गैससको नामबाट ठगीको जालो : तीन महिला प्रहरी नियन्त्रणमा
धनगढी । दलितमैत्री गरिबी निवारण (फेडो) नामक गैरसरकारी संस्थाको सहजकर्ता भन्दै रकम असुली गरी सयौं जनालाई ठगी गरेको आरोपमा प्रहरीले प्रक्राउ गरेका तीन जना महिलालाई बिहीबार सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी पक्राउ परेका कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ५ गेटाकी कल्पना बोगटी (३२), कञ्चनपुर कृष्णपुर नगरपालिका वडा नम्बर ८ की दुर्गा भट्ट (२२) र सोही ठाउँकी सुनिता भण्डारी (२३) लाई सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी नायव उपरीक्षक हरिबहादुर ओलीले पक्राउ परेका महिलाहरूले अहिलेसम्म एक सय ८१ जनाबाट १३ लाख ५० हजार रुपैयाँ ठगी गरेको उजुरी आएको र अन्यबाट उजुरी आउने क्रम जारी रहेको जानकारी दिए । ती महिलाहरूले कैलाली जिल्लाको गौरीगंगा नगरपालिाकाको वडा नम्बर १, २ र ३, धनगढी उपमहानगरपालिकाको वडा नम्बर १४ र १८ मा र कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिकाका विभिन्न वडामा गई गाउँ–गाउँमा १० देखि ३५ जनाको समूह गठन गरी प्रतिव्यक्ति फारमवापतको रकम भन्दै पाँच सय र कुखुरा पालनको धरौटी वाफत एकहजार रुपैयाँ लिने गरेको अनुुसन्धानबाट खुलेको बताइएको छ ।
त्यस्तै, बाख्रा पालनमा तीन हजार, भैसी पालनमा पाँच हजार रुपैयाँ धरौटी माग गरी थप ब्यूटिपार्लर र सिलाइकटाइको कार्यक्रमसमेत ल्याउने भन्दै महिलाहरूबाट रकम असुली गरी ठग्दै आएका थिए । तीन महिनाभित्र विभिन्न शीर्षकमा तालिम सञ्चालन गर्ने भन्दै रकम असुली गरे पनि कुनै कार्यक्रमहरू भने नगरेको प्रहरीले जनाएको छ ।
रकम असुली गरे पनि कुनै पनि कार्यक्रम नभएपछि महिलाहरूले उनीहरूलाई आफ्नो रकम फिर्ता दिन माग गरेका थिए । तर, उनीहरू रकम फिर्ता दिनको साटो भाग्दै हिडेपछि प्रहरीमा उजुरी आएको र प्रहरीले उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको प्रहरी नायव उपरीक्षक ओलीले बताए ।
उनका अनुसार ती महिलाहरूले दलतमैत्री गरिवी निवारण (फेडो) नामक संस्थामा आवद्ध रहेको भन्दै महिलाहरूबाट पैसा असुली गरिरहेका थिए । प्रहरीले रकम उठाउन प्रयोग गरेको फारम, डायरी, कार्यालय सञ्चालन गरेको स्थान धनगढी उपमहानगरपालिका–१४, डिपो बजारबाट कुर्सी, टेबुल, गरिबी निवारणको बोर्ड, छाप बरामद गरेको छ ।
पक्राउ परेका तीन जनालाई ठगी मुद्दा मुलुकी ऐन ठगीको महलको १ नम्बर विपरीत कसुर अपराधमा सोही ऐनको ४ नम्बर बमोजिम हक पुग्नेलाई विगो भराइ दिइ पाँच वर्षसम्म कैद सजायको व्यवस्था रहेको छ ।
किर्ते सरकारी कागजात बनाएर ठगी गर्ने दुई जना पक्राउ
किर्ते सरकारी कागजात बनाएर ठगी गर्दै आएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मिलनचोकमा विकास सेक्यूरिटी सर्भिसेज प्रालि सञ्चालन गरिरहेका कञ्चनपुरको पूर्नवास नगरपालिका वडा नम्बर ५ का ४६ वर्षीय धनबहादुर गुरुङ र उनका सहयोगी २८ वर्षका टीकाराम चौधरीलाई पक्राउ गरेको जनाएको छ ।
उनीहरूलाई नक्कली सरकारी कागजात तयार पार्ने गरेको भन्दै पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गुरुङ १९ वर्षसम्म नेपाली सेनामा जागिर गरेर जम्दार पदबाट सेवानिवृत व्यक्ति हुन् । उनी २०६७ सालबाट सेवा निवृत्त भएका हुन् ।
कैलालीका प्रहरी नायव उपरीक्षक हरिबहादुर ओलीले भने– “विकास सेक्युरिटी स्थापना भएदेखिनै यस्तो काम भइरहे पनि अहिले हामीले सप्रमाण पक्राउ गर्न सफल भयौं ।” प्रहरीले गुरुङको कार्यालयबाट नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी, एउटा नगरपालिका तथा दुई वटा विद्यालयको नक्कली छाप र कागजात बरामद गरेको छ ।
नेपाली सेनाको जंगी अड्डा, नेपाल प्रहरीको प्रधान कार्यालय तथा सशस्त्र प्रहरीको मुख्यालयको नक्कली छाप र कागजात उनीबाट बरामद गरिएको प्रहरीले जनाएको छ । त्यस्तै, कैलाली, कञ्चनपुर र सुर्खेत गरी तीन जिल्लाका जिल्ला प्रहरी कार्यालयको नक्कली छाप र लेटरप्याड पनि बरामद गरिएको छ ।
प्रहरीले प्रधानाध्यापकको छाप, विभिन्न १४ व्यक्तिको किर्ते छाप र दस्तखत लगाएर तयारी अवस्थामा रहेका चारित्रिक प्रमाण, कागज किर्ते बनाउन प्रयोग गरिएको कम्प्युटर सेट, रंगिन प्रिन्टर, भारत पठाउनुपूर्व लिएका एक सय सात व्यक्तिको नागरिकता समेतका कागजात, भारत रोजगारका लागि पठाइएका एक सय १९ व्यक्तिको नाममा गरिएका जीवन विमा पोलिसी बरामद गरेको छ ।
विकास सेक्युरिटीले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका सेवा निवृत्त कर्मचारीहरूलाई भारतका शहरमा सेक्युरिटी गार्डका रूपमा रोजगारमा पठाउने गरेको छ ।
प्रहरी नायव उपरिक्षक ओलीका अनुसार उनीहरूमाथि सरकारी कागजात किर्ते अन्तर्गत मुद्दा दर्ता गरेको छ । सो अनुसार एक वर्ष कैद र क्षति खुलाउन सकेमा विगोसहित जरिवाना र कैदको व्यवस्था रहेको छ ।