१२ श्रावण २०८१, शनिबार

आज संविधान दिवस



धनगढी । संविधान जारी भएको तीन वर्ष पुरा भई आज चौथो वर्षमा प्रवेश गरेको छ । संविधान दिवस प्रदेश ७ सहित देशभरी विविध कार्यक्रम गरी आज मनाइदै छ ।
यो अवधिमा संघ, प्रदेश र स्थानीय तीनै तहका निर्वाचन भएर तीनै तहका सरकार गठन भई सञ्चालनमा आइसकेका छन् । नेपालको संविधान, २०७२ ले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्थामा प्रवेश गराएको छ । तर, संविधान कार्यान्वयनमा अहिले पनि केही चुनौति यथावत रहेको अवस्था छ ।
आम जनताले परिवर्तनको अनुभूति गर्नसक्ने गरी संविधान कार्यान्वयन हुनसकेको पाइदैन । खासगरी संघीयताको केन्द्रीय विषयका रूपमा रहेको प्रदेश सरकारले आम जनतालाई अनुभूत हुने गरी काम गर्न सकिरहेको छैन । संविधानमा व्यवस्था भएअनुसार आवश्यक कानून र प्रदेश सरकारको अधिकार क्षेत्र नतोक्दा प्रदेश सरकारले आम नागरिकका पक्षमा काम गर्न नसकिरहेको प्रदेशका सांसदहरूले गुनासो गर्दै आएका छन् ।
“संविधान कार्यान्वयनको सबैभन्दा प्रमुख कुरा भनेको तीन तहका निर्वाचन सम्पन्न भएर तीनै तहका सरकार गठन हुनु नै हो” अनुमोदनसँगको कुराकानीमा प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले भने– “संविधान कार्यान्वयनमा चुनौति पनि छन् । जनताको अपेक्षा बढेका छन् । त्यसैले तीन तहका सरकारले मुलुकलाई जनताको अपेक्षा अनुसार समृद्धिको यात्रा अघि बढाउन सके भने संविधान र परिवर्तन सफल हुनेछ ।”
उनले संविधानले तीनै तहका सरकारका लागि व्यवस्थित गरेका एकल तथा साझा अधिकारलाई जस्ताको तस्तै कार्यान्वयन गरेमा एक वर्षभित्रै आम जनतालाई संघीयता तथा संविधानको पूर्ण कार्यान्वयनको अनुभूति दिन सकिने बताए ।
मुख्यमन्त्री भट्टले प्रदेश सरकार प्रभावकारी रूपमा सञ्चालनको सन्दर्भमा अहिले संघीय संसदले आवश्यक कानून निर्माण गर्न ढिलाई गरेकाले संविधानमा व्यवस्था भएअनुसार प्रदेश प्रहरी, प्रदेश सरकारमातहतका निकाय, लोकसेवा आयोग आदि संयन्त्र र संरचना बनाउन नसकिएका बताए ।
प्रदेश ७ का प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका नेता रणबहादुर रावलले नेपालको संविधान २०७२ जारी हुँदा नेपाली जनताले सार्वभौमसत्ता सम्पन्न भए भनेर खुशी भएको भएपनि जनताले परिवर्तनको महसुस गर्न नसकेको बताए । उनले कर्मचारी प्रशासन, योजनाहरू राम्रोसँग चल्न नसक्नुका साथै प्रदेश सरकार राम्रोसँग सञ्चालन हुन नसकेको बताए ।
उनले संविधान कार्यान्वयन गर्ने मुख्य जिम्मेवारी संघीय र प्रदेश सरकारको रहेको भए पनि सरकार गम्भीर हुन नसकेको बताए ।
प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टीकी सांसद मालामति रानाले संविधानको आफ्नो विरोध यथावत रहेको बताइन् ।
संविधान दिवस मुल समारोह समितिले प्रदेशमा तीन दिनसम्म भव्यताका साथ दिवस मनाइरहेको छ । आज (बुधबार) मूल समारोह समितिले सांस्कृतिक झाँकी सहित र्‍याली कार्यक्रम गर्ने भएको छ । मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयबाट शुरु हुने र्‍याली कर्भड हलमा पुगी विशेष समारोह गर्ने कार्यक्रम रहेको समितिले जनाएको छ ।
यस्तै, दिवसको पूर्वसन्ध्यामा सेती अञ्चल अस्पतालमा फलफूल वितरण कार्यक्रम गरेको छ ।
यस्तै, सशस्त्र प्रहरी बल नेपाल गणले दिवसको अवसरपारी धनगढीस्थित वनदेवी मन्दिर तथा मन्दिर परिषरमा सरसफाई गरेको छ । सरसफाई कार्यक्रममा ससस्त्र प्रहरी जवानहरूको सहभागिता रहेको थियो ।
प्रदेश सरकारले संविधान दिवसलाई भव्यताका साथ मनाइरहँदा प्रदेशमा केही पक्षले भने कालो दिनका रूपमा विरोध गरिरहेका छन् ।
प्रदेशको राष्ट्रिय जनता पार्टी, थारू कल्याणकारिणी सभाले आजको दिनलाई कालो दिनका रूपमा विरोध गर्ने जनाएका छन् । राष्ट्रिय जनता पार्टीकी सांसद मालामति रानाले भनिन् “प्रदेश सरकार संविधान दिवस भव्य तरिकाले मनाउँदै छ । हामी ‘कालो दिन’ भनिरहेका छौं ।” उनले यो संविधान धेरै त्रुटि रहेको र संशोधन गरिनुपर्ने बताइन् । “संविधान संशोधन नभएसम्म हामी कालो दिनका रूपमा लिने छौं” उनले भनिन्, “प्रदेशको सीमांकन सही भएको छैन । नागरिकताको सवाल लगायतका चुनौति छन् । प्रदेश नम्बर सातको प्रमुख चुनौति पनि सीमांकन नै हो ।”

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार