजपा नेता महतो
राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले समयमै संविधान संशोधन गर्न आग्रह गरेका छन् । “थरुहट तथा मधेश आन्दोलन स्थिर भएको हो, समाप्त भएको छैन” बुधबार राजपा कैलालीले आयोजना गरेको विरोध कार्यक्रममा नेता महतोले भने– “हामी अहिले धैर्य गरेर बसेका छौं ।”
उनले धैर्यताको बाँध टुटेपछि नियन्त्रण गर्न गाह्रो हुने चेतावनी दिए । भने– “हामी सरकारलाई समयमै सचेत भएर संविधान संशोधनमा ध्यान दिन अनुरोध गर्दछौं ।”
राजपा नेता महतोले राजपाले वर्तमान सरकारले मधेश तथा थारूहरूको माग सम्बोधन गर्छ भन्ने आशाले अहिले समर्थन गरिरहेको बताए । “सरकारले इमान्दारिता देखायो भने संविधान संशोधन गर्न कुनै समस्या छैन” उनले भने– “अहिले संसदमा पनि हामी नरम भएका छौं । जब सरकारले सुन्दैन संसद पनि गरम हुन्छ र त्यस्तै अवस्था आए सडक पनि गरम हुनेछ ।”
उनले तीन वर्षदेखि पटक–पटक संविधान संशोधन गर्ने आश्वासन पाए पनि पूरा नभएको बताए । भने– “मधेशी, थारू, दलित, आदिवासी, मुस्लिमका अधिकार समेट्ने गरी संविधान संशोधन गर्ने, टीकापुर हत्याकाण्डको आरोपमा पक्राउ परेका अभियुक्तलाई रिहाइ गर्ने लगायतका विषयमा तीन वर्षदेखि आश्वासन पाइरहेका छौं । तर, कुनै पनि आश्वासन पूरा भएका छैनन् ।”
उनले ‘देशभर अहिले भ्रष्टाचार, हत्या, हिंसा, बलात्कार लगायतका घटना भइरहे पनि सरकार चुप लागेर बसेको’ आरोप लगाए । उनले भने– “सरकार अलमलमा फसेको छ । न प्रदेश सरकार राम्ररी सञ्चालन भएका छन्, न सरकारले आम जनतालाई सरकारको अनुभूति नै गराउन सकेको छ ।”
कार्यक्रममा राजपाका केन्द्रय सदस्य अनिलकुमार झाले संविधानले सबै वर्ग, जातको अधिकारलाई समेट्न नसकेको बताए । “यो संविधानले मधेशी, थारू, आदिवासी, जनजाति, दलितका अधिकारहरू समेट्न सकेको छैन” उनले भने– “संविधानमा नागरिकता, भुगोल, भाषा सम्बन्धीका प्रावधानहरूमा धेरै त्रुटि रहेको छ ।”
केन्द्रीय सदस्य झाले संविधानलाई सबैले स्वीकार गर्ने गरी संशोधन गर्नुपर्ने बताए । “संविधान भनेको राज्य र जनताबीचको सम्झौताको दस्तावेज हो” उनले भने– “संविधान सबैको हित र कल्याण हुने खालको हुनुपर्छ ।” उनले संविधानका पाना पल्टाउदा उत्पीडनमा परेका वर्गका अधिकारहरू सुनिश्चित नभएको आरोप लगाए । उनले तर्कले नभई भावनाले स्वीकार गर्ने गरी संविधान जारी गर्न सरकारसँग आग्रह गरे ।
राजपाका प्रदेश सांसद कृष्णबहादुर चौधरीले टीकापुर घटनामा पक्राउ परेका व्यक्तिहरूलाई रिहाइ गर्नमा प्रदेश तथा संघीय सरकारको ध्यान जान नसकेको बताए ।
उनले प्रदेश ७ को संरचनानै उपयुक्त नभएको बताए । “प्रदेशको संरचना कैलाली कञ्चनपुरका थारूहरूले अपनत्व गर्ने गरी बन्नुपर्ने थियो” उनले भने– “तर, संरचना बनाउँदा अन्याय गरियो ।”
राजपाका कैलाली संयोजक जयदेव जोशीको अध्यक्षतामा भएको कार्यक्रममा राजपाका केन्द्रीय सदस्य, प्रदेश सांसद, कार्यकर्ताको सहभागिता रहेको थियो ।

कालोपट्टी बाँधेर विरोध
थरुहट/थारूवान संघर्ष समितिले टाउकोमा कालोपट्टी बाधेर ‘कालो दिन’ का रूपमा संविधानको विरोध कार्यक्रम गरेको छ ।
धनगढीको मुख्य बजार पार्कमोडमा विरोध कार्यक्रमको आयोजना गर्दै उनीहरूले कैलाली कञ्चनपुरसहित चितवनसम्म तराइको भूभागलाई समेटेर थरुहट प्रदेश कायम गर्नुपर्ने, थरुहट/थारूवान आन्दोलनका क्रममा भएको टीकापुर मुद्दालाई राजनीतिक रूपमा समाधान गर्नुपर्ने, टीकापुर राजबन्दीहरूलाई यथाशिघ्र विनासर्त रिहाइ गर्नुपर्ने, थरुहट/थारूवानले उठान गरेको मुद्दा संविधान संशोधन गरी पूरा गर्नुपर्ने लगायतका माग राखेका थिए ।
कार्यक्रममा प्रदेश सांसद मालामती रानाले प्रदेश सरकार र संघीय सरकार थारूका मुद्दामा संवेदनशील हुन नसकेको बताइन् । “अहिले प्रदेशमा सरकार बहुमतको दम्भमा अघि बढिरहेको छ” उनले भनिन्– “प्रदेश सरकारले गर्ने हरेक छलफलमा राजपालाई सहभागिता गराउन छोडेको छ ।”
उनले प्रदेश सरकारले प्रदेशको नामाकरण तथा राजधानीका विषयमा गठन गरेको विशेष समितिमा पनि राजपाको सहभागिता नगराएको बताउँदै ‘समितिले बुझाएको प्रतिवेदन हामी मान्ने छैनौं ।’ उनले संविधानमा संशोधन नभएसम्म विरोधका कार्यक्रम जारी राख्ने बताइन् ।
थरुहट/थारूवान संघर्ष समितिका संयोजक कृष्णबहादुर चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा थरुहट/थारूवान संघर्ष समितिका सदस्यहरूको सहभागिता रहेको थियो ।

 
महतोले भेटे कैदीबन्दी
राजपाका नेता राजेन्द्र महतले टीकापुर घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका अभियुक्तहरूसँग भेटघाट गरेका छन् ।
बुधबार कैलाली जिल्ला कारागारमा पुगेर उनले कैदीबन्दीको वर्तमान अवस्था, उनीहरूको माग लगायतका बारेमा जानकारी लिएका थिए । कैदीबन्दीलाई भेटघाट गर्दै उनले आफूले रिहाइका लागि सरकारसँग पहल गरिरहेको जानकारी दिए ।
“मैले पटक–पटक सरकारसँग वार्ता र छलफल गरिरहेको छु” उनले भने, “सरकारले आश्वासन त दिएको छ तर, नतिजा आउने गरी काम भने गरेको छैन् ।” उनले आफूहरू अहिले पर्ख र हेरको नीतिमा अघि बढिरहेको बताउँदै “सरकारले संवेदनशील नभए हामी कडा रूपमा अघि बढ्छौं ।”

 

बेलडाँडीमा संविधान दिवस
कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा बुधबार विभिन्न कार्यक्रमसहित संविधान दिवस मनाइएको छ ।
यस क्रममा र्‍याली तथा सभा भएको थियो । सो अवसरमा स्थानीय सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष धनबहादुर थापा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार