११ श्रावण २०८१, शुक्रबार

बलात्कार घटनाहरू : एकातिर फितलो छानबिन, अर्कोतिर मिलापत्रमा टुंग्याउने प्रवृत्ति



धनगढी । घटना नम्बर १. कैलालीको मोहन्याल गाउँपालिकामा गत फागुन १० गते कुइनेका अन्दाजी २६ वर्षीय रमेश बटालाले एक युवतीलाई बलात्कार गरेको घटना सार्वजनिक भयो । तर, त्यो घटनामा कानूनी कारवाही अघि बढेन । पीडित युवतीका परिवारजनका अनुसार प्रहरीबाट नै सो घटनालाई भित्रभित्रै ‘मिलापत्र’ गराउने प्रयास गर्‍यो । र, पीडित युवतीले गाउँबाटै विस्थापित हुनपर्ने अवस्था सिर्जना भयो । अहिले उनी गाउँ छोडेर नारायणघाटमा दिन विताइरहेको बताइन्छ ।
घटना नम्बर २. कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर २ का एक जना दृष्टिबिहिन महिलालाई दीपक थापामगरले जबरजस्ती करणी गरे । पीडित महिलाका आफन्तले दीपकविरुद्ध किटानी जाहेरी दिए, तर प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेका छैन । बरु, ‘घटनाका साक्षीहरू’ लाई सोधपुछ गरिरहेको छ ।
बलात्कारका घटनामा दोषिहरूलाई पक्राउ गरेर कानूनी कारवाहीको दायरामा ल्याउन चासो नदिइएका यी केही प्रतिनिधिमूलक उदाहरण हुन् । धेरैजसो बलात्कारका घटनामा प्रहरी छानबिन तथा कारवाही फितलो भएका कारण दोषिहरूले उन्मुक्ति पाउने गरेका छन् । त्यस्तै, कतिपय घटना मिलापत्रमै टुंग्याउने गरिएको पाइएको छ । परिणाम, पीडितले उल्टै विस्थापित हुनुपरिरहेको छ ।
बलात्कारको सिकार भएकी मोहन्यालकी युवतीले न्याय पाउन नसकेपछि गाउँबाट विस्थापित भइन् । उनका आफन्त भन्छन्– “प्रहरीले दोषिलाई कारवाहीको दायरामा ल्याउन चासो नदिएपछि उनी विस्थापित भइन् ।” पीडित युवतीका बुबाले साउन २ गते आत्महत्या गरे ।
“ती युवतीका बुबाले आत्महत्या गरेपछि बलात्कार घटना दबाइएको कुरा बाहिर आएको हो” प्रदेश सभा सांसद रतनबहादुर थापाले भने– “बलात्कारी रमेश पछि नारायणघाट गएको रहेछ । ती युवती बस्ने घर नजिकैको एक होटलमा १५ दिन बसेको रहेछ । होटलको मालिकले शंका लागेर उसलाई सोधपुछ गरिछन् र पछि प्रहरीलाई खबर गरिछन् । अहिले रमेश नारायणघाट प्रहरी कार्यालयमा थुनामा रहेका छन् ।”
लम्कीमा दृष्टिबिहिन महिलालाई बलात्कार गर्ने दीपकलाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन । स्थानीयका अनुसार प्रहरीले उल्टै पीडितका श्रीमान तथा छरछिमेकीलाई पटक–पटक सोधपुछ गरिरहेको छ । नाम उल्लेख नगर्ने शर्तमा एक स्थानीयले भने– “प्रहरीले शुरुमा त सो घटनाको उजुरी नै लिन मानेन । पछि व्यापक दवाव आएपछि प्रहरीले उजुरी त लियो, तर अहिलेसम्म दोषिलाई पक्राउ गरेको छैन ।”
ईलाका प्रहरी कार्यालय लम्कीका इन्स्पेक्टर सुरेन्द्रप्रसाद जोशीले अभियूक्त रमेशलाई पक्राउ गरी मुद्दा चलाएको र दीपकको खोजी कार्य जारी रहेको बताए । “हामीले खोजी कार्य जारी राखेका छौं । उसको हुलियासहित कञ्चनपुर प्रहरीमा समेत पत्राचार गरिसकेका छौं” उनले भने । “प्रहरीले घटनाका दोषिहरूलाई उम्काउने प्रयास गरेको छ भन्ने स्थानीयको आरोप छ नि ?” भन्ने अनुमोदन दैनिकको जिज्ञासामा प्रहरी निरीक्षक जोशीले भने– “यस्ता जघन्य घटनामा प्रहरीले दोषिलाई उम्काउने काम गर्दैन ।”

सत्तापक्षका सांसदकै प्रश्न– कामै नगर्ने मन्त्रालय किन चाहियो ?
प्रदेश सातका सत्तापक्षका सांसदहरूले हत्या, बालात्कार सहितका अपराधिक घटनाका दोषिलाई कानूनी कारवाहीको दायरामा ल्याउन कुनै भूमिका नभएपछि प्रदेशका गृह सहितका मन्त्रालय किन आवश्यक भन्ने प्रश्न उठाएका छन् ।
प्रदेश सभाको सोमबारको बैठकमा सत्तापक्षीय सांसद रतनबहादुर थापाले कैलाली र कञ्चनपुरमा पछिल्लो समय बढ्दै गएका हत्या, बलात्कार लगायतका जघन्य अपराधका घटनाको नियन्त्रण तथा दोषिलाई कानूनी कारवाहीको दायरामा ल्याउन प्रदेश गृह मन्त्रालयको कुनै भूमिका नभएको खेद व्यक्त गरे । सांसद थापाले प्रश्न गरे– “अपराधिक गतिविधि नियन्त्रण गर्न कुनै भूमिका नहुने हो भने प्रदेशमा गृह मन्त्रालय किन र के का लागि चाहियो ?”
प्रदेश सभा बैठकको सून्य समयमा सांसद थापाले प्रदेश सरकार गठन भएयता आफ्नो निर्वाचन क्षेत्रमा भएका जघन्य अपराध घटनाको चर्चा गरे । उनले भने– “यो सरकारले जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति गराउला भनेरै अहिलेसम्म चुप बसे, तर जघन्य अपराधका घटना त झन् बढेको बढ्यै छन् ।” उनले जघन्य अपराधका घटना नियन्त्रणका लागि दोषिलाई कानूनी कारवाहीको दायरामा ल्याउनुपर्नेमा प्रहरी प्रशासनबाट नै लापरवाही र कमीकमजोरी भइरहेको बताए ।
सांसद थापाले कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार र हत्या घटनासहित अन्य अपराधिक घटनामा प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले कुनै भूमिका निर्वाह गर्न नसकेको आरोप लगाए । उनले भने– “यो प्रहरी हेर्ने मन्त्रालय किन राख्ने ?, यसले केही पनि काम गरेको मैले देखेको छैन ।” उनले प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई हटाउन माग गरे ।
प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका सांसद गोविन्दराज बोहराले सरकारले निर्मला पन्तको हत्यारालाई अहिलेसम्म पत्ता लगाउन नसकेकोमा तीब्र विरोध गरे । “निर्मलाको बलात्कार तथा हत्यामा संलग्न दोषिलाई कानूनी कारवाहीको दायरामा ल्याउन प्रदेशको गृह मन्त्रालयले अहिलेसम्म के गरेको छ ?” सांसद बोहराले चेतावनी दिए– “हामी एक हप्ताभित्र आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई निर्मला पन्तको बलात्कार तथा हत्या घटनाको सत्यतथ्य बाहिर ल्याउन समय दिन्छौं । त्यसपछि हामी आफ्नै ढंगले कारवाही अघि बढाउने छौं ।”
सत्तापक्षका सांसद लालबहादुर खड्काले कञ्चनपुरमा हात्ती आतंकले किसानहरू मारमा परेको जानकारी गराए । “तत्काल हात्तीको आतंकबाट भइरहेको क्षति रोक्ने काम होस्” उनले हात्ती आतंक नियन्त्रणका लागि दीर्घकालीन योजना बनाउन पनि माग गरे ।
सांसद हर्कबहादुर बोहराले अछाममा पहिरोका कारण विस्थापित भएका परिवारले क्षतिपूर्ति पाउन नसकेको बताए । उनले अछाम र बाजुरा जोड्ने सडक पनि पहिरोका कारण विग्रेकोले मर्मतका लागि पहल गर्न माग गरे ।
सांसद सुशीला बुढाथोकीले कैलालीको हुलाकी सडकको अवस्था दयनीय बन्दै गएकोले मर्मतका लागि प्रदेश सरकारले पहल गर्न माग गरिन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार