११ श्रावण २०८१, शुक्रबार

बैंक ब्याज घटाउन ज्ञापन



धनगढी । कैलाली च्याम्बर अफ कमर्स र गोदावरी च्याम्बर अफ कमर्सले बैंकको व्याजदर घटाउन माग गर्दै आइतबार संयुक्त रूपमा नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालय धनगढीमा ज्ञापनपत्र बुझाएका छन् ।
कैलाली च्याम्बर अफ कमर्सका अध्यक्ष मोहनराज शर्मा नेतृत्वको प्रतिनिधिमण्डलले ब्याजदर कम गर्ने मागसहित नेपाल राष्ट्र बैंकका क्षेत्रीय निर्देशक किरण पण्डितलाई ज्ञापनपत्र बुझाएको जनाइएको छ ।
ज्ञापनपत्रमा भर्खरै नेपाल राष्ट्र बैँकबाट जारी गरिएको मौद्रिक नीतिले पूँजी बजारमा बढ्दै गएको तरलता अभावका कारणले ब्याजदरमा भएको वृद्धिले बढाएको लागत, लगानीयोग्य पूँजीको अभाव जस्ता समस्याहरूको समाधान गरी अर्थ व्यवस्थामा सुधार गर्न स्प्रेड दरमा ०.५५, अनिवार्य तरलता अनुपातमा २५, वैधानिक तरलता अनुपात २५ प्रतिशत कमी गर्ने लगायत भारतीय मुद्रामा ऋण लिन पाउने सुविधादेखि पूनर्कर्जा कोषमा समेत ठूलो वृद्धि गरिएकोले तरलता सहज भएको उल्लेख छ ।
महंगो व्याजदरका कारण उद्योग तथा व्यवसायीहरूको लागतमा वृद्धि, नयाँ लगानीको वातावरणमा ह्रास जस्ता कारणहरूले अर्थतन्त्रमा नै नकारात्मक प्रभाव परिरहेको सन्दर्भमा मौद्रिक नीतिले व्याजदर घटाई अर्थव्यवस्थालाई चलायमान बनाउने उद्देश्य बोकेको देखिए पनि मौद्रिक नीति जारी भएको एक महिना पुग्न लाग्दा समेत प्रदेश नम्बर ७ मा सञ्चालनमा रहेका बाणिज्य बैँक तथा वित्तीय संस्थाहरूले व्याजदर नघटाएको हुँदा मौद्रिक नीतिको मर्म अनुरूप अर्थव्यवस्थामा सुधार हुन नसक्ने हुँदा व्याजदर कटौति गर्न बैँकहरूलाई निर्देशन गर्न नेपाल राष्ट्र बैंकलाई अनुरोध गरिएको कैलाली च्याम्बर अफ कमर्सका अध्यक्ष शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार