१२ श्रावण २०८१, शनिबार

निर्मला बलात्कार र हत्या घटना : आफन्तमाथि नै बढी सोधपुछ



कञ्चनपुर । गत साउन १० गते भएको कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर २ की बालिका निर्मला पन्तको बलात्कार र हत्या घटनाको अनुसन्धान प्रभावकारी बनाउन भदौ ७ गते कञ्चनपुरमा प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख (एसपी), प्रहरी नायव उपरीक्षक (डिएसपी), प्रहरी निरीक्षकसम्म हेरफेर गरियो । मृतक निर्मलाका आफन्त तथा स्थानीयको उग्र विरोधपछि सरकारले सहसचिवको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरेर खटायो । टोलीले भदौ ८ गते नै कञ्चनपुर पुगेर ९ गतेदेखि अनुसन्धान शुरु गर्‍यो । निर्मला बलात्कार तथा हत्या घटनाको अहिले पनि अनुसन्धान भइरहेको छ, तर ‘वास्तविक’ दोषि अहिलेसम्म पनि पत्ता लाग्न सकेका छैनन् ।
अर्कोतिर, निर्मलाका आफन्तहरू अनुसन्धान टोलीको अनुसन्धान शैलीप्रति असन्तुष्टि व्यक्त गरिरहेका छन् । “अनुसन्धान टोलीले अनुसन्धान गरिरहेको भनिरहेको छ, तर हामी अनुसन्धान शैलीप्रति सन्तुष्ट छैनौं” निर्मलाका बुबा यज्ञराज पन्त भन्छन्– “घटनामा आशंका गरिएका व्यक्तिहरूमाथि सोधपुछ गर्नुभन्दा छानबिन टोलीले हामीमाथि नै बढी सोधपुछ गरिरहेको छ ।”
यज्ञराजले “प्रहरीले घटनास्थल र निर्मलाको शव नजिक साइकल बरामद भएको आसपासका क्षेत्रमा पुगेर प्रमाण जुटाउने प्रयास नगरेको” गुनासो गरे । उनले नेपाल सरकारद्वारा सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा खटाएको छानबिन समितिले काम गरिरहेको दुई साता हुन लाग्दा पनि कुनै नतिजा नआएकोमा असन्तुष्टि व्यक्त गरे ।
कञ्चनपुर प्रहरी प्रमुख एसपी कुबेर कडायतले निर्मला पन्तको हत्याबारे प्रहरीले अनुसन्धान जारी राखेको बताए । “प्रहरीले घटनाबारे धेरै व्यक्तिमाथि शंका गरेको छ” उनले भने– “तर, प्रमाण जुट्न सकेको छैन ।” एसपी कडायतले सामाजिक सञ्जालमा निर्मला हत्या काण्डमा तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख डिल्लीराज बिष्टका छोराको संलग्नता रहेको आसयका आशंका व्यक्त भए पनि छानबिनका क्रममा घटनामा उनको संलग्नताबारे कुनै प्रमाण् नदेखिएको बताए ।
पढाइको सिलसिलामा हाल काठमाडौंमा रहेका एसपी बिष्टका छोरा केही दिनबाट काम बिशेषले महेन्द्रनगर आएको जानकारी आए पनि उनको संलग्नताको कुनै प्रमाण नभेटिएकाले पक्राउ गर्न नमिल्ने प्रहरी उपरीक्षक कडायतले बताए । उनले भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र बिष्टका भतिजामाथि पनि कुनै शंका गर्ने ठाउँ नभएको पाइएको बताए ।
एसपी कडायतका अनुसार निर्मलाको बलात्कारपछि हत्या भएको विषयमा आकंशा गरिएकी रोशनी र बबिता बम दिदीबहिनीले सो घटनामा आफ्नो कुनै संलग्ना नरहेको प्रहरी समक्ष बताउँदै आएका छन् । सो घटनाको अनुसन्धानका लागि दुवै बम दिदीबहिनी हाल प्रहरी नियन्त्रणमा रहेका छन् । उनीहरू दुवैले बयानका क्रममा प्रहरी र सरकारी वकिल कार्यालयमा आफ्नो संलग्नता अस्वीकार गरेको बताइन्छ ।
“निर्मला बिहान ११ बजेतिर हाम्रो घरमा आएको र दिउँसो सवा २ बजे घर गए भन्दै निस्केकी हुन् ।” रोशनीले सरकारी वकिल कार्यालयमा दिएको बयानमा सामाजिक सञ्जाल र सञ्चार माध्यममा आफ्नाबारे व्यक्त गरिएका आरोप गलत भएको बताएकी छन् ।
निर्मला हत्या अनुसन्धानमा सघाउन केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) ले एसएसपी ठाकुर ज्ञवालीको नेतृत्वमा फेरि चार सदस्यीय टोली कञ्चनपुर पठाएको छ ।
यसअघि सिआइबीले डिएसपी अंगुर जिसीको नेतृत्वमा एक टोली कञ्चनपुर पठाएको थियो । तर डिएसपी जिसी नेतृत्वको टोलीले गरेको अनुुसन्धानमा नागरिक विश्वस्त हुन नसक्दा आन्दोलन चर्किएको थियो । कञ्चनपुर प्रहरी र जिसीको टोलीले बलात्कारपछि हत्यामा संलग्न रहेको भन्दै भीमदत्त नगरपालिका वडा नम्बर १९ का ४१ वर्षीय दिलिपसिंह विष्टलाई मुख्य अभियुक्तका रूपमा सार्वजनिक गरेको थियो ।
दिलिपलाई मुख्य अभियुक्त बनाइएपछि प्रहरी अनुसन्धान विश्वस्त हुन नसकेको भन्दै कञ्चनपुरमा प्रदर्शन चर्किएको थियो । डिएसपीको अनुसन्धान विवादमा तानिएपछि सिआइबीले एसएसपी ज्ञवालीको नेतृत्वमा टोली कञ्चनपुर पठाएको हो ।
गत साउन १० गते साथीको घरमा जान भनेर निस्किएकी निर्मला ११ गते उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन् । उनको बलात्कारपछि हत्या भएको प्रहरी अनुसन्धान र स्वास्थ्य परीक्षणबाट पुष्टि भइसकेको छ ।
अनुसन्धानकै लागि प्रहरी थुनामा रहेका दिलीपसिंह विष्टको काठमाडौंमा स्वास्थ्य जाँच भइरहेको छ । प्रहरीले उनको डीएनए परीक्षण, मानसिक स्वास्थ्यलगायत परीक्षण गर्न काठमाडौ लगेको हो । ती सबैको रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

विशेष टोलीले प्रतिवेदन बुझाउने
नेपाल सरकारबाट सहसचिव मैनालीको नेतृत्वमा गठित विशेष समितिले अहिले घटनाबारे छानविन भईरहेको जनाएको छ । टोली प्रमुख मैनालीले भने– “हामी छानविन गरिरहेका छौं । सरोकारवाला पक्ष सबैसम्म भेटघाट तथा सोधपुछ गरिसकेका छौं ।” उनले टोलीलाई सरकारले १५ दिनभित्र प्रतिवेदन तयार पारेर पेस गर्न निर्देशन दिएको बताए । भने– “अझै दुई दिन बाँकी रहेको छ । हामी विवरण संकलन गरिरहेका छौं । प्रतिवेदनमा निस्पक्ष र यर्थाथ समेटिने छन् ।” उनले प्रतिवेदन तयार गरेर गृह मन्त्रालयलाई बुझाउने र मन्त्रालयलेनै सार्वजनिक गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार