१२ श्रावण २०८१, शनिबार

निर्मला हत्या काण्ड छानविका लागि उच्चस्तरीया छानविन समिति



कञ्चनपुर । कञ्चनपुरकी बालिका निर्मला हत्याकाण्डका दोषी पत्ता लगाउन दवाव दिन भएको आन्दोलनले उग्र रुप लिएपछि गृह मन्त्रालयले उच्चस्तरीय छानविन टोली गठन गर्दै जिल्लाका सुरक्षा प्रमुखहरु फेरेको छ ।
गृह सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा नेपाल प्रहरीका नायव महानिरीक्षक रामप्रसाद श्रेष्ठ, सशस्त्र प्रहरी नायव महानिरीक्षक बसन्त वानिया, अनुसन्धान विभागका निर्देशक लक्ष्मण गुरुंग, प्रदेश नम्बर ७ को आन्तरिक मामीला तथा कानून मन्त्रालयका उपसचिव बीरेन्द्र केसी सदस्य रहेको ५ सदस्यीय समिति गठन गरेको हो । समितिलाई घटनाको सत्यतथ्य छानविन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।
यसैगरी कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खडका, प्रहरी उपरीक्षक डिल्लीराज विष्ट, नायव उपरीक्षकलाई फिर्ता बोलाएको छ भने नया प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी, प्रहरी प्रमुख कुबेर कठायत खटाएको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदी द्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।
बिज्ञप्तीमा मन्त्रालयले बालिकाको बलात्कारपछि भए हत्यालाई निन्दनीय भन्दै दुःख व्यत्त गरेको छ । जघन्य अपराधमा संलग्नलाई कारवाही गरिने र अनुसन्धान कार्यमा संलग्न अधिकारीबाट कमी कमजोरी भएको पाइए कारवाही हुने बताइएको छ ।
गत साउन ११ गते भएको हत्यामा संलग्न भएको भदौ ५ गते स्थानीय दिलिपसिंह विष्टलाई पक्राउ गरेपनि उनको मानसिक अवस्था ठिक नभएको र वास्तविक दोषी अर्कै भएकोले पत्ता लगाउन भन्दै स्थानीयले लगातार विरोध जनाउदै आएका छन् ।
स्थिति नियन्त्रण बाहिर गएपछि स्थानीय प्रशासनले महेन्द्रनगरमा आज साझ ५ बजेदेखि अनिश्चितकालिन कफ्र्यु लगाएको छ । आज भएको प्रदर्शनमा अर्जुन भण्डारालाई गोली लागेको छ भने केही प्रहरी घाइते भएका छन् । प्रदर्शनकारीलाई नियन्त्रण गर्न प्रहरीले दर्जनौ राउण्ड अश्रु ग्यास प्रहार गरेको छ ।

यसैबिच प्रदेश सरकारले कञ्चनपुरमा विकसित पछिल्लो असहज अवस्थामा सबै पक्षलाई संयम हुन आग्रह गरेको छ । मंगलबारदेखि महेन्द्रनगर अशान्त हुदै गएकोमा गम्भिर ध्यानाकर्षण भएको जनाउँदै विहिबार प्रदेश सरकारले प्रधानमन्त्री र गृहमन्त्रीसँग विशेष समन्वय गरिरहेको आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले बताएका छन् ।
सरकारका प्रवक्ता समेत रहेका मन्त्री शाहले विहिबार मन्त्रीपरिषद्को बैठकमा कञ्चनपुरको पछिल्लो अवस्थाका बारेमा गम्भिर छलफल भएको बताएका छन् । कञ्चनपुरमा १३ वर्षीया किशोरीको बलात्कारपछि हत्या भएको क्रुर एवं जघन्य घटना भएकोमा प्रदेश सरका प्रष्ट रहेको बताएका छन् । उनले विशेष छानवीनका लागि उच्च स्तरीय छानवीन समिति गठन गरी पीडितलाई न्याय दिलाउन प्रदेश सरकार प्रयन्तरत रहेको बताएका छन् ।
‘महेन्द्रनगरको पछिल्लो अवस्थाका बारेमा हामी निक्कै संवेदनशील छौ’ मन्त्री शाहले भने ‘पछिल्लो अवस्थाबारे प्रधानमन्त्री र गृहमन्त्रीलाई अवगत गराउदैं पीडितलाई न्याय दिलाउन उच्च स्तरिय छानवीन समिति गठन गर्न आग्रह गरेका छौ’ मन्त्री शाहले भने ‘यस घडीमा स्थानीयलाई संयमित हुन प्रदेश सरकार विशेष आग्रह गर्दछ ।’
कञ्चनपुरको पछिल्लो परिस्थिती लगायत प्रदेशको शान्ति सुरक्षाको अवस्थाका बारेमा छलफल गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयया प्रदेश सुरक्षा समितिको बैठक बसेको छ । बैठकमा मुख्यमन्त्री त्रिलोचन भट्टसहित आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाह, मन्त्रालयका सचिव शंकर अर्याल, सशस्त्र, जनपथ र राष्ट्रिय अनुसन्धानका डिआइजी प्रदेशस्थित सुरक्षा अधिकारी र कैलालीस्थित प्रजिअ र प्रहरी प्रमुखको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार