१० श्रावण २०८१, बिहीबार

गुरही पर्व धुमधामसँग मनाउन तयारी तीब्र



धनगढी । ७ नम्बर प्रदेशका कैलाली र कञ्चनपुरमा बसोबास गर्ने थारू समुदायले सामुहिक रूपमा गुरही पर्व मनाउने भएका छन् ।
गुरही पर्व तयारी सम्बन्धमा जानकारी दिन बुधबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा धनगढीमा बसोबास गर्ने थारू समुदायले साउन ३१ गते धनगढीको क्याम्पस चोकमा सामुहिक रूपमा गुरही पर्व मनाउने जानकारी दिइयो ।
छरिएर मनाउने गरिएको गुरही पर्वलाई एकैसाथ मनाउँदै पर्वलाई संस्थागत गर्न केही वर्षयता धनगढीको गुरही चोकमा थारू समुदाय सम्वद्ध विभिन्न संघसंस्थाको संयुक्त आयोजनामा यो पर्व मनाइदै आएको सखी सञ्जाल कैलालीका अध्यक्ष ईन्दु चौधरीले बताइन् ।
थारू कल्याणकारिणी सभा कैलालीका सचिव माधव चौधरीले पश्चिम नेपालका थारू समुदायले सदियौंदेखि गुरही पर्व मनाउँदै आए पनि कहिलेदेखि मनाउन सुरु गरिएको भन्नेबारे लिखित ईतिहास नरहेको बताए । परापूर्वकालदेखि नागपञ्चमीको दिन थारू समुदायले गुरही पर्व मनाउँदै आएकोले यो पर्वसँगै अन्य पर्वको शुभारम्भ हुने सचिव चौधरीले बताए ।
खेतीपाती सकिएपछि धानबालीमा किरा नलागोस् भनेर गाउँका युवतीहरू गाउँभन्दा टाढाको चोकमा गई कपडाले बनाइएका स–साना गुरही (गाइने किराको प्रतिक) चोकमा असराउने (सेलाउने) र सेलाइएका गुरहीलाई गाउँका युवाहरूले सजाएर ल्याएका सोप्टाले पिट्ने चलन रहि आएको थारू कल्याणकारिणी सभाका केन्द्रीय सदस्य ईन्दिरा चौधरीले बताइन् ।
गुरही गाउँबाट पर गएर सेलाउँदा धानबालीमा किरा नलाग्ने विश्वास रहिआएको थारू महिला सभाका अध्यक्ष दुर्गा कुश्मीले बताइन् । गुरही पर्वलाई बालबालिकासँग सम्बन्धित पर्वको रूपमा लिने गरेको बताउँदै कुश्मीले गुरही सेलाउँदा साना बालबालिकाहरूमा आँखा पाक्ने, ज्वरो आउने, खटिरा आउने, बान्ता हुने जस्ता रोग निको हुने गरेको विश्वास रहि आएको छ ।
पर्वले सामाजिक सद्भाव, आपसी मित्रता बढाउनुको साथै गाउँमा भएको दु:ख, कष्ट, संकत, बिपत्ति भाग्ने थारू नेता फोनीराम चौधरीले बताए ।
थारू नेता गयाप्रसाद कुश्मीले पहिल्यैदेखि थारू समुदायमा गुरही पर्व गाउँ–गाउँमा मनाउँदै आए पनि गुरही पर्वलाई संस्थागत गर्न धनगढीमा छरिएर रहेका थारूहरूले एकैसाथ रमाइलो गरि गुरही मनाउने गरेको बताए ।
थारू विद्यार्थर्ी समाजका केन्द्रीय उपाध्यक्ष ठाकुरप्रसाद करियाप्रधानले धनगढीको गुरहीचोकमा केही वर्षदेखि विभिन्न संघसंस्थाहरूको संयुक्त आयोजनामा गुरही मनाउन सुरुवात गरेपछि यो पर्व संस्थागत हुँदै गएको बताए ।

फाइल तस्बिरहरु
प्रतिक्रिया दिनुहोस्
विशेष समाचार