३० बैशाख २०८१, आईतवार

नवजात शिशु साटिए



धनगढी । कैलालीको सेती अञ्चल अस्पतालमा दुईजना सुत्केरी महिलाका नवजात शिशु साटिएका छन् । शिशु साटिएपछि अस्पतालमा बिहीबार केही समय तनाव भएको थियो ।
सेती अञ्चल अस्पतालमा सोमबार डडेल्धुराको आलितालका भावना बोहरा र कैलालीको गोदावरी नगरपालिकाकी काली खातीका नवजात शिशु स्वास्थ्यकर्मीको लापरवाहीका कारण एकापसमा साटिएको बताइएको छ ।
डडेल्धुराको आलितालकी भावना आफन्तसँगै आफ्नो १७ दिनको विरामी नवजात शिशु (छोरा) ल्याएर भदौ १७ गते सेती अञ्चल अस्पताल भर्ना भएकी थिइन् । निमोनियाले ग्रसित उनका छोरालाई चिकित्सकहरूले सेती अञ्चल अस्पतालको एनआईसीयुमा भर्ना गराएका थिए ।
भदौ १७ गते नै सेती अञ्चल अस्पतालको प्रसूति वार्डमा कैलालीको गोदावरी गाउँपालिकाकी काली खातीले पनि छोरी जन्माइन् । उनको नवजात छोरीको स्वास्थ्यमा पनि समस्या देखिएकाले चिकित्सकले उनको छोरीलाई पनि एनआईसीयुमा पठाएका थिए ।
भदौ १८ गते काली खातीको बच्चालाई सञ्चो भयो र उनलाई चिकित्सकले डिस्चार्ज गरे । एनआईसीयुमा काम गर्ने स्वास्थ्यकर्मीले खातीलाई छोरीको सट्टा भावना बोहराको १७ दिनको छोरो ल्याएर थमाई दिएका थिए ।
“म घरमा पुगेपछि बच्चाले दिसा गर्‍यो, पखाल्न उसको लुगा फुकालेको त, छोरो देखे” कालीले भनिन, “म अचम्ममा परे, घरकालाई बताए, हाम्रो त छोरी भएको, तर घरमा छोरा आयो भने ।”
एकै छिनपछि उनलाई अस्पतालबाट फोन गरेर बोलाइयो । अनि साटिएको बच्चा आ–आफ्नो अभिभावकको जिम्मा लगाइयो । निको भइसकेको छोरो बोकेर डडल्धुराको आलितालकी भावना बोहरा घर गइसकेकी छिन् भने काली खाती बिहीबार पनि सेती अञ्चल अस्पतालमै भर्ना छिन् ।
सेती अञ्चल अस्पतालले यस्तो गल्ती गर्ने स्वास्थ्यकर्मीको नाम बताउन मानेको छैन । सामान्य परिवारका मेखराजले आफूले कसैलाई नचिनेको बताउँदै सेता लुगा लगाएकी महिलाले बच्चा दिएको बताए ।
एनआईसीयुमा भेटिएका स्वास्थ्यकर्मीले भने आफूहरूले भावना बोहरा भनेर बोलाउँदा काली खातीकी आमा दिलु बोहरा आएर बच्चा लगेकाले यस्तो भएको बताएका छन् । काली खातीको माइती थर बोहरा हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार