१२ श्रावण २०८१, शनिबार

जडिबुटी दिवसमा औषधिका विरुवा रोपिए



धनगढी । जडिबुटी दिवसका अवसरमा शनिबार धनगढी, टीकापुर लगायत विभिन्न ठाउँमा बहुमूल्य तथा लाभकारी औषधिका विरुवा रोपिएका छन् ।
धनगढीमा भएको एक कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय परिसरमा गुर्जो र एलोबेराका विरुवा रोपियो ।
मुख्यमन्त्री त्रिलोचन भट्ट र प्रदेशका प्रमुख सचिव लक्ष्मीराम पौडेलले गुर्जो र एलोबेराका विरुवा रोपेका थिए ।
सो अवसरमा आचार्य शिरोमणि बालकृष्णजी महाराजको ४७ औं जन्मोत्सव पनि मनाइयो । कार्यक्रममा मुख्यमन्त्री भट्टले प्रदेशमा जडिबुटी, कृषि, पर्यटन र जलश्रोतलाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।
सो अवसरमा पतंजली योग समिति नेपालका सहकेन्द्रीय प्रभारी मदनराज पाण्डे र प्रदेश प्रभारी काशीनाथ भट्टले जडिबुटी दिवसको महत्त्वबारे प्रकाश पारेका थिए । कार्यक्रममा पतंजली योग समितिका पदाधिकारी र योग प्रशिक्षक तथा साधक, साधिकाहरूको उल्लेख्य संख्यामा सहभागिता रहेको थियो ।
उता, कैलालीको टीकापुरमा शनिबार जडिबुटी दिवसका अवसरमा बहुगुणी अमृत विरुवा रोपिएको छ ।
पतञ्जली योग समितिका प्रदेश ७ सदस्य तारा खरेल, कैलाली जिल्ला महिला अध्यक्ष पुष्पा कुँवर, टीकापुर योगाश्रमका अध्यक्ष मुक्तिनाथ रेग्मीले एक कार्यक्रमबीच एक/एक बोट अमृत रोपेका थिए ।
कार्यक्रममा योग प्रशिक्षक तथा साधक साधकसाधिकाको ठूलो संख्यामा सहभागिता रहेको थियो । स्थानीय मल्लिका विद्यापीठ गुरुकुल हातामा ती विरुवा रोपिएको थियो । सो अवसरमा मेन्था, धृतकुमारी लगायतका विरुवा समेत रोपियो ।
गुरुकुलका सञ्चालक टीकाराम आर्यले बहुगुणी अमृत हुर्काउन कठिन भए पनि हुर्किसकेपछि एक सय ५० वर्षसम्म फल दिने गरेको जानकारी दिए । उनले द्वापर युगमा भगवान श्रीकृष्णलाई अमृत विरुवामा झुला टाँगेर खेलाउने गरिएको किंवदन्ती भएको चर्चा गरे ।
अमृतका पातदेखि जरासम्म सम्पूर्ण भाग औषधिको रूपमा प्रयोगमा हुने गरेको छ । यो विरुवा डिप्रेसन, रक्तचाप, स्मरण शक्ति ह्रास, मुटु रोग, लामखुट्टेले टोकेर लाग्ने रोगको निवारणमा लाभदायक रहेको आर्यले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार