३० बैशाख २०८१, आईतवार

संघीय स्वास्थ्य मन्त्रालयको निर्णयले प्रदेशबाट अस्वीकार



धनगढी । नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही दिनअघि गरेको स्वास्थ्यकर्मीहरूको सरुवा सात नम्बर प्रदेश सरकारले अस्वीकार गरेको छ । स्वास्थ्य सेवाको समेत जिम्मेवारी लिएको प्रदेशको सामाजिक विकास मन्त्रालयले संघीय स्वास्थ्य मन्त्रालयले स्थानीय जटिलताई नहेरी स्वास्थ्यकर्मीहरूको सरुवा गरेकाले प्रदेश ७ बाट कसैलाई सरुवाको रमानापत्र दिन नसकिने जनाएको छ ।
प्रदेश सामाजिक विकास मन्त्रालयका निर्देशक डाक्टर गुणराज अवस्थीले स्वास्थ्य सेवा विभागलाई पत्र लेखेर रमाना गरी पठाउन नसकिने जानकारी गराएका छन् । स्वास्थ्य सेवा विभागमा लेखिएको पत्रमा उल्लेख छ– “प्रदेश नम्बर ७ मा स्वास्थ्य संस्थाहरूमा धेरै दरबन्दी रिक्त रहेको अवस्थामा स्वास्थ्यकर्मीहरू बाहिर सरुवा भएर गएका, तर बाहिरबाट प्रदेश सातमा सरुवा भएर आउने क्रम कम भएकाले रिक्त दरबन्दीमा पदपूर्ति नहुन्जेल रमाना दिई पठाउन नसकिने जानकारी गराउँछौं ।”
स्वास्थ्यकमर्मीहरूले पनि आवश्यकताका आधारमा नभइ पहुँच र अन्य चलखेलका आधारमा सरुवा गरिएकाले असन्तुष्टि व्यक्त गरेका छन् । कुनै ठाउँमा एकै पदमा चारजनासम्मको सरुवा भएको गुनासो पनि स्वास्थ्य मन्त्रालय पुगिसकेको छ । स्वास्थ्य मन्त्रालयको समर्थनमा स्वास्थ्य सेवा विभागले केही दिनअघि मात्रै स्वास्थ्यका कर्मचारीको सरुवा गरेको बताइएको छ ।
नेपाल सरकारका उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव, स्वास्थ्य सचिव पुष्पा चौधरी र मन्त्री निकटका केही व्यक्तिले बनाएको सरुवा सूची अवैज्ञानिक रहेको मन्त्रालयका कर्मचारीले समेत बताउन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार