१२ श्रावण २०८१, शनिबार

शनिका परिवारजनका आँशु अझैं सुकेको छैन



महेन्द्रनगर । शुक्रबार प्रहरीले चलाएको गोली लागेर निधन भएका भीमदत्त नगरपालिका वडा नम्बर १८ का शनि खुनाको परिवारजनका आँखा अझैं ओभानो भएका छैनन् । साहुसंग काम गरेको ज्याला लिनका लागि ठुलोबुबाको छोरो उमेशसंगै घरबाट बाहिर निस्केको शनि सदाका लागि परिवारबाट टाढा भयो ।

Nirmala rape
प्रियंका खुना

शनिको परिवार अति विपन्न छ । चार धुर जमीनमा ओत लाग्ने दुई कोठे झुपडी रहेको छ । सामान्य वर्षा भएपछि छानाबाट तपतप पानी चुहिन्छ । मंगलबार समाचार संकलनका लागि केही सञ्चारकर्मी भीमदत्तनगरपालिका वडा नम्बर १८ भगतपुरस्थित शहीद शनिको घर पुग्दा उनको परिवार शोकमा डुबेको थियो । भासीस्थित साहुको घरमा काम गरेको ज्याला रकम लिन घरबाट निस्केका १४ वर्षीय शनिको शुक्रबार बेलुकी प्रहरीको गोली लागेर मृत्यु भएयता उनका परिवारजनका आँखाबाट बगेको आँसुको भेल अझै रोकिएको छैन ।
शनिकी दिदी प्रियंकाले भाईले गोली लागेर मृत्युबरण गरेको ठाउँमा शालिक बनाएको देख्ने धोको रहेको सुनाइन् । ‘हामीलाई राहत तथा क्षतिपुर्ति चाहिदैन, तर भाई ढलेको ठाउँमा उसको शालिक बनाइदिए हुन्थ्यो’ प्रियकाले भनिन्– भाईलाई सरकारले शहिद घोषणा गरेको छ । शालिक बनाएर सबैले सधैंभरी चिन्नसकुन् । शनिका भाई एलुन खुना अहिले पाँच वर्षका छन् । उनका दुईवटै दिदीको विवाह भइसकेको छ । रक्षाबन्धनकै दिन भाइको शव देख्दा शनिका दुवै दिदीले त्यो दिन रोएर बिताएको सुनाए ।
२०६६ साल अघिसम्म भीमदत्त नगरपालिका वडा नम्बर १६ वसन्तपुरमा कमैया जीवन बिताएका शनिका बुबा वीरबहादुर हाल भीमदत्त नगरपालिका कार्यालयमा नगर सरसफाइका जागिरे हुन् । कमैया मुक्तिपछि भगतपुरमा मिलेको साढे चार धुर जमीनमा ओत लाग्ने दुई कोठे झुपडी बनाएर परिवार पालिरहेका वीरबहादुर छोरा शनिको निधनले स्तब्ध मात्रै छैनन, आफनो जीवनको सहारा गुमाउँदा अथाह पीडामा डुबेका छन् ।
शनिका आमा मञ्जु गहभरी आँसु लिएर सहानुभूतिका लागि आउने आफन्तजनसित कुराकानी गर्छिन्– छोरा सहिद भए पनि नियतिले घरपरिवारको खुसी नै लुटेको छ । आर्थिक अवस्था निकै कमजोर भएकाले सनीले कक्षा ४ मा छोडेका थिए ।
मञ्जु सहिद सनीका कान्छी आमा हुन् । शनि अढाइ वर्षको छँदा उसकी आमा मायादेवी खुनाको निधन भएको थियो ।

काँग्रेस प्रदेश सांसदहरूद्वारा स्थलगत अध्ययन
सात नम्बर प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरूले मंगलबार निर्मला बलात्कार तथा हत्याबारे स्थलगत रुपमा विभिन्न पक्षसंग छलफल गर्नुका साथै जानकारी लिएका छन् ।
प्रदेश सभामा काँग्रेस संसदीय दलका नेता रणबहादुर रावल, सांसद भरतबहादुर खड्का, नन्दाकुमारी बम र अम्बिकुमारी थापासहितको टोलीले बलात्कार तथा हत्या घटनाबारे भइरहेको अनुसन्धानबारे कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख तथा मृतक बालिका निर्मलाका आमाबुबालाई भेटेर जानकारी लिएको थियो ।
प्रतिपक्ष सांसदहरूको टोलीले मंगलबार नै आन्दोलनका क्रममा गत शुक्रबार प्रहरीको गोलीबाट मृत्यु भएका शनि खुनाका परिवारका सदस्यसंग पनि भेटघाट तथा छलफल गरी जानकारी लिएका थिए ।
मंगलबार सुरक्षा अधिकारीहरूसंगको भेटघाटका क्रममा प्रदेश सभामा प्रमुख प्रतिपक्ष दलका नेता रणबहादुर रावलले घटनाको सत्यतथ्य छानविन गरि वास्तविक दोषीलाई कारबाहीको दायरामा ल्याउन आग्रह गरे । ‘विगतमा जुन गल्ती भएका छन्, अब ती गल्ती दोहोरिनु हुँदैन’ जिल्ला प्रहरी प्रमुख कुवेर कडायतसंगको भेटमा सांसद रावलले भने– निर्मला बलात्कार तथा हत्या घटनाका वास्तविक दोषी पत्ता लगाउनमा कुनै कन्जुस्याई नगर्नुहोला ।
उनले प्रहरी अधिकारीहरूसंग आन्दोलनमा गोली किन चलाईयो भन्ने प्रश्न गरेका थिए । ‘आन्दोलनलाई शान्त पार्ने अन्य तरिका हुँदा हुँदै पनि गोलीनै चलाउनुपर्ने अवस्था कसरी आयो ?’ उनको प्रश्न थियो ।
सांसदरूको टोलीसंगको छलफलमा जिल्ला प्रहरी प्रमुख एसपी कडायतले आन्दोलन नियन्त्रण गर्न दुई सय सेल अश्रुग्याँस र एक सय भन्दा बढी पटक प्लाष्टिक गोली चलाईएको भए पनि भिड नियन्त्रण भन्दा बाहिर गएपछि गोली चलाउनुपर्ने अवस्था आएको बताए ।
उनले आन्दोलनका क्रममा सात जना गम्भिर घाईते भएको बताए । उनले आन्दोलनका क्रममा २७ जना नेपाल प्रहरी र १३ जना सशस्त्र प्रहरीका जवानहरू सामान्य घाईते भएको पनि जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार