११ श्रावण २०८१, शुक्रबार

हेभि इक्विपमेन्ट अपरेटरहरू आन्दोलित



धनगढी । प्रदेश सातमा यातायात व्यवस्था कार्यालयबाट हेभी इक्विपमेण्ट चालक अनुमतिपत्रको फाराम नखुल्दा अपरेटरहरू आन्दोलदनमा उत्रिएका छन् ।
हेभि इक्विपमेन्ट अपरेटरहरूले चालक अनुमतिपत्र प्रक्रिया शुरु गर्नुपर्ने, रोजगारीको सुनिश्चितता तथा सुरक्षाको प्रत्याभूति दिनुपर्ने माग गरेका छन् । हेभि इक्विपमेन्ट अपरेटरहरूले बिहीबार धनगढीमा दवावमूलक र्‍याली निकालेका थिए ।
यातायात व्यवस्था कार्यालय सेतीले आठ महिनाअघि हेभी इक्विपमेण्ट चालक अनुमतिपत्रको फाराम खोलेर करिब ५० वटा अनुमतिपत्र वितरण गरेको थियो । तर, त्यसपछि आवेदन फाराम बन्द गरिएको छ ।
यातायात व्यवस्था कार्यालयले सरकारले सिधै हेभी इक्विपमेण्टको अनुमतिपत्र लिन पाउने व्यवस्था गरेयता कार्यालयले अनुमतिपत्रका लागि आवेदन नखोलेको जनाएको छ । यातायात व्यवस्था कार्यालय सेतीका इन्जिनियर विजय अधिकारीले भने– “अब केही दिनमै हामी हेभी इक्विपमेण्ट अपरेटरको चालक अनुमतिपत्र खोल्छौं ।”
उनले सरोकारवालाहरूसँगको छलफलबाट आगामी असोज महिनामा हेभी इक्विपमेण्ट अपरेटर चालक अनुमतिपत्रको आवेदन खोल्ने सहमति भएको बताए । उनले विगतमा एकपटक आवेदन खोलेर ५० जनालाई चालक अनुमतिपत्र वितरण गरेको र त्यसपछि विभिन्न कारणले आवेदन खोल्न नसकिएको बताए ।
विगतमा हेभी इक्विपमेण्ट चालक अनुमतिपत्र लिनुभन्दा पहिले अन्य सवारी साधनको चालक अनुमतीपत्र लिएको हुनुपर्ने प्रावधान थियो । प्रदेश ७ मा हेभी इक्विपमेण्ट चालक अनुमतिपत्र लिन नपाएका कारण बेरोजगार बस्नुपरेको भन्दै प्रदेश ७ बाटै अनुमतीपत्र लिन पाउने गरी फाराम खोल्न माग गरेका छन् । हेभी इक्विपमेण्ट अपरेटर संघ प्रदेश ७ का अध्यक्ष कमल थापामगरले चालक अनुमतिपत्रका लागि समेत अन्य प्रदेशमा जानुपर्ने बाध्यताको अन्त्य गर्न माग गर्दै यातायात कार्यालय धाउनुपरेको बताए ।
यातायात व्यवस्था कार्यालयबाट चालक अनुमतीपत्रका लागि पहल नभएपछि आन्दोलनमा उत्रिनु परेको उनले बताए । प्रदेश ७ का तीन सय ६० जना भन्दा बढी अपरेटरहरूले अनुमतिपत्र बिना नै हेभी इक्विपमेण्ट चलाउन बाध्य रहेको उनले बताए ।
छलफलमा यातायात व्यवस्था कार्यालय सेतीका सवइन्जिनियर अधिकारी, जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख अनिल कुमार उप्रेती र हेभी इक्विपमेन्ट अपरेटर संघका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

हेभी इक्विपमेण्ट अपरेटर संघको अध्यक्षमा मगर
हेभी इक्विपमेण्ट अपरेटर संघ प्रदेश ७ को अध्यक्षमा कमलबहादुर थापामगर चयन भएका छन् । बिहीबार धनगढीमा आयोजित भेलाले थापामगरको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरेको जनाइएको छ ।
कार्यसमितिको उपाध्यक्षमा मदनबहादुर सार्की, सचिवमा रामप्रसाद उपाध्याय र कोषाध्यक्षमा कृष्णप्रसाद सापकोटा चयन भएका छन् ।
त्यस्तै, सदस्यमा रघुवीर सिंह डाँगा, चन्द्रबहादुर साउँद, विकास तिवारी, गणेशबहादुर राना क्षेत्री, अजवसिंह महरा, झकबहादुर थापा र देवेन्द्र साउद रहेका छन् ।
समितिले छ महिनाभित्र संघको विधान निर्माण गरि सम्बन्धित निकायमा दर्ता गर्ने निर्णय गरेको छ । त्यस्तै संघले हेभी इक्विपमेण्ट अपरेटरहरूको हकहितका लागि लाईसेन्स प्राप्तीमा सहजता तथा व्यवसायीक हकहितका लागि विभिन्न कार्यक्रमहरू गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार