११ श्रावण २०८१, शुक्रबार

प्रदेश ७ को स्थायी राजधानी र नामांकरणका लागि विशेष समिति गठन



धनगढी । प्रदेश ७ को स्थायी राजधानी र नामांकरणको लागि विशेष सुझाव समिति गठन गरिएको छ । सोमबारको संसद बैठकमा सभामुख अर्जुनबहादुर थापाले प्रदेशको स्थायी राजधानी तोक्न र नामाकरणका लागि प्रतिबेदन पेश गर्न प्रदेश सांसद तारालामा तामाङको संयोजकत्वमा ५ सदस्यीय विशेष सुझाव समिति गठन गरिएका हुन् ।
एक महिनाअघि प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रदेश सभा सञ्चालन भएको लामो समय बितिसक्दा पनि राजधानीको स्थान र नामाकरणबारे छलफल सुरु नभएको भन्दै संसद सचिवालयमा प्रस्ताव दर्ता गराएको थियो ।
आर्थिक वर्ष २०७५÷०७६ को बजेट निर्माण लगायतका कारण त्यतिबेला स्थायी राजधानी र नामांकरण बारे छलफल गर्न नभ्याएको हो । अब स्थायी राजधानी तोक्न नामांकरण सम्बन्धमा पाँच सदस्यीय समिति गठन गरिएकोले निकट भविश्यमा नै प्रदेश ७ ले स्थायी राजधानी र नाम पाउने सभामुख थापाले बताए ।
स्थायी राजधानी र नामांकरणका लागि सांसद लामाको संयोजकत्वमा गठित विशेष सुझाव समितिको सदस्यमा प्रदेश सांसद प्रेमप्रकाश भट्ट, बलदेब रेग्मी, श्यामलाल राना र चुनकुमारी चौधरी रहेका छन् । समितिमा रहेका श्यामलाल राना नेपाली काँग्रेसका तर्फबाट निर्वाचित सांसद हुन भने अन्य सबै नेकपाबाट निर्वाचित सांसद हुन ।
गठित समितिलाई यहि साउन २१ गतेभित्र सरोकारवाला सबै पक्षसँग उपयुक्त छलफल गरि प्रतिबेदन पेश गर्ने जिम्मेवारी दिइएको सभामुख थापाले बताए । समितिका संयोजक तारालामा तामाङले सभामुखसँग परामर्श गरि कार्यबिधि तयार गर्ने र तोकिएकै समयसिमाभित्र सरोकारवाला सबै पक्षसँग छलफल गरि विवाद रहित स्थान र नामांकरण सहित प्रतिवेदन पेश गर्ने बताए ।
हाल प्रदेश ७ को अस्थायी राजधानी कैलालीको धनगढीमा रहेको छ । स्थायी राजधानीका लागि धनगढीका अलावा कैलालीको अत्तरिया र डोटी जिल्लाको दीपायलको नाममा चर्चामा रहेको छ भने प्रदेशको नामका लागि खप्तड, सेतीमहाकाली, सेतीकाली, मानसखण्डको चर्चा छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार