मुख्यमन्त्रीद्वारा सुरक्षा अवस्थाबारे छलफल
धनगढी । प्रदेश नम्बर ७ का माननीय मूख्यमन्त्री त्रिलोचन भट्टले सुरक्षा निकायका प्रमुखहरूसँग प्रदेशको सुरक्षा अवस्थाको बारे छलफल गरेका छन् ।
मुख्यमन्त्री भट्टले शुक्रबार सुरक्षा अधिकारीहरूसँग प्रदेशका विभिन्न जिल्लामा पछिल्लो केही समययता भएका अपराधिक घटनाका बारेमा जानकारी लिनुका साथै शान्तिसुरक्षाको अवस्था सुदृढ गर्न निर्देशन पनि दिएका छन् ।
मुख्यमन्त्रीको स्वकीय सचिवालयले प्रेषित गरेको जानकारी अनुसार प्रदेशका विभिन्न स्थानमा पछिल्ला दिनमा भएका बलात्कार, हत्या, चोरी, ठगी, आदिका घटनाको अनुसन्धानमा भइरहेको प्रगतिबारे सुरक्षा अधिकारीहरूसँग जानकारी लिएका थिए । मुख्यमन्त्रीले कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर २ महुलिया, उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि निर्मम हत्याको घटनामा भइरहेको अनुसन्धानबारे विशेष जानकारी लिएको उनको स्वकीय सचिवालयले जनाएको छ ।
मुख्यमन्त्रीको कार्यालयमा भएको छलफलमा कैलाली र कञ्चनपुरका सुरक्षा निकायका प्रमुखहरूले विभिन्न अपराधिक घटनामो छानबिनको अवस्था तथा सुरक्षा प्रबन्धबारे जानकारी दिएका थिए ।
सो अवसरमा मुख्यमन्त्रीले प्रदेशमा अपराधिक घटना कडाईका साथ नियन्त्रण गर्दै आम जनालाई शान्तिसुरक्षाको प्रत्याभूति दिलाउन गम्भीरताका साथ काम गर्न निर्देशन दिएका थिए ।
सुरक्षा अधिकारीहरूसँगको छलफलमा मुख्यमन्त्री भट्टले जनताको जिउ, धनको सुरक्षा गर्नु प्रदेश सरकारको प्रमुख दायित्व भएको दोहोर्याउँदै शान्ति सुरक्षा कायम गर्न गराउन सजग भएर काम गर्न निर्देशन दिएका थिए ।
उनले बालिका बलात्कार तथा हत्याका घटनामा बृद्धि भइरहेको प्रति चिन्ता व्यक्त गर्दै घटनामा संलग्न दोषीहरूलाई छिटो पक्राउ गरी कडा कानुनी कारवाही प्रक्रिया अघि बढाउन पनि निर्देशन दिएका थिए । सो अवसरमा सुरक्षा अधिकारीहरूले मूख्यमन्त्री भट्टलाई पछिल्लो सुरक्षा अवस्थाको बारेमा जानकारी गराउँदै सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी सबै सुरक्षा संयन्त्र परिचालन गरिएको जानकारी दिएको मुख्यमन्त्रीको स्वकीय सविालयले जनाएको छ ।