११ श्रावण २०८१, शुक्रबार

सामुदायिक वनमाथि उपभोक्ताको अधिकार कटौति हुँदैन– मन्त्री सोडारी



टीकापुर । प्रदेश सातका सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीले सामुदायिक वनमाथि उपभोक्ताको अधिकार कटौति नभए पनि नयाँ बन्ने ऐनमा अहिलेकै अवस्थामा नरहने बताएका छन् ।
सामदायिक वन उपभोक्ता महासंघ, नेपाल (फेकोफन) प्रदेश नम्बर ७ को शुक्रबारदेखि टीकापुरमा शुरु भएको पहिलो अधिवेशनको उद्घाटन कार्यक्रममा मन्त्री सोडारीले नेपालमा पनि हरेक तहका सरकारबीच केही समय प्राकृतिक स्रोतका लागि विवाद हुनसक्ने बताए ।
“कतिपय सामुदायिक वन राम्ररी व्यवस्थापन भएका छन् । कतिपय सामुदायिक वनको आय स्थानीय तहको भन्दा पनि धेरै छ” मन्त्री सोडारीले भने– “५७ प्रतिशत वन भएको कैलालीका वनभित्रै दर्जनौ तालतलैया रहेका छन् । सय वर्ष पूराना रुख छन् ।” उनले वैज्ञानिक वन व्यवस्थापनका क्रममा करौडौं मूल्यका रुख काटिने चर्चा गर्दै भने– “तर के त्यो आम्दानीमा पनि उपभोक्ताहरूले ८५ प्रतिशत हिस्सा पाउछन् ?”
मन्त्री सोडारीले नेपालका सामुदायिक वन उपभोक्ता महासंघले लोकतन्त्र, पारदर्शिता र महिला सहभागितामा गरेको अभ्यासले राज्यका हरेक तहमा महिला सहभागिता बढेको बताए ।
उद्घाटन कार्यक्रमका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले प्रदेश सरकारले आगामी सोमबारदेखि संसदमा वन ऐन छलफलका लागि प्रस्तुत गर्ने जानकारी दिइन् ।
उनले जनतालाई अप्ठ्यारो पर्ने गरी प्रदेश सरकारले नीति नबनाउने बताइन् । “हामी संघीय सरकारलाई पनि यस्तै सुझाव दिन्छौं” मन्त्री भट्टले भनिन्– “गाउँगाउँमा डोजर लगाएर वन विनाश गर्ने र पूर्खाले हुर्काएको रुखमाथि मात्रै आँखा गाड्ने कार्य रोकिनु पर्दछ ।” उनले प्रदेश सरकारले उपभोक्तासँग साझेदारी गर्दै प्राकृतिक स्रोत व्यवस्थापन गर्ने नीति अवलम्बन गरेको बताइन् ।
फेकोफनका केन्द्रीय कोषाध्यक्ष तथा दिपायलसिलगढी नगरपालिकाका प्रमुख मञ्जु मलासीले सामुदायिक वनमाथि सरकारले हस्तक्षेप सह्य नहुने बताइन् । “नेपालका २२ हजार सामुदायिक वनको संरक्षण र उपभोगको अधिकार डेढ करोड उपभोक्ता कै हुनुपर्दछ” उनले भनिन्– “रोयल्टी बाड्ने नाममा प्रदेश सरकारको आखा नलागोस् ।”
प्राकृतिक स्रोत तथा द्वन्द्व रूपान्तरण केन्द्रका कार्यकारी निर्देशक चुपबहादुर थापाले प्रदेश ७ मा रहेको वन स्रोतको उपभोग गर्दै वन पैदावर उद्योग खोल्ने नीति लिनुपर्ने सुझाव दिए ।
फोकोफन प्रदेश ७ का सहसंयोजक शेरबहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा टीकापुर नगर महासंघका अध्यक्ष श्याम खत्री, पारिवारिक निजी वन संघका अध्यक्ष जोगराम गिरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा वन संरक्षणका क्रममा वन तस्कर गिरोहको आक्रमणमा ज्यान गुमाएका कैलालीको जानकी गाउँपालिकास्थित चेतना सामुदायिक वनका अध्यक्ष स्वर्गीय कर्णबहादुर थापालाई सम्मान गरियो ।
त्यस्तै, गोदावरी नगरपालिकाका उपप्रमुख रत्ना कडायतलाई पनि सम्मान गरिएको थियो ।
अधिवेशन आज (शनिबार) सम्म सञ्चालन हुने जनाइएको छ । अविधेशनमा प्रदेश ७ का ९ वटा जिल्लाका पाँच सय २७ प्रतिनधि र पर्यवेक्षक गरी सात सय जना सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार