११ श्रावण २०८१, शुक्रबार

औंलो खोजपड्ताल तथा रक्त नमुना परीक्षण



धनगढी । धनगढीमा सोमबार औंलो खोजपड्ताल तथा रक्त नमुना परीक्षण कार्यक्रम भएको छ । मेडिकल ल्याब्रोरेटरी एसोसिएसन अफ नेपाल (मेलान) को आयोजना तथा जिल्ला जनस्वास्थ्य कार्यालय र सेभ द चिल्ड्रनको सहयोगमा कार्यक्रम भएको थियो ।
जिल्लाबाट औंला निर्मुल गर्ने लक्ष्यका साथ रक्त नमुना परीक्षण कार्यक्रम गरिएको जनाइएको छ । मेलान कैलालीका कोषाध्यक्ष महेन्द्र साउँदले जिल्लामा जुन ठाउँमा औंलोका प्रभाव बढी देखियो त्यसै ठाउँमा कार्यक्रम लक्षित गरिएको जानकारी दिए ।
मेलान कैलालीका अध्यक्ष मीनबहादुर धामीको अगुवाईमा भएको कार्यक्रममा एक सय २१ जनाले परीक्षण गराएका थिए ।
पछिल्लो सयम कैलालीमा औंलो रोग फैलिदै गएपछि यसबारे जनचेतना फैलाउने, समाजमा लुकेर रहेका औंलो रोगका बिरामीहरूलाई बाहिर ल्याउन यस्ता कार्यक्रमहरूलाई निरन्तर सञ्चालन गरिने बताए ।
कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख टंकप्रसाद चापागाईले कैलालीमा औंलो रोगको प्रभाव बढी देखिएकाले जनचेतना अभिबृद्धिमूलक कार्यक्रमलाई निरन्तरता दिइने बताए ।
जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख चापागाईंका अनुसार आर्थिक वर्ष २०७३/०७४ कैलालीमा दुई सय ७३ जना औंलोरोगी रहेका थिए भने गत आर्थिक वर्ष २०७४/०७५ मा तीन सय बढी बिरामी रहेका थिए । चिकित्सकहरूका अनुसार औंला रोगका बिरामीहरू उपचारका लागि सरकारी भन्दा बढी निजी क्लिनिक जाने गरेका छन् ।
औंलो रोग प्लाज्मोडियम भाइवेक्स, प्लाज्मोडियम मलेरिया, प्लाज्मोडियम ओभेल र प्लाज्मोडियम फाल्सिफारम गरी चार जातका परजिवीवाट सर्ने गर्दछ । प्लाज्मोडियम फाल्सीफारम जातको औंलोले मानिसको मस्तिष्कमा समेत आक्रमण गर्न सक्ने हुनाले मानिसको ज्यान समेत जानसक्ने चिकित्सकहरू बताउछन् ।
औंलो रोगको उपचारको लागि विभिन्न थरीका औषधिहरू नेपाल सरकारको तर्फवाट नि:शुल्क रूपमा विभिन्न स्वास्थ्य संस्थाहरूमा उपलब्ध छन् । परजीवीको प्रकारअनुसार रोगको उपचार पनि छुट्टाछुट्टै हुने गर्दछ । स्वास्थ्य कर्मीको सल्लाह बमोजिम पूर्णरूपमा औषधि सेवन गर्नपर्ने हुन्छ ।
औंलोका रोगीहरू वर्षायाममा बढी देखिने भएकाले सर्तक रहन जरुरी भएको चिकित्सकहरूको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार