१२ श्रावण २०८१, शनिबार

संघीयता धेरै दिन टिक्दैन– राजमो अध्यक्ष केसी



धनगढी । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा संघीयता धेरै समय नटिक्ने दावी गरेका छन् । अध्यक्ष केसीले जनतामा पनि संघीयताप्रति वितृष्णा बढ्दै गएको दावी गरे ।
“अहिलेसम्म राष्ट्रिय जनमोर्चाले संघीयताको विपक्षमा अडान लिँदै आएको थियो” शुक्रबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा नेता केसीले भने– “तर, अहिले जनता नै संघीयता आवश्यक नभएको महसुस गर्न थालेका छन् ।”
“जनताका सबै समस्या समाधान गर्दै देशलाई समृद्धितर्फ डोर्‍याउने आशासहित संघीयता लागू गरिएको थियो” अध्यक्ष केसीले भने– “तर, सरकारले अहिले जनतालाई सेवासुविधा दिनुभन्दा पनि करमाथि कर मात्रै थप्ने काम गरेको छ ।” उनले तीन तहको सरकार सञ्चालन गर्न कर बृद्धि गरेको र जनताका आधारभूत सेवासुविधा कटौती भइरहेको बताए ।
उनले अहिले सात वटा नेपाल भएको चर्चा गरे । भने– “पहिले एउटै नेपाल थियो, अहिले सात वटा नेपाल भएका छन् । एउटै नेपाल हुँदा त शिक्षा, स्वास्थ्य, बेरोजगार लगायतका आधारभूत समस्या छँदै थिए, अहिले यी समस्या झन् जटिल बन्दै गएका छन् ।”
एक अर्को प्रसंगमा नेता केसीले वर्तमान सरकारले जनतालाई न्याय दिन नसकेको बताए । मुलुकमा बलात्कार, हत्या लगायतका जघन्य अपराधिक घटनामा लगातार बृद्धि आए पनि सरकारले अपराधीलाई पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याउन असफल भएको आरोप लगाए । “अहिले देशमा दैनिक चार वटा बलात्कारका घटना भइरहेका छन्” उनले भने– “तर, सरकार अपराधी पक्राउ गर्न असफल भइरहेको छ ।”
उनले दुई तिहाइ बहुमत प्राप्त कम्युनिस्ट सरकार देशमा बृद्धि भइरहेका बलात्कार, हत्या, हिंसा, महंगी तथा भ्रष्टाचार रोक्न असफल भएको आरोप लगाए ।
उनले नेपालमा धेरै ठूलो राजनैतिक परिर्वतन ल्याउन जनताले बलिदान गरे पनि जनताको दैनिकीमा खासै परिर्वतन नआएको चर्चा गरे । उनको टिप्पणी थियो– “केही सीमित व्यक्तिका लागि मात्रै नेपालमा लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षता लागू भएको छ ।”
एकअर्को जिज्ञासामा नेता केसीले सत्तामा रहेका दल तथा नेताहरू देशको विकास भन्दा पनि आफ्नो सेवासुविधा बढाउन मै मग्न रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार