१२ श्रावण २०८१, शनिबार

प्रेस स्वतन्त्रताप्रति संवेदनशील हुन आह्वान



धनगढी । नेपाल पत्रकार महासंघ, प्रदेश सातले प्रेस स्वतन्त्रताका विश्वव्यापी मूल्यमान्यताप्रति संवेदनशील रहन र तदनुरूपको व्यवहार गर्न सबैमा आग्रह दोहोर्‍याएको छ ।
केही समययता सात नम्बर प्रदेशका विभिन्न जिल्लामा पत्रकारिता क्षेत्रको मर्यादामाथि आँच पुग्ने खालका विभिन्न घटनाक्रम दोहोरिरहेको सन्दर्भमा महासंघको प्रदेश समितिले सम्वद्ध सबैमा गम्भीर र संवेदनशील हुन आग्रह गरेको छ ।
महासंघको प्रदेश समितिको पहलमा प्रदेश सातबाट नेतृत्व गरेका महासंघका पूर्व केन्द्रीय तथा जिल्ला पदाधिकारीहरूसहितको सामुहिक बैठकले प्रदेश सातमा पत्रकारिता क्षेत्रको पछिल्लो अवस्थाबारे गम्भीर छलफल गरेको छ ।
बैठकपछि जारी सार्वजनिक आह्वानपत्रमा भनिएको छ– ‘पछिल्लो समयमा पत्रकार र पत्रकारिता क्षेत्रमाथि विभिन्न कोणबाट अनेक प्रकारले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हमलाका प्रयास पनि देखिएका छन् । सामाजिक सञ्जालमार्फत निरन्तर पत्रकारिता क्षेत्रलाई बदनाम गर्ने दुस्प्रयास भइरहेको छ ।’
महासंघका प्रदेश अध्यक्ष अर्जुन शाहको अध्यक्षमा बसेको सामुहिक बैठकले पत्रकार आचारसंहिता विपरित भएका कतिपय गतिविधिले समेत आम पत्रकार तथा पत्रकारिता क्षेत्र नै आलोचित हुने अवस्था रहेकोप्रति आत्मसमीक्षा गरेको उल्लेख छ ।
बैठकपछि महासंघका प्रदेश महासचिव योगेश रावलद्वारा जारी आह्वानपत्रमा समाचारका विषय बाहेक कोही पनि पत्रकारको व्यक्तिगत व्यवहारलाई समग्र पत्रकारितासँग जोडेर प्रस्तुत नहुन र नगर्न सम्वद्ध सबैमा आग्रह गरिएको छ । भनिएको छ– ‘कुनै समाचार वा पत्रकारको व्यक्तिगत कार्यप्रति असहमति जनाउने नाममा सिंगो पत्रकारिता जगतलाई बदनाम गर्ने गरी कतैबाट पनि कुनै टिप्पणी, गालीगलौज भएमा महासंघ कानुनी उपचारमा जाने सचेत गर्दछ ।’
पत्रकार महासंघ कुनै पनि गलत प्रवृतिको पक्षपोषण नगर्ने, तर, कोहीकतैबाट प्रेस स्वतन्त्रतामा आँच पुर्‍याउने कार्यप्रति रत्तिभर सम्झौता नगर्ने दोहोर्‍याइएको छ ।
बैठकले सामाजिक सञ्जालको दुरुपयोग नगर्न पनि सबै पक्षमा आग्रह गरेको छ । बैठकले आम पत्रकार तथा सञ्चार माध्यमलाई पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न, गराउन पुन: स्मरण गराएको छ । भनेको छ– ‘पत्रकारिता पेसाको मर्यादालाई धमिल्याउने कार्यमा संलग्न महासंघका कुनै पनि सदस्यलाई कडा कारवाही गर्न महासंघ पुन: सचेत गराउँदछ ।’
महासंघले पछिल्ला दिनमा प्रदेशका विभिन्न स्थानमा पत्रकारमाथि भएका आक्रमण, धाकधम्कीका घटनाको उचित छानबिन गरी दोषीमाथि कारवाही गर्न तथा पत्रकारको सुरक्षामा संवेदनशील हुन प्रशासनको ध्यानाकर्षण गरेको छ ।
सार्वजनिक आह्वानपत्रमा भनिएको छ– ‘कुनै व्यक्ति, समुदाय, संघसंस्था, निकाय लगायतलाई कोही पत्रकार वा सञ्चार गृहबाट अन्याय भएको महसुस भएमा प्रेस काउन्सिल नेपाल, नेपाल पत्रकार महासंघ तथा न्यायिक निकायसमक्ष पुगेर न्यायिक निरुपणको बाटो अगाल्न पुन: आग्रह गर्दछौं ।’
सामुहिक बैठकमा महासंघका धनगढीमा उपलब्ध पदाधिकारी तथा महासंघका पूर्व उपसभापति चित्रांग थापा र उमीदप्रसाद बागचन्द, पूर्व क्षेत्रीय संयोजक मनमोहन स्वाँर, कर्ण शाह र प्रकाशबिक्रम शाह, पूर्व केन्द्रीय सदस्य दिलबहादुर छत्याल, महासंघका कैलाली अध्यक्ष जगत साउँद तथा निवर्तमान जिल्ला अध्यक्ष भरत शाहको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार