संसदीय मामिला पत्रकारितासम्बन्धी अभिमुखीकरण
धनगढी । संसदीय रिपोर्टिङमा संलग्न पत्रकारहरूका लागि आइतबार धनगढीमा संसदीय मामिला पत्रकारिता सम्बन्धी अभिमुखीकरण कार्यक्रम भएको छ ।
संघीय संसदमा रहेको संसदीय मामिला पत्रकार समाज, काठमाडौं र युएनडिपीको संयुक्त आयोजना तथा संसदीय पत्रकार समाज, प्रदेश सातको संयोजनमा भएको अभिमुखीकरणमा संसदीय रिपोर्टिङ गर्दै आएका २५ जना पत्रकारहरूको सहागिता रहेको थियो ।
अभिमुखीकरण कार्यक्रमको प्रदेश सातका सभामुख अर्जुनबहादुर थापाले उद्घाटन गरे । सो अवसरमा सभामुख थापाले संसदमा स्थान अभावका कारण पत्रकारहरूले रिपोर्टिङ गर्न केही कठिनाई बेहोरिरहेको भए पनि संसदका कामकारबाही छिटोछरितो ढंगले आम नागरिकमाझ पुर्याइरहेको चर्चा गरे ।
सभामुख थापाले प्रदेशको स्थायी राजधानी तोकिएपछि संसदको समाचार संकलनका क्रममा पत्रकारहरूले भोग्नु परेका कठिनाई कम हुँदै जाने विश्वास व्यक्त गरे ।
फरक प्रसंगमा सभामुख थापाले संसदले छिट्टै प्रदेशको स्थायी राजधानी र नामको टुंगो लगाउने बताएका छन् ।
सभामुख थापाले विभिन्न कारणले प्रदेशको स्थायी राजधानी र नामको टुंगो लगाउन ढिलाई भएको बताए ।
अभिमुखीकरणमा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तथा खोज पत्रकारिता केन्द्रका सम्पादक शिव गाउँले, राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाल र संसदीय मामिला पत्रकार समाजका अध्यक्ष नरेन्द्र साउँदले सहजीकरण गरेका थिए ।
उद्घाटन कार्यक्रममा युएनडिपीका प्रतिनिधि दिलादत्त पन्त र नेपाल पत्रकार महासंघ, सात नम्बर प्रदेश अध्यक्ष अर्जुन शाहले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम संसदीय मामिला पत्रकार समाजका अध्यक्ष साउँदको अध्यक्षतामा भएको थियो ।