११ श्रावण २०८१, शुक्रबार

घोषणा हुन्छ, कार्यान्वयन हुँदैन



धनगढी । प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले गत फागुनमा घोषणा गरेका थिए– “राधा चौधरीको स्वास्थ्य उपचार तथा शिक्षादिक्षाको सबै जिम्मेवारी प्रदेश सरकारले व्यहोर्ने छ ।” गत फागुनको २४ गते घोडाघोडी नगरपालिकाको देउकलियाकी राधामाथि बोक्सीको आरोपमा निर्घात कुटपिट तथा दुव्र्यवहार भएको घटनाबारे व्यापक चासो र आक्रोस बढ्दै गएपछि प्रदेशका मुुख्यमन्त्री तथा मन्त्रीहरूले उनको उपचार र शिक्षाको प्रबन्ध मिलाउने घोषणा गरेका थिए । तर, घटनाको पाँच महिना बितिसकेको छ, पीडित राधाले प्रदेश सरकारबाट कुनै राहतको अनुभव गर्न पाएकी छैनिन् ।
घोडाघोडी नगरपालिकाको सुखडस्थित राष्ट्रिय माध्यामिक विद्यालयका प्रधानाध्यापक रामछविला चौधरीले भने– “प्रदेश सरकारबाट हालसम्म राधालाई नि:शुल्क शिक्षाको व्यवस्था गर्नेबारे कुनै पत्राचार वा सूचना प्राप्त भएको छैन ।” प्रधानाध्यापक चौधरीका अनुसार विद्यालय व्यवस्थापन समितिले राधाको शिक्षा नि:शुल्क गर्ने निर्णय गरेको छ । “राधामाथि त्यो घटना भएपछि विद्यार्थी तथा शिक्षकको दवावपश्चात व्यवस्थापन समितिले उनलाई कक्षा ११ र १२ सम्म नि:शुल्क पढाउने निर्णय गरेको थियो” उनले भने ।
राधाले भने कक्षा ११ को सबै शुल्क तिर्नुपरेको बताइन् । भनिन्– “कक्षा ११ को सबै शुल्क तिरिसके । १२ कक्षामा भर्ना गरेको छैन् । सरहरूले ‘तिम्रो नि:शुल्क भर्ना हुन्छ भन्नुभएको छ,’ तर के हुन्छ थाहा छैन ।” राधाका अनुसार कक्षा १२ मा भर्नाका लागि उनीसँग कसैले पनि सम्पर्क गरेका छैनन् । “म माथि घटना भएका बेला धेरैले थुप्रै काममा सहयोग गर्ने भनेर आश्वासन दिएका थिए” उनी भन्छिन्– “अहिले कक्षा १२ मा भर्ना गर्ने काम सुरु भइसक्यो, तर अहिलेसम्म मलाई कसैले कुनै सम्पर्क गरेका छैनन् ।”
गत वर्षको फागुन २४ गते नारी दिवसकै दिन २० वर्षीया राधामाथि नगरपालिकाको देउकलियामा स्थानीय भोलेबाबा भनिने रामबहादुर चौधरी र पार्वती माता भनिने किस्मति चौधरीसहितले गाउँलेकै अगाडि बोक्सीको आरोप लगाउँदै छ घन्टासम्म निर्घात कुटपिट गरेका थिए ।
लगातारको निर्घात कुटपिटबाट गम्भीर घाइते राधालाई उद्दार गरेर धनगढीमा उपचारका लागि ल्याइएको थियो । उनलाई केही दिन धनगढीस्थित महिला पुनस्र्थापना केन्द्रमा राखिएको थियो । केही दिनपछि कैलालीका प्रमुख जिल्ला अधिकारीलगायत विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको पहलमा देउकलियामै एक वृहत कार्यक्रम आयोजना गरी राधालाई पुनस्र्थापना गरिएको थियो ।
तर, समाजमा अझैं पनि राधाप्रति आरोप लगाउनेहरूको कमी नरहेको उनको अनुभव छ । कतिपयले उनको पिठ्युपछाडि ‘बोक्सी’ भनेर गाली गर्ने गरेका छन् । “विद्यालयमा पनि अझैं केही साथीहरूले बोल्न छोडेका छन्” उनले भनिन्– “मसँग बोल्न आउनेसँग म पनि बोल्छु, तर बोल्नै नचाहनेसँग म आफैं कसरी बोल्न जाउँ ?” उनी आफूलाई अझैं पनि गाउँमा बस्न सहज नभएको बताउँछिन् ।
राधाकी आमा फूलकेशरीले पनि छोरी (राधा) का लागि गाउँमा घटनाअघिको जस्तो सहज वातावरण नरहेको बताइन् । उनले छोरीलाई गाउँसमाजका केही मानिसले यस्तो भन्यो, उस्तो भन्यो भनेर सुन्दा दु:ख लाग्ने गरेको बताइन् । “कसैले केही भन्यो भने पनि चुपचाप बस्नुपर्छ, सुने पनि नसुनेझैं गर्नुपरेको छ” उनले दुखेसो पोखिन् ।
राधाको परिवारमा आमा, बुवा, दाइ, एक भाइ र एक बहिनी छन् । कमजोर आर्थिक अवस्थाका कारण अहिले राधाका बुवा, दाइ र भाइ भारतमा काम गर्न गएका छन् । अहिले राधासहित आमा र बहिनी मात्रै घरमा बस्छन् ।
राधाको कुटपिटमा संलग्न भएका सोही ठाउँका आफूलाई भोलेबाबा बताउने रामबहादुर चौधरी र किस्मती चौधरी अहिले जेल जीवन बिताइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार