१० श्रावण २०८१, बिहीबार

प्रदेश सातमा नेकपाको एकता प्रक्रियाले आकार लिँदै



धनगढी । दुई बामपन्थी पार्टीबीच एकीकरण भएर बनेको नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को सात नम्बर प्रदेशमा एकता प्रक्रियालाई अन्तिम रुप दिइदैछ । नेकपाले प्रदेशका सबै तहका संगठन इकाईहरुलाई पूर्णता दिने कार्य तीब्र बनाएको छ । यस क्रममा प्रदेशका अधिकांश जिल्लामा एकताको खाका तयार गरिएको छ ।
नेकपाका स्थायी समिति सदस्यद्वय भीमबहादुर रावल तथा लेखराज भट्ट तथा केन्द्रीय सदस्यहरू कर्णबहादुर थापा र लक्ष्मणदत्त जोशी सहितका नेताहरुले जिल्ला अध्यक्ष र इन्चार्जको परामर्शमा बिहीबारसम्म जिल्ला नेतृत्व र कमिटीको प्रारम्भिक खाका तयार पारेको जनाइएको छ । एकताको खाका अनुसार सात नम्बर प्रदेशका नौ मध्ये पाँच जिल्लामा तत्कालीन नेकपा (एमाले) पक्षले र चार जिल्लाको तत्कालिन माओवादी केन्द्र पक्षले नेतृत्व पाउने भएका छन् ।
नेकपा स्रोतका अनुसार कैलाली, डोटी, अछाम, बाजुरा र बैतडीमा तत्कालिन एमाले र कञ्चनपुर, डडेलधुरा, दार्चुला र बझाङमा माओवादी केन्द्र पक्षले जिल्लाको नेतृत्व लिने छन् ।
प्राप्त जानकारी अनुसार कैलालीमा एमालेका पुराना नेता दिनेशचन्द्र सुवेदी, डोटीमा चक्रबहादुर मल्ल र बैतडीमा सुरेन्द्र पाल नेकपाका जिल्ला अध्यक्ष बन्नेछन् । मल्ल र पाल तत्कालीन एमालेका बहालवाला जिल्ला अध्यक्ष हुन् । अछाममा कृष्णप्रसाद जैसी, बमबहादुर बिसी र कमल तिमिल्सिनामध्य एक हुने चर्चा छ।
त्यस्तै, कञ्चनपुरमा बीरबहादुर थापा पातल , बझाङमा मीनबहादुर कुँवर बिश्वास , दार्चुलामा गणेशसिंह खत्री पाबेल र डडेल्धुरा मानसिंह माल (क्रान्ति) अध्यक्ष हुने नेकपा स्रोतले जनाएको छ । बाजुरामा भने अध्यक्ष पदका धेरै जना आकांक्षी देखिएकाले अझैसम्म नेतृत्वको टुंगो लाग्न नसकेको स्रोतले जनाएको छ ।
जिल्ला तथा प्रदेश कमिटीको अन्तिम सूची तयार गर्न काठमाडौमा बिहीबार साँझसम्म स्थायी समिति सदस्यद्वय रावल र भट्ट तथा केन्द्रीय सदस्यहरू सहितका नेताहरूको बैठक बसेको बताइएको छ । एकताको खाका बनाउन नौ वटै जिल्लाका अगुवा नेताहरु संघीय राजधानी काठमाडौ पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार