११ श्रावण २०८१, शुक्रबार

राजधानी गोदावरी, नाम सुदूरपश्चिम



धनगढी ।  प्रदेश नम्बर ७ को राजधानी र नामांकनको टुङ्गो लगाउन गठित विशेष समितिले मंगलबार प्रतिवेदन पेस गरेको छ ।
समितिका संयोजक तारा लामा तामाङसहित समितिका सदस्यहरुले संयूक्त रुपमा प्रदेशका सभामुख अर्जुनबहादुर थापालाई प्रतिवेदन बुझाएका थिए ।
प्रतिवेदन बुझ्दै प्रदेशका सभामुख थापाले जति सक्यो चाडो प्रदेश सभा बैठकमा यो विषयलाई प्रवेश गराउने बताए । सभामुख थापाले विशेष समितिले बुझाएको प्रतिवेदनलाई अनिर्णयको बन्दी नबनाउने र चाढै प्रदेश सभा बैठकमा छलफलका लागि प्रस्तुत गरिने बताए ।
सभामुख थापाले विशेष समितिबाट प्राप्त प्रतिवेदन अध्ययन गरेर प्रदेशका सबै सांसदहरुलाई सहमतिमा ल्याएर सर्वसम्मत ढंगले पास गराउन पहल गरिने बताए ।
हामीले सभामुखलाई प्रतिवेदन बुझाएका छौं समितिका संयोजक तामाङले भने– सभामुखबाट नै कुन दिन संसदमा पेस गर्ने भन्ने निर्णय हुनेछ ।
मंगलबार सभामुखलाई प्रतिवेदन बुझाएपछि उनले सञ्चारकर्मीहरूसंग समितिले सर्वसम्मत ढंगले स्वीकार गर्न सक्ने गरी प्रतिवेदन तयार पारेको दाबी गरे । प्रदेशको नाम र राजधानीबारे के सुझाव दिनुभएको छ ? भन्ने सञ्चारकर्मीहरूको जिज्ञासामा संयोजक तामाङले भने– त्यस विषयमा सभामुखज्यूले नै बोल्नु होला । उनले समितिले प्रदेश सातको नाम र राजधानी प्रदेशका सबै नागरिकले गौरव गर्ने गरी सिफारिस गरेको दाबी गरे । भने– प्रदेशको राजधानी यस क्षेत्रका सबै जनतालाई पायक पर्ने स्थानमा सिफारिस गरिएको छ । हामीले जति सक्यो सर्वसम्मत ढंगले पास हुने गरि प्रतिवेदन तयार पारेका छौं, तर संसदबाट पारित हुन्छ वा हुँदैन भन्ने म अहिले भन्न सक्दैन ।
उनले प्रदेशका सबै राजनीतिक दल तथा सांसदहरुसंग भेट गरेर छलफल गरी यस विषयको टुङ्गो लगाउन सकिन्छ कि भनेर शुरुमा सात दिनको म्याद तोकिएको बताए । ‘तर, चार पटक म्याद थपिदा पनि प्रदेश सभाका दुई जना सांसद छलफलमा आउनु भएन’ उनले भने ।
विशेष समितिका संयोजक तामाङले प्रदेश सभाका दुई जना सांसद, नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाबाहेक प्रदेश तथा प्रतिनिधी सभाका सबै सांसद तथा अन्य शिर्ष नेताहरूसंग छलफल गरिनुका साथै प्रदेशका स्थानीय जनप्रतिनिधीहरुले बुझाएको ज्ञापनपत्र लगायतलाई आधार मानेर प्रतिवेदन तयार पारेको बताए ।
शुरुदेखि नै प्रदेशको नामबारे धेरै विवाद नभए पनि राजधानी कहाँ राख्ने भन्ने विषयमा भने दलहरू नै आन्तरिक रूपमै विभाजित देखिएका थिए ।
प्रदेशको संख्या र सीमांकन भएदेखि नै राजधानीबारे विभिन्न जिल्ला र पक्षबीच गम्भीर मतभेद रहेको थियो । साविक सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको मुख्यालय रहेको डोटीको दिपायल मै प्रदेशको राजधानी पनि हुनुपर्ने मागसहित डोटीबासीले लामो समयदेखि आन्दोलन गर्दै आएका छन् । हाल अस्थायी राजधानी रहेको धनगढीमा नै स्थायी राजधानी राख्नपर्छ भन्ने सबैभन्दा बढी आवाज तथा चाहना रहेको छ । त्यस्तै, नेकपाका केही नेता (खासगरी पूर्व माओवादी केन्द्रका केही नेता) अत्तरियामा राजधानी राख्नुपर्ने ‘लविङ’ गर्दै आएका थिए ।

राजधानी गोदावरी, नाम  सुदूरपश्चिम
प्रदेश सातको नाम तथा राजधानी राख्ने स्थानबारे सुझाव दिन गठित विशेष समितिले प्रदेशको राजधानी गोदावरीमा राख्न सिफारिस गरेको छ । 
स्रोतका अनुसार विशेष समितिले प्रदेशको नाम सुदूरपश्चिम सिफारिस गरेको छ ।
चार पटक म्याद थप गरेर विशेष समितिले मंगलबार सभामुखलाई सुझाव प्रतिवेदन बुझाएको थियो । समितिले राजधानी तथा नामबारे आधिकारिक रुपमा सार्वजनिक भने गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार