१४ मंसिर २०७९, बुधबार

तीजको रौनक बढ्दै : आधुनिकताका नाममा छाडापन फैलिँदै गएकोमा चिन्ता



धनगढी । हिन्दू धर्मावलम्बी महिलाहरूको प्रमुख धार्मिक चाड हरितालिका तीज नजिकिदै गर्दा तीज मिलन, सांस्कृतिक कार्यक्रम, दर खाने तथा नाचगान सहित तीजको रौनक तथा चहलपहलमा बृद्धि आएको छ । तीज आउन केही दिन बाँकी रहदा घर, घरमा तथा विभिन्न संघसंस्थाको आयोजनामा दर खाने तथा तीज मिलन कार्यक्रम भइरहेका छन् ।
प्रदेश नम्बर सातका विभिन्न जिल्लामा गौरा पर्वबाट शुरु भएको रौनक तीज नजिकिँदै जाँदा झन् बृद्धि भएको छ । विभिन्न स्थानमा तीज मिलन कार्यक्रम भइरहेका छन् । सँगसँगै आधुनिकता तथा प्रगतिशीलताका नाममा मौलिक संस्कृतिमाथि प्रहारका साथै छाडापन पनि थपिने क्रम जारी रहेको छ । तीजमा परम्परागत रूपमा प्रस्तुत गरिने धार्मिक, सामाजिक, पारिवारिक नाचगान, भजनकिर्तन कम हुँदै गएका छन् । त्यसको ठाउँमा राजनीतिक, व्यंग्यात्मकदेखि अस्लील गीतनृत्य समेत प्रस्तुत हुने क्रम बढेको छ ।
शनिबार ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय, धनगढीले आयोजना गरेको तीज मिलन कार्यक्रममा पनि आधुनिकताका नाममा मौलिक संस्कृति तथा धार्मिक आस्था त्यागेर आधुनिकताका नाममा विकृति, बिसंगति बढिरहेकोमा चिन्ता व्यक्त भयो ।
कार्यक्रममा दर खाने नाममा रक्सि, मासु खाने, महंगा गहना तथा कपडा प्रदर्शन गर्ने, छाडा गीत तथा नृत्य बढ्दै गएको चर्चा भएको थियो । कार्यक्रमका सहभागीहरूले नयाँ पुस्तामा बढेको विकृतिको अन्त्य तथा मौलिक संस्कृतिको संरक्षण, संवद्र्धनमा महिलाहरू स्वयं अग्रसर हुन आग्रह गरे ।
सो अवसरमा ब्रह्मकुमारी विश्वविद्यालय, धनगढीकी प्रमुख सञ्चालिका हिरा दिदीले तीजमा आधुनिकताका नाममा बढेको विकृतिका कारण नयाँ पुस्ता झन् प्रभावित भइरहेको चर्चा गरिन् । प्रमुख सञ्चालिका हिरा दिदीले महिलाहरूले हरितालिका तीजको मौलिक संस्कृतिलाई अन्यत्र मोडिन नदिन सजग हुन आग्रह गरिन् ।
कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले तीज चाड धार्मिक तथा सांस्कृतिक महत्त्वको चाड भएकाले यसलाई विकृत हुन नदिन सबैको दायित्व भएको बताइन् ।
कार्यक्रममा प्रदेश सभा सदस्य दिव्येश्वरी शाह र टेकबहादुर रैका, धनगढी उपमहानगरपालिकाका उपप्रमुख सुशीला मिश्र भट्ट लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

महिला हिंसा विरुद्धका गीत
धनगढी उपमहानगरपालिकाका विभिन्न वडा तथा टोलमा आयोजना भइरहेका तीज विशेष कार्यक्रममा महिला हिंसा विरुद्धका गीत गुञ्जन थालेका छन् ।
विशेषगरी आमा तथा महिला समूहले आयोजना गरिरहेका तीज विशेष कार्यक्रममा ‘महिला हिंसा रोक्नुपर्ने’ आसयका गीत प्रस्तुत हुने गरेका छन् ।
शनिबार धनगढी उपमहानगरपालिका वडा नम्बर १३ मा आयोजना भएको तीज विशेष कार्यक्रममा महिलाहरूले घरेलु हिंसाका गीतहरू प्रस्तुत गरेका थिए । सहभागी महिलाहरूले गीतमार्फत युवति, बालिकासहित महिलामाथि भइरहेको हिंसा तथा विभेदका कथाव्यथा प्रस्तुत गरेका थिए ।

तीजका गीतले समाज रूपान्तरणमा सघाउ पुग्नुपर्छ– नगर प्रमुख वड
धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले तीजका गीतहरूले समाज रूपान्तरण्मा सघाउ पुर्‍याउने बताएका छन् ।
शिवशिखर कृषि सहकारी संस्थाले शनिबार धनगढीमा आयोजना गरेको तीज विशेष दरखाने कार्यक्रममा नगर प्रमुख वडले तीजका गीतमा दु:ख, पीडा, वेदनाका कुरा मात्रै नभएर समाज रुपान्तरणमा योगदना पुग्ने खालका सकारात्मक सोचका गीत प्रस्तुत हुनुपर्ने बताए ।
उनले तीज हिन्दूधर्मावलम्बी नारीहरूको महान चाड भएकाले नगरका सबै वडाहरूले कार्यक्रम आयोजना गर्न सहयोग गरेको बताए । उनले सडकमा गाईगोरु छाडा छोड्ने प्रवृत्तिलाई निरुत्साहित पार्ने खालका गीत र सन्देश प्रवाहका लागि आग्रह गरे । भने– तपाईंरूले ‘सक्नेले मात्रै गाई पालौंर दूध खाएर गाई सडकमा नछोडौं’ भनेर सन्देश दिनुहोला ।
कार्यक्रमा उपमहानगरपालिकाका उपप्रमुख सुशीला मिश्र भट्टले तीजलाई महिलाको मात्रै पर्वको रुपमा नअर्थाउन अनुरोध गरिन । उनले भनिन्– “तीजले सशक्तिकरणको सन्देश दिन सक्नुपर्छ ।”
तीजको अवसरमा आयोजित कार्यक्रममा शिवशिखर सहकारीले बचतकर्ताहरूलाई छ लाख रुपैया भन्दा बढी बोनस वितरण गरेको धनगढी शाखा प्रबन्धक हेमराज जोशीले बताए । उनले संस्थाले उपमहानगरपालिकासँग समन्वय गरेर धनगढीका विभिन्न नौ स्थानमा सार्वजनिक शौचालय निर्माण गर्ने जानकारी दिए ।
त्यस्तै, धनगढी उपमहानगरपालिका वडा नम्बर ५, हसनपुरमा रहेको सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजनामा शनिबार तीज विशेष कार्यक्रम २०७५ आयोजना गरिएको छ ।
तीज विशेष कार्यक्रममा वडा नम्बर ५ र ६ का सहभागि रहेका थिए । कार्यक्रममा सहभागिहरूलाई सेवा केन्द्रको तर्फबाट दर खुवाईएको थियो ।

प्रतिक्रिया दिनुहोस्