१५ बैशाख २०८१, शनिबार

गोलीबाट मारिएका सनी शहीद घोषित, निर्मलाका परिवारलाई सरकारको १० लाख



काठमाडौं–सरकारले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको विरोधमा भइरहेको प्रदर्शनका क्रममा शुक्रबार प्रहरीको गोलीबाट मारिएका किशोर सनी खुनालाई शहीद घोषणा गरेको छ।

शनिबार बेलुका अकस्मात बसेको मन्त्रिपरिषद्को बैठकले खुनालाई शहीद घोषणा गर्दै १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।
सरकारका प्रवक्ता एवं सञ्चारकर्मी गोकुल बास्कोटाका अनुसार बलात्कारपछि हत्या गरिएकी निर्मलाका परिवारलाई पनि १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको छ।

शनिबारको मन्त्रिपरिषद् बैठक कञ्चनपुर घटनामै केन्द्रित रहेको थियो।

बैठकले घाइतेहरूकोे निःशुल्क उपचार गर्ने र चिकित्सकको सिफारिस बमोजिम अंगभंग भएकाहरूलाई आर्थिक सहयोग गराउने निर्णय गरेको छ।

गृहमन्त्रालयको निलम्बनमा परेको प्रहरी उपरीक्षक डिल्ली विष्टलाई सरकारले छानबिनको दायरामा ल्याएको प्रवक्ता बाँस्कोटाले जानकारी दिए। डिएसपी ज्ञानबहादुर सेठ्ठी र मुद्दाका इन्स्पेक्टर एकेन्द्र खड्कालाई जिम्मेवारीबाट हटाइ फिर्ता बोलाइएको उनले जानकारी दिए।

घटनाको छानबिनका लागि सरकारले सहसचिवको नेतृत्वमा छानबिन टोली कञ्चनपुर पठाइसकेको छ। गत साउन १० गते साथी रोशनी बमको घरमा पढ्न जाँदा उनको हत्या भएको थियो।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार