३० बैशाख २०८१, आईतवार

निर्मला बलात्कार तथा हत्या छानबिन प्रकरण : नाटकीय घटनाक्रम दोहोरिँदै



धनगढी । महेन्द्रनगरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ५० दिन पुगेको छ । घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोदेखि सरकारद्वारा गठित उच्चस्तरीय छानबिन समितिले काम गरिरहेको छ । अनुसन्धानमाथि अनुसन्धान भइरहेको छ । तर, घटनाको वास्तविक सत्यतथ्य तथा दोषि अझैं पत्ता लागेको छैन । बरु छानबिन प्रक्रियामा नाटकीय घटनाक्रम दोहोरिने क्रम जारी छ ।
सोमबार मात्र ‘घटनाको छानबिनको क्रममा सत्यतथ्य र मुख्य अपराधी पत्ता लगाउन लागिपर्ने अठोटसँगै क्रियाशील रहँदा म र मेरा परिवारलाई शक्तिशाली अपराधीबाट जुनसुकै समयमा पनि हत्या गर्न सक्ने सम्भावना रहेकाले …’ भन्दै उच्चस्तरीय छानबिन समितिबाट राजीनामा दिएका समितिका सदस्य वीरेन्द्र केसी दुई दिनपछि ‘फिर्ता’ भएका छन् ।
प्रदेश सातका आन्तरिक मामिला तथा कानून मन्त्रालयमा उपसचिव समेत रहेका केसीले बुधबार संघीय राजधानीमा पत्रकार सम्मेलनमार्फत आफू पुन: छानबिन समिमितमा रहेर काम गर्ने बताए । “राष्ट्र सेवकको रूपमा मलाई प्राप्त अवसरमा पुन: संलग्न रही निष्पक्ष रूपमा छानबिन गरी योगदान गर्न सके निर्मला पन्तप्रति न्याय हुने ठहर गरेको छु” पत्रकार सम्मेलनमा उनले भने– “सरकारले सुम्पिएको महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्नु प्रत्येक राष्ट्रसेवकको अनिवार्य कर्तव्य भएको बोध गरी स्वेच्छापूर्वक आजदेखि समितिमा यथावत रही छानबिन कार्यमा संलग्न रहनेछु ।”
निर्मला बलात्कारपछि हत्या छानबिनका क्रममा प्रहरीले जबरजस्ती मुख्य अभियुक्त बनाएका दिलिपसिंह बिष्ट रिहा भएपछि सरकारले अनुसन्धानमा संलग्न सबै प्रहरी अधिकृतहरू तथा उच्चस्तरीय छानबिन समितिबाट राजीनामा दिएका केसीमाथि नै छानबिन गर्ने निर्णय गरेको केही घन्टापछि उनी ‘राष्ट्रसेवकको कर्तव्य बोध गरेर’ फिर्ता भएका छन् ।
मंगलबार राति गृह मन्त्रालयमा बसेको आकस्मिक बैठकले निर्मला बलात्कार तथा हत्या घटनाको अनुसन्धानमा संलग्न सबै प्रहरी अधिकृत र उच्चस्तरीय छानविन समितिबाट राजीनामा दिने उपसचिव केसीमाथि नै छानविन गर्ने निर्णय गरेको जनाइएको छ ।
घटनाको अनुसन्धानमा शुरुदेखि नै संलग्न कञ्चनपुर प्रहरी तथा केन्द्रीय अनुसन्धान ब्युरोले गृह मन्त्रालय र प्रहरी नेतृत्वलाई झुक्याएको ठहर गर्दै बैठकले उनीहरूमाथि छानविन गर्ने निर्णय गरेको थियो । बैठकमा गृह सचिव प्रेमकुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल डिआइजी रामप्रसाद श्रेष्ठ लगायतका उच्चाधिकारी सहभागी रहेका थिए ।
बैठकले कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख दिल्लीराज बिष्ट, डिएसपी ज्ञानबहादुर सेठी र सीआइबीका डिएसपी अंगुर जिसी, प्रहरी निरीक्षक एकिन्द्र खड्का तथा छानविन समितिका सदस्य उपसचिव केसीमाथि छानबिन गर्ने निष्कर्ष सहित निर्णय गरिएको बताइन्छ ।
बैठकमा सहभागी डिआइजी श्रेष्ठले अनुसन्धानमा खटिएका अधिकारीसहित उपसचिव केसीले दिएको अभिव्यक्तिबारे समेत छानविन गरी थप अनुसन्धान गर्नुपर्ने निर्णय भएको जानकारी दिए ।
निर्मला बलात्कार तथा हत्या घटनाको अनुसन्धान जारी रहिरहेको अवस्थामा गलत ब्रिफिङका कारण घटनाबारे प्रधानमन्त्री, गृह मन्त्रीदेखि प्रहरी प्रमुख (आइजीपी) ले दिएका केही अभिव्यक्ति झुठो सावित भइसकेका छन् ।
निर्मला पन्तले न्याय पाउनेमा शंका लागेको भन्दै छानबिन समितिबाट सोमबार राजीनामा दिएका केसीले त्यतिवेला आफू र आफ्नो परिवारको हत्या हुनसक्ने भन्दै जीवन रक्षाका लागि नेपाल सरकार, राष्ट्रिय मानवअधिकार आयोग, संयुक्त राष्ट्रसंघ मानवअधिकार आयोग, मानवअधिकार प्रवद्र्धन गर्ने राष्ट्रिय अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था, सरकार र राजनीतिक दल लगायतसँग अपिल समेत गरेका थिए ।
बुधबार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा केसीले आफूले असुरक्षा महसुस गर्नुको कारण बताए । उनले मोटरसाइकलमा आएका एक व्यक्तिले “तपाईं एक्लै हुनुहुन्छ, अलि ख्याल गर्नुस् है” भनेकाले आफू सशंकित भएको बताए । उनले भदौ १५ गते आफू एक्लै घटनास्थल गएको बेला मोटरसाइकलमा आएको व्यक्तिको कुरा सुनेर आफू केही डराएको बताए ।
त्यो दिनको घटनाक्रमबारे जानकारी दिँदै केसीले भने– “घटनास्थलमा पुगेर मैले साइकल फालिएको ‘डेमो’ गर्न खोज्दै थिए । घटनाका दिन त्यहाँ कति पानी थियो भन्ने पनि नाप्न खोजेको थिए । मैले सिडियो साबसँग गाडी मागेर लगेको थिए । मसँगै निर्मलाका बुबा र निर्मलाको साइकल भेट्ने मान्छेलाई लगेको थिए ।”
“बिस्तारै मानिसहरू बढ्दै गए” केसीले त्यो दिनको घटनाक्रम स्मरण गरे– “त्यही क्रममा एक जना मोटो मान्छे मोटरसाइकलमा आए र मलाई ‘सर तपाईंको काम सराह्रनीय छ, स्वागतयोग्य छ, तर यहाँ पहिले पनि मानिसलाई ट्रकको ब्रेक फेल भयो भनेर किचेर मारेका छन्” भने ।
केसीले शुरुमा आफूले त्यो मान्छेको कुरामा ध्यान नदिएको बताए । “त्यसको कुरामा ध्यान नदिएर पानी नापिरहेको थिए” उनले भने– “फेरि त्यही व्यक्तिले ‘तपाईं एक्लै हुनुहुन्छ, अलि ख्याल गर्नुस् है’ भनेर हिड्यो ।”
छानबिन समिति सदस्य केसीले “त्यो व्यक्तिले बारम्बार त्यही कुरा दोहोर्‍याएपछि आफू सशंकित भएको र चाँडो काम सिद्धाएर जिल्ला प्रशासन कार्यालय गएको” बताए । “त्यो दिनदेखि मैले एक्लै घटनास्थल जान छोडे” उनले तर आफूले मोटरसाइकलको नम्बर टिप्न भने नभ्याएको केसीले बताए ।
छानबिन समिति सदस्य केसीले बुधबार बिहान गृहमन्त्री लगायतसँग भेट गरेको बताए । भेटमा उनले आफूले सुरक्षाको ग्यारेन्टी पाएको बताए । “मैले गृहमन्त्री ज्यूसहित सबैबाट सुरक्षाको ग्यारेन्टी गर्ने प्रतिवद्धता पाएको छु” उनले भने ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार