१२ श्रावण २०८१, शनिबार

वेवसाइटमा आधारित पूर्वाधार व्यवस्थापन प्रणाली लागू : घरमै बसेर विकास आयोजनाको प्रगति विवरण थाह पाउन सकिने



धनगढी । धनगढी उपमहानगरपालिकामा वेवसाइटमा आधारित पूर्वाधार व्यवस्थापन प्रणाली लागू भएको छ । यससँगै अबदेखि उपमहानगरपालिकाद्वारा सञ्चालित विकास आयोजनाहरूको प्रगति विवरण घरमै बसेर पनि हेर्न तथा थाह पाउन सकिने जनाइएको छ ।
शनिबार आयोजित एक विशेष कार्यक्रममा प्रदेश सातका मुख्यमन्त्री त्रिलोचन भट्टले सो प्रणालीको उद्घाटन गरे ।
उपमहानगरपालिका उपप्रमुख सुशीला मिश्र भट्टका अनुसार यो प्रणाली लागू भएपछि उपमहानगरपालिकाका सबै १९ वटै वडामा निर्माणाधीन अवस्थामा रहेका सडक, खानेपानी लगायतका पूर्वाधार आयोजनाको प्रगति विवरण, सम्झौता मिति, वित्तिय अवस्था लगायत जानकारी घरैबाट प्राप्त गर्न सकिने छ ।
उपप्रमुख मिश्रले उपमहानगरपालिकामा सुशासन प्रवद्र्धनका साथै विकास आयोजनाहरू तोकिएको समयभित्र पुरा गर्न तथा सञ्चारमैत्री नगर बनाउने उद्देश्यसहित यो सूचना प्रणाली लागू गरिएको बताइन् । उनले भनिन्– “जोकोहीले पनि अबदेखि धनगढी उपमहानगरपालिकाको वेवसाइटमा गएर अथवा मोबाइल एप्स डाउनलोड गरेर आवश्यक जानकारी प्राप्त गर्न सक्नेछन् ।”
वेवसाइटमा आधारित पूर्वाधार व्यवस्थापन प्रणाली लागू गर्ने धनगढी उपमहानगरपालिका देशकै पहिलो स्थानीय तह भएको जनाइएको छ । उपप्रमुख मिश्रले यो प्रणालीको पूर्ण उपयोगका लागि आम नागरिकमा पर्याप्त जानकारी पुग्नु अनिवार्य हुने बताइन् ।
यो प्रणालीको शुरुवातसँगै धनगढी उपमहानगरपालिकामा विकास निर्माण योजनाको पारदर्शीताका साथै सुशासन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास गरिएको छ ।

प्रणालीलाई निरन्तरता दिनुहोस् : मुख्यमन्त्री भट्ट
धनगढी उपमहानगरपालिकामा शनिबारदेखि लागू भएको वेवसाइटमा आधाररित पूर्वाधार व्यवस्थापन प्रणालीको उद्घाटन गर्दै प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले नयाँ प्रणालीलाई निरन्तरता दिन आग्रह गरे ।
मुख्यमन्त्रीले नयाँ प्रणालीको शुरुवातसँगै त्यसको निरन्तरता र व्यवस्थापन मुख्य चुनौति हुने गरेको बताए । उनले भने– “हामी नयाँ प्रणाली लागू त गर्छौ, तर त्यसको निरन्तरता र व्यवस्थापनमा ध्यान दिदैनौं ।”
मुख्यमन्त्री भट्टले प्रदेश मन्त्रीपरिषद्को पहिलो बैठकबाटै प्रदेशमा रहेका सबै सरकारी कार्यालयलाई सूचना प्रविधि मैत्री बनाउने निर्णय गरेको स्मरण गरे । उनले वेवसाइटमा आधारित पूर्वाधारण व्यवस्थापन प्रणाली लागू गर्ने धनगढी उपमहानगरपालिका मुलुककै पहिलो स्थानीय तह बनेकोमा बधाई तथा शुभकामना व्यक्त गरे ।
कार्यक्रममा प्रदेश सातका भौतिक पूर्वाधार तथा यातायात मन्त्री पठानसिंह बोहराले धनगढी उपमहानगरपालिकाले लागू गरेको यो प्रणाली अरू स्थानीय तहमा पनि विस्तार हुने बताए । मन्त्री बोहराले आम जनताले सबै तहका सरकारका हरेक निर्णय र गतिविधिबारे जान्न पाउने अधिकार रहेको चर्चा गरे ।
कैलाली जिल्ला समन्वय समितिका प्रमुख सूर्यबहादुर थापाले कानूनी जटिलताका कारण स्थानीय जनप्रतिनिधिहरूले चाहेर पनि धेरै काम गर्न नसकेको चर्चा गरे ।
कार्यक्रममा कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले वेवसाइटमा आधारित पूर्वाधार ब्यबस्थापन प्रणाली महत्त्वकांक्षी योजना भएको बताए ।
सो अवसरमा गोदावरी नगरपालिका प्रमुख हरिसंह साउँदले पारदर्शीता तथा सुशासन प्रवद्र्धनका लागि यो प्रणाली निकै फलदायी हुने बताए ।
कार्यक्रम उपमहानगरपालिका प्रमुख नृपबहादुर वडको अध्यक्षतामा भएको थियो ।
उपप्रमुख सुशीला मिश्र भट्टले स्वागत गरेको कार्यक्रमको सञ्चालन सूचना अधिकारी सुरेन्द्र कार्कीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार