१२ श्रावण २०८१, शनिबार

दैविप्रकोपका घटनामा २९ को मृत्यु : ज्यान गुमाउनेमा बझाङमा सबैभन्दा बढि



धनगढी । पछिल्ला चार महिनाको अवधिमा दैविप्रकोपका विभिन्न घटनामा प्रदेश ७ मा २९ जनाको ज्यान गएको छ । प्रदेश सातमा दैविप्रकोपका घटनामा सबैभन्दा बढी बझाङमा जनधनको क्षति भएको छ ।
राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार चार महिनाको अवधिमा दैविप्रकोपका घटनाबाट प्रदेश सातका विभिन्न जिल्लामा २२ जना घाइते भएका छन् ।
आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार प्रदेशमा पहिरोमा परि छ जनाको मृत्यु भएको छ । त्यस्तै, बाढीबाट आठ जना, हावाहुरिबाट दुई, नदीखोलामा डुबेर १२ जना र भारी वर्षाका कारण एक जनाको मृत्यु भएको छ ।
सात नम्बर प्रदेशमा विपद्मा १६ जना महिला र १३ पुरुषको मृत्यु भएको छ । त्यस्तै, विभिन्न दैविप्रकोपका विभिन्न घटनामा १२ महिला र १० जना पुरुष घाइते भएका छन् ।

फाइल तस्बिर

केन्द्रको तथ्यांकअनुसार भारी वर्षासँगै बाढी, पहिरो, डुवान, हावाहुरी, लगायतका घटनामा तीन सय ३९ जना प्रभावित भएका छन् । त्यस्तै, १४ वटा घरमा पूर्ण क्षति भएको छ भने दुई सय ५२ घरमा आंशिक क्षति पुगेको छ । त्यस्तै, छ गोठ भत्किनुका साथै ४१ वटा पशुचौपायामा क्षति पुगेको छ ।
चार महिनाको अवधिमा दैविप्रकोपका विभिन्न घटनामा बझाङमा ज्यान गुमाउनेको संख्या सबैभन्दा अधिक रहेको छ । बझाङमा आठ जना पुरुष र छ महिला गरी १४ जनाले ज्यान गुमाएका छन् । भने दुई जना घाइते भएका छन् ।
त्यसैगरी, कैलालीमा सात महिला र एक पुरुष गरी आठ जनाको मृत्य भएको छ । कैलालीमा दुई पुरुष र एक महिला गरी तीन जना बेपत्ता अवस्थामा रहेका छन् । राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार दैविप्रकोपका विभिन्न घटनामा कञ्चनपुरमा दुई पुरुष र तीन महिला गरी पाँचको मृत्यु भएको छ । भने दुई पुरुष र एक महिला गरी चार जना घाइते भएका छन् । त्यस्तै, बैतडी र दार्चुला जिल्लामा पहिरो र बाढीमा परि एक/एक जना पुरुषको मृत्यु भएको छ ।
प्रदेशको बाजुरा र अछाममा यो चार महिनाको अवधिमा दैविप्रकोपबाट मानवीय क्षति भएको छैन । तर, ती जिल्लामा दुई लाख १९ हजार रुपैयाँ मूल्य बराबरको धनमालको क्षति भएको छ ।
केन्द्रको तथ्यांकअनुसार कैलालीमा भारी वर्षामा परि एक महिलाको मृत्यु भएको थियो भने नदीमा डुबेर एक पुरुष र तीन महिलाले ज्यान गुमाएका थिए । त्यस्तै, कैलालीमा हावाहुरीबाट दुई महिला र पहिरोमा पुरिएर एक महिलाको मृत्यु भएको छ ।
कैलालीमा हावाहुरीका कारण एक सय ७० घर प्रभावित भएका थिए भने एक सय ६५ मा आंशिक क्षति पुगेको उल्लेख छ । भारी वर्षाका कारण एक घर पूर्ण क्षति पुगेको उल्लेख छ ।
त्यस्तै, बझाङमा पहिरोमा परि दुई पुरुष र दुई महिला गरी चार जनाले ज्यान गुमाएका थिए । भने, बाढीबाट पाँच पुरुष र तीन महिला गरी आठ तथा नदीमा डुवेर एक महिला र एक पुरुषको मृत्यु भएको थियो ।
कञ्चनपुरमा नदीखोलामा डुवेर दुई पुरुष र तीन महिलाको मृत्यु भएको थियो भने दार्चुलामा पहिरोमा परि एक पुरुष र बैतडीमा डुवेर एक पुरुषको मृत्यु भएको केन्द्रको तथ्यांकमा उल्लेख छ ।
तर, प्रदेश सरकारले भने प्रदेशमा चार महिनाको अवधिमा १८ जनाको मृत्यु भएको जनाएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले दिएको तथ्यांकअनुसार पछिल्लो चार महिनाको अवधिमा प्रदेशमा बाढी तथा पहिरोका कारण कैलाली, कञ्चनपुर, बझाङ, डोटी र दार्चुलामा गरि १८ जनाको मृत्यु भएको छ । बाढी तथा पहिरोका घटनामा दुई जनाको अवस्था अझैं अज्ञात रहेको छ ।
आन्तरिक मामिला मन्त्रालयका अनुसार दैविप्रकोपबाट बझाङमा सबैभन्दा बढि १३ जनाको मृत्यु भएको छ । बझाङमा पहिरोमा सात र बाढीबाट छ जनाको मृत्यु भएको छ । बझाङमा नदीमा बगेका दुई जनाको अवस्था अझै अज्ञात छ ।
त्यस्तै, कैलालीमा नदीमा डुबेर दुई जनाको मृत्यु भएको छ । भने कञ्चनपुरमा बाढीबाट एक जना, दार्चुलामा चट्याङ लागेर एक जना र ढुंगाले लाग्दा एक जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार