१२ श्रावण २०८१, शनिबार

विद्यालय समायोजन तथा कक्षा तह मिलान : विद्यार्थी, शिक्षक, अभिभावक सबै असन्तुष्ट



सुखड । “छोरी तीन वर्षकी भइन् । नजिकैको विद्यालयमा भर्ना गरेको थिए, तर अहिले नगरपालिकाले त्यो विद्यालय अर्को विद्यालयमा गाभिदियो” घोडाघोडी नगरपालिका वडा नम्बर ११ का बलिराम चौधरीले गुनासो गरे– “अब त्यति टाढाको स्कूलमा छोरीलाई कसरी पठाउँ ? बलिरामका अनुसार उनको घरबाट त्यो नयाँ स्कुल पुग्न एक घन्टा बढि समय लाग्छ ।”
घोडाघोडी नगरपालिकाले वडा नम्बर ११ मा रहेको दशरथ प्राथमिक विद्यालयलाई वडा नम्बर १० मा अवस्थित अमर शहीद आधारभूत विद्यालयमा मर्ज गरेको छ । दशरथ प्राथमिक विद्यालयमा ८५ जना बालबालिका अध्ययन गर्दथे ।
दशरथ प्राविमा सो वडाका अम्बासा, भलुवा, सिसैया, बह्रनीया, वनघुस्री लगायतका स्थानबाट बालबालिका पढ्न आउने गरेका छन् । सो विद्यालयमा पनि सोही वडाका कतिपय गाउँबाट पढ्द आउने बालबालिकालाई आधा घण्टा पैदल हिड्नुपर्छ । स्थानीय गीता कठरियाले गुनासो गरिन्– “यही विद्यालय (दशरथ प्रावि) पुग्न त बालबालिकालाई आधा घण्टा लाग्छ भने अमर शहीद आधारभूत विद्यालय पुग्न कम्तिमा एक घन्टा हिड्नुपर्ने हुन्छ ।”
वडा नम्बर ११ मा रहेको दशरथ प्रावि वडा नम्बर १० मा रहेको अमर शहीद आधारभूत विद्यालयमा गाभेपछि बालबालिका र अभिभावकले बढी दु:ख भोग्नु परेको छ । “कतै खोला छ, कतै कुलो छ । कलिला बालबालिकालाई वारपार गर्न निकै गाह्रो हुन्छ” गीताले भनिन्– “हाम्रो वडामा एउटा प्राथमिक विद्यालय आवश्यक छ । त्यसैले नगरपालिकाले विद्यालय मर्ज गर्ने कार्य रोकेर शिक्षामा गुणस्तरीयता बृद्धि गर्न ध्यान दिनु आवश्यक छ ।”
घोडाघोडी नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालय समायोजन तथा कक्षा तह मिलान प्रक्रिया अघि बढाएपछि अभिभावक तथा विद्यार्थीहरूको गुनासो बढेको छ । निजी स्रोतका शिक्षक असन्तुष्ट देखिएका छन् । विद्यार्थी संगठनहरू आन्दोलनमा उत्रिएका छन् ।
घोडाघोडी नगरपालिकाको वडा नम्बर ११ को दशरथ प्रावि मात्रै होइन्, अन्य सात वटा विद्यालय पनि मर्ज गरिएका छन् । त्यस्तै, विभिन्न विद्यालयका कक्षा तह मिलान गरिएको छ । नगरपालिकाका अनुसार वडा नम्बर ५ मा रहेको श्री कालिका आधारभूत विद्यालयको तह घटुवा गरेको छ । नगरपालिकाले श्री कालिका आधारभूत विद्यालयको तह घटुवा गरी प्राथमिक विद्यालय बनाएको छ । कक्षा ६ देखि ८ सम्मलाई वडा नम्बर १० मा रहेको कान्तिराज्यलक्ष्मी माध्यामिक विद्यालयमा गाभेको छ ।
कालिका आधारभूत विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर चौधरीले भने–“विद्यालय समायोजनले विद्यार्थीसँगै शिक्षकलाई पनि समस्या बढाएको छ ।” प्रधानाध्यापक चौधरीले सो विद्यालयमा सितलपुर, मटियारी, सेउकलिया लगायतका स्थानबाट विद्यार्थीहरू अध्ययनका लागि आउने गरेको बताए । भने– “यो विद्यालयमा टाढा–टाढाबाट विद्यार्थीहरू अध्ययन गर्न आउँछन् । नगरपालिकाको विद्यालय समायोजन निर्णयका कारण विद्यार्थीहरूलाई विद्यालय पुग्न निकै समय लाग्ने गरेको त छ नै, दुर्घटनाको जोसखम समेत बढाएको छ ।”
घोडाघोडी नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ बमोजिम आधारभूत तथा माध्यमिक शिक्षालाई गुणस्तर बनाउन नगर क्षेत्रभिका सात वटा सामुदायिक विद्यालय मर्ज गरेको छ भने नौ वटा कक्षा तह मिलान गरेको छ । विद्यालय समायोजन तथा कक्षा तह मिलान गरिएका अधिकांस विद्यालयमा अध्ययनरत विद्यार्थी तथा कार्यरत शिक्षकहरूले नगरपालिकाको निर्णयले सास्ती भोग्नुपरिरहेको गुनासो गरेका छन् ।
घोडाघोडी नगरपालिकामा रहेका ५७ वटा सामुदायिक विद्यालयमध्ये सातवटा विद्यालय समायोजन भएपछि अहिले सामुदायक विद्यालयको संख्या ५० मा झरेको छ । सात वटा विद्यालय र नौ वटा कक्षा तह मिलान गर्दा दुई हजार ६२ जना विद्यार्थी र ५४ जना निजी शिक्षक प्रभावित भएका छन् ।
नगरपालिकाको वडा नम्बर २, चित्तलपुरमा रहेको मसानी आधारभूत विद्यालयलाई दशरथ माध्यामिक विद्यालय साडेपानीमा समायोजन गरिएको छ । त्यस्तै, वडा नम्बर ४, जनकपुरको मेलघट्टी माध्यामिक विद्यालयको ९ र १० कक्षा तह घटाएर गणेशपुरस्थित सीताकुण्ड माध्यामिक विद्यालयमा व्यवस्थापन गरिएको छ ।

घोडाघोडी नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ बमोजिम आधारभूत तथा माध्यमिक शिक्षालाई गुणस्तर बनाउन नगर क्षेत्रभिका सात वटा सामुदायिक विद्यालय मर्ज गरेको छ भने नौ वटा कक्षा तह मिलान गरेको छ ।

नगरपालिकाका अनुसार वडा नम्बर ४, माघीमा रहेको नवप्रभात प्राथमिक विद्यालय र राष्ट्रिय लालीगुँरास प्राथमिक विद्यालय, गैडाखेडालाई राष्ट्रिय लालीगुँरास प्राविमा कक्षा पाँचसम्म सञ्चालन गरेको छ ।
त्यस्तै, वडा नम्बर ४ शितलपुरमा रहेको कालिका आधारभूत विद्यालयको कक्षा ६, ७ र ८ तह घटाएर वडा नम्बर १०, पहलमानपुरमा रहेको कान्तिराज्यलक्ष्मी माविमा व्यवस्थापन गरिएको छ । भने, वडा नम्बर ८ तिलकनगरमा रहेको मोहनी आधारभूत विद्यालयको कक्षा ६, ७ र ८ तह घटाएर तारानगरमा रहेको राष्ट्रिय माध्यामिक विद्यालयमा व्यवस्थापन गरिएको छ ।
त्यस्तै, वडा नम्बर ८ आमफाटा रहेको अनुग्रह प्राथमिक विद्यालय कक्षा ४ र ५ तह घटाएर राष्ट्रिय माध्यामिक विद्यालय तारानगरमा व्यवस्थापन गरिएको छ भने वडा नम्बर ६ कल्जुकीमा रहेको दीपज्योति प्राथमिक विद्यालयलाई राष्ट्रिय माध्यामिक विद्यालयमा व्यवस्थापन गरिएको छ ।
त्यस्तै, वडा नम्बर १ डुडापारीमा रहेको जनप्रगतिशील आधारभूत विद्यालयको ६, ७ र ८ कक्षा तह घटाएर वडा नम्बर ८ दीपनगरमा रहेको मेलघट्टी माध्यामिक विद्यालयमा व्यवस्थापन गरिएको छ ।
वडा नम्बर ९, गोदनीमा रहेको मोहन्याल आधारभूत विद्यालयको कक्षा ६, ७ र ८ लाई तह घटाएर कालिका माध्यामिक विद्यालय खल्लाखेतमा व्यवस्थापन गरिएको छ । भने वडा नम्बर ९ रतिपुरमा रहेको शान्ति आधारभूत विद्यालयलाई वडा नम्बर ४ गणेशपुरमा रहेको सीताकुण्ड माविमा व्यवस्थापन गरिएको छ ।
त्यस्तै, वडा नम्बर १० सिसैयामा रहेको दशरथ प्राथमिक विद्यालयलाई अमर शहिद स्मृति आधारभूत विद्यालय लठैयामा समायोजन गरिएको छ । वडा नम्बर १२ खोपामा रहेको बाल प्राथमिक विद्यालयको कक्षा ४ र ५ तह घटाएर नकफोडुवामा रहेको राष्ट्रिय माविमा व्यवस्थापन गरिएको छ ।
त्यसैगरी, वडा नम्बर १२ शिवपुर रहेको राजाराम प्राविलाई खोपास्थित बाल प्राविमा समायोजन गरिएको छ । त्यसैगरी, वडा नम्बर १२ वनवर्षामा रहेको शिव प्राविलाई नकफोडुवामा रहेको राष्ट्रिय माविमा समायोजन गरिएको छ । भने वडा नम्बर १० शिखरझाला रहेको सरस्वति माविको ६, ७ र ८ कक्षा तह घटाएर वडा नम्बर ९, खल्लाखेतमा रहेको कालिका माविमा व्यवस्थापन गरिएको छ ।
नगरपालिकाले विद्यालय समायोजन तथा कक्षा तह मिलान गरेपछि शिक्षक, अभिभावक, विद्यार्थी तथा विद्यार्थी संगठनहरूले विरोध जनाइरहेका छन् । दशरथ प्राथमिक विद्यालयक व्यवस्थापन समितिकी अध्यक्ष रजीना चौधरीले भनिन्– “नगरपालिकाले विद्यालय समायोजनका विषयमा हामीसँग छलफलनै नगरी एकतर्फी ढंगबाट निर्णय गर्‍यो ।” विद्यालय व्यवस्थापन समिति अध्यक्ष रजीनाले नगरपालिकाले विद्यालय समायोजन गर्ने प्रक्रिया अघि बढाएको जानकारी भए पनि कुन–कुन विद्यालय समायोजन गर्दै छ भनेर जानकारी नभएको बताइन् ।
श्रीकालिका आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवबहादुर बमले नगरपालिकाले अवैज्ञानिक तरिकाले विद्यालय समायोजन तथा तह मिलान गरेको आरोप लगाए । उनले शैक्षिक सत्रको बीचैमा नगरपालिकाले यस्तो निर्णय गर्न नहुने बताए ।
घोडाघोडी नगरपालिकाले निजी श्रोत विद्यालय शिक्षक तथा कर्मचारी व्यवस्थापन कार्यविधि बनाउँदा निजी श्रोत शिक्षकहरूको प्रतिनिधित्व गरेर नै निर्माण गर्ने सहमती भए पनि हाल नगरपालिकाले एकलौटी ढंगबाट निर्देशिका निर्माण गरी लागू गर्न निर्देशन दिएकाले बाध्य भएर आफूहरूले शैक्षिक हड्ताल गर्नु परेको संगठनका नगर अध्यक्ष चेतबहादुर बोहराले बताए ।
घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममताप्रसाद चौधरीले भने सबैको सहमतिबाट नै विद्यालय समायोजन तथा तह मिलान गरिएको दावी गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार