३० भाद्र २०८१, आईतवार

प्रदेश सभा बैठक : सांसदहरूको गम्भीर चिन्ता प्रदेशमा जघन्य अपराधका घटनामा बृद्धि



धनगढी । प्रदेश सातका प्रदेश सभा सदस्यहरूले पछिल्ला केही समययता प्रदेशमा हत्या, बलात्कार लगायतका जघन्य अपराधका घटनामा बृद्धि भइरहेकोप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
प्रदेश सभा सदस्यहरूले जघन्य अपराधका घटनामा निरन्तर बृद्धि आइरहे पनि सरकारले नियन्त्रणका लागि ठोस पहल गर्न नसकेको आरोप लगाएका छन् । प्रदेश सांसदहरूले प्रदेशका विभिन्न जिल्ला तथा स्थानमा बाढीपहिरो सहित प्राकृतिक विपद्बाट जनधनको क्षति भएकोमा पनि चिन्ता व्यक्त गरेका छन् ।
प्रदेश सभाको आइतबारको बैठकमा विशेष समय लिएर सांसदहरूले हत्या, बलात्कार, विपद् लगायतका घटनामा सरकारको भूमिका प्रभावकारी हुननसकेको बताए । प्रदेश सभामा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका संसदीय दलका नेता रणबहादुर रावलले केही समययता हत्या, बलात्कार, विपद्का घटनामा भएको जनधनको क्षतिप्रति प्रदेश सरकारको ध्यान जान नसकेको आरोप लगाए । उनले प्रश्न गरे– ‘भारी बहुमत प्राप्त सरकार आज जनताको सुरक्षाको हकमा के गरिरहेको छ ? उनले प्रदेश सरकार जनतालाई शान्तिसुरक्षाको प्रत्याभूति दिन सरकार विफल भएको आरोप लगाए । भने– घटनालाई ढाकछोप गर्न मात्रै राज्यको ढुकुटी सिध्याउन मात्रै लागि रहेका छन् ।
प्रमुख प्रतिपक्षी दलका नेता रावलले सरकारका मन्त्रीहरू शान्तिसुरक्षा सम्बन्धी मिटिङ, सभा र भोजभतेरमा मात्रै व्यस्त रहेको आरोप लगाए ।
प्रतिपक्षी नेता रावलले भीमदत्त नगरपालिका वडा नम्बर २ उल्टाखामका १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या गरिएको घटनामा संलग्न दोषिहरूलाई तत्काल पक्राउ गरि कडा कारवाही गर्न तथा पीडित परिवारलाई क्षतिपूर्ति दिन माग गरे ।
प्रदेश सभामा सत्तापक्षका प्रमुख सचेतक तारा लामा तामाङले प्रदेशमा केही समययता बढिरहेको जघन्य अपराधका घटना कडाईका साथ नियन्त्रणका लागि सरकारले विशेष योजना लागू गर्न माग गरे ।
सत्तापक्षकै सांसद प्रकाशबहादुर रावलले प्रदेशमा आगामी दिनमा हुन सक्ने सम्भावित अपराधका घटना न्यूनीकरण र हालसम्म भएका घटनाको सत्यतथ्य छानविन गरी अपराधीलाई कारवाहीको दायरामा ल्याउन प्रदेश सरकारले ठोस पहल गर्नुपर्ने बताए ।
सत्तापक्षका अर्का सांसद देवकी मल्ल थापाले प्रदेशका अधिकांस स्थानमा विपद्का कारण धनजनको क्षति भए पनि प्रदेश सरकारले राहतको व्यवस्था गर्न नसकेको गुनासो गरिन् । उनले प्रदेश सरकारले यथाशिघ्र विपद्मा धनजनको क्षति व्यहोरेका जनतालाई प्रदेश सरकार भएको महसुस हुने गरी काम गर्न आग्रह गरिन् ।
आइतबारको प्रदेश सभा बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले प्रदेशमा बैशाख यता भएका जघन्य अपराध तथा विपद्का घटनाबाट भएको धनजनको क्षतिबारे संसदलाई जानकारी गराएका थिए । मन्त्री शाहले प्रदेशमा भएका विपद्का घटनामा पीडित भएका नागरिकलाई स्थानीय प्रशासनबाट राहत उपलब्ध गराइरहेको बताए ।
आइतबारको बैठकमा विधायन तथा प्रदेश मामिला समितिका जेष्ठ सदस्य कृष्णराज सुवेदीले प्रदेश सभामा गाउँ सभा र नगर सभाको कार्य सञ्चालन गर्न बनेको विधेयक–२०७५ र जिल्ला सभा तथा जिल्ला समन्वय समिति सम्बन्धमा बनेको विधेयक–२०७५ माथि दफावार छलफलको कार्य समाप्त भएपश्चात तयार पारिएको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रदेशको अर्को बैठक आज दिउँसो १ बजे बस्ने प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार