१२ श्रावण २०८१, शनिबार

निर्मला बलात्कार तथा हत्या घटना : डिआइजीको नेतृत्वमा फेरि अर्को अनुसन्धान समिति



धनगढी । बालिका निर्मला पन्त बलात्कार तथा हत्या घटनाको छानबिनका लागि फेरि अर्को अनुसन्धान तथा छानबिन समिति बनेको छ । प्रहरी प्रधान कार्यालयले घटनाको अनुसन्धान तथा छानविन गर्न अपराध अनुसन्धान विभागका प्रहरी नायव महानिरीक्षक (डिआइजी) धिरु बस्नेतको संयोजकत्वमा आइतबार समिति गठन गरेको छ ।
प्रहरी प्रधान कार्यालयले यसअघि भदौ १४ गते एसएसपी उत्तम सुवेदीको संयोजकत्व छानबिन समिति बनाएको थियो । एसएसपी सुवेदी नेतृत्वको समितिलाई समेत गाभेर डिआइजी बस्नेतको नेतृत्वमा नयाँ समिति गठन गरिएको जनाइएको छ ।
घटनाको छानबिनका लागि गृह मन्त्रालयले यसअघि बनाएको सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको उच्चस्तरीय छानविन समितिले मन्त्रालयमा प्रतिवेदन बुझाएको एक दिनपछि प्रहरी प्रधान कार्यालयले घटनाको समग्र अनुसन्धान तथा छानबिन गर्न डिआइजीको संयोजकत्वमा समिति गठन गरेको जनाएको छ । सहसचिव मैनाली नेतृत्वको समितिले निर्मला हत्या घटनाको छानबिनमा संलग्न प्रहरीबाट भएको लापरवाहीसहितको प्रतिवेदन बुझाएको बताइएको छ ।
प्रहरी प्रधान कार्यालयका प्रवक्ता एसएसपी शैलेश थापाक्षेत्रीले “घटनाको प्रारम्भिक अनुसन्धान गर्ने थप प्रहरीहरू निलम्बन भएको र मुख्य अभियुक्त भनिएका दिलिपसिंह बिष्टको डिएनए रिपोर्ट आइसकेपछि गम्भीरतापूर्वक अनुसन्धान गर्न डिआइजीलाई समितिको नेतृत्व दिइएको” जानकारी दिए ।
शनिबार गृह मन्त्रालयले घटनाको अनुसन्धान गर्न साउन १४ गते गएको सिआइबीको टोलीका तीनसहित पाँच प्रहरी अधिकारीलाई निलम्बन गरेको थियो ।
सरकारले अनुसन्धान विवादस्पद बन्दै गएपछि भदौ ७ मा छानबिन गर्न कारागार व्यवस्थापन विभागका महानिर्देशक सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिले शनिबार गृहमन्त्री रामबहादुर थापालाई प्रारम्भिक अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।
सोही प्रतिवेदनका आधारमा गृहले निर्मला बलात्कार तथा हत्याको अनुसन्धान जिम्मेवारपूर्वक गर्न नसकेका डिएसपी ज्ञानबहादुर सेटी, अंगुर जिसी, इन्स्पेक्टर, जगदीश भट्ट, एकेन्द्र खड्का र प्रहरी नायव निरीक्षक रामसिंह धामीलाई निलम्बन गरेको छ ।
यसअघि कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज बिष्ट निलम्बनमा परिसकेका छन् । घटनाका बारेमा अनुसन्धान गर्न उनको डिएनए संकलन गरी परीक्षणका लागि पठाइएको छ ।

निर्मलालाई न्यायका निम्ति अभियान व्यापक बन्दै
कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको ५३ दिन पुरा भएको छ । तर, अहिलेसम्म वास्तविक अपराधीको पहिचान हुन सकेको छैन । निर्मलाका बुबा आमासहित आम नागरिक, सांसदहरू, अधिकारकर्मी सहित समाजका सबै पक्ष निर्मलाको हत्यारालाई पहिचान गर्न माग गरिरहेका छन् । सडकदेखि सदनसम्म हत्यारा पहिचान गर्न माग भइरहेको छ । तर, अहिलेसम्म कुनै परिणाम आउन सकेको छैन ।
निर्मलाको बलात्कारपछि हत्याको मुख्य अभियुक्तका रूपमा प्रहरीले प्रस्तुत गरेको मानसिक सन्तुलन गुमाएका दिलिपसिंह विष्ट रिहा भइसकेका छन् । आफन्त तथा स्थानीयको दवाव बढ्दै गएपछि नियन्त्रणमा लिइएका रोशनी र बविता बम पनि रिहा भइसकेका छन् ।
निर्मला पन्तको हत्यारा पहिचान गरी कानूनी कारवाहीको कारवाहीको दायरामा ल्याउन माग गर्दै कैलालीसहित देशभरी विरोध प्रदर्शन व्यापक बन्दै गएका छन् । शनिबार राजधानी लगायत देशका विभिन्न स्थानमा नागरिक स्तरबाट स्वत:स्फूर्त रूपमा विरोध प्रदर्शन भएकोमा आइतबार कैलालीमा स्वतन्त्र नागरिक समाजको ब्यानरमा बृहत विरोध र्‍याली निकालिएको छ ।
निर्मलाका हत्यारा पहिचान गरी कारवाही गर, बलात्कारीलाई फासी दे, पीडितलाई न्याय दे लगायतका नाराबाजी गर्दै धनगढीको ट्राफिक चौराहदेखि पार्कमोडसम्म र्‍याली निकालिएको थियो । र्‍यालीमा उल्ल्ेख्य संख्यामा महिला, नागरिक अगुवा, विद्यार्थी, अधिकारकर्मी, राजनीतिकर्मी तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।
पार्कमोडमा कोण सभामा परिणत भएको र्‍यालीलाई सम्बोधन गर्दै महिला नेतृ पुष्पा भट्टले १३ वर्षीया बालिका निर्मलाको बलात्कारपछि विभत्स रूपमा हत्या गरिएकोमा सरकारले अझैसम्म वास्तविक अपराधी पत्ता लगाउन चासो नदेखाएकोले न्याय माग्न जनता स्वयं सडकमा उत्रिनु परेको बताइन् ।
उनले घटनाको गहन अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाएर जनतासामु सार्वजनिक गर्नु प्रहरीको दायित्व भए पनि प्रहरी अधिकारीहरूबाटै प्रमाण नष्ट गरी अपराधी लुकाउने खेल भइरहेको आरोप दोहोर्‍याइन् ।
अधिकारकर्मी भूमि फुलाराले बलात्कारका घटनाले समाजमा महिलाहरूलाई काम गर्नै असहज भएको बताइन् । उनले दिनप्रतिदिन बढिरहेको महिला हिंसाका कारण महिलाहरूलाई आतंकित बनाइरहेको र सरकारले सुरक्षाको प्रत्याभूति दिन नसकेको बताइन् ।
त्यस्तै, हरि न्यौपानेले निर्मलाका हत्यारालाई तत्काल कारवाहीको दायरामा ल्याउन माग गरे ।
नागरिक समाजका अगुवा हरि रेग्मीले दुई तिहाईको सरकारका कामकारवाहीबाट आम नागरिक निरास भएको चर्चा गरे । उनले सरकार बढ्दो हत्या हिंसाका घटना नियन्त्रणमा असफल भएको बताए ।

तस्बिरमा निर्मलाका निम्ति न्याय अभियान
कैलालीको धनगढीमा आइतबार भएको विरोध र्‍याली

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार