१२ श्रावण २०८१, शनिबार

बिरामी र आफन्तको गुनासो– सरकारी अस्पतालमा राम्रो व्यवहार नै पाइदैन



धनगढी । कञ्चनपुरकी एक महिला आफ्नी आठ वर्षीया बलात्कृत छोरीलाई लिएर साउन चार गते अस्पताल पुगिन । तर, अस्पतालमा चिकित्सकहरूको व्यवहार देखेर अच्चमित परिन ।
“अस्पतालमा छोरीको चेकजाँच राम्रोसँग होला भनेर गएकी थिए, तर चिकित्सकले नै थप पीडा दिए” ती महिलाले त्यो दिन स्मरण गर्दै भनिन्– “छोरीलाई धेरै पीडा भइरहेको थियो । केही औषधि लेखेर दिन्छन् की भनेर बेडमा बसिरहेको थिए, एक्कासी ती चिकित्सक झोक्किएर बोल्न थाले । ‘तपाईको छोरीलाई केही भएको छैन । घर जानुस । पटक–पटक आउने काम नगर्नुहोस् ।”
उनले अस्पतालमा छोरीले राम्रो उपचार नपाएकोमा नभएर चिकित्सकको व्यवहारले पीडा दिएको बताइन् । उनी त्यो दिनपछि (१० गते) बिहीबार मात्र एक संस्थाको सहयोगमा छोरीलाई लिएर अस्पताल आएकी थिइन् । उनले भनिन्– “अस्पतालमा चिकित्सकको त्यस्तो व्यहोरा देखेपछि आफ्नै क्षेत्रमा रहेको पोलिक्लिनिकमा छोरीको चेकजाँच गराए ।”
धनगढी उपमहानगरपालिका वडा नम्वर ८ की गौरी अधिकारीलाई मंगलबार राति अत्याधिक ज्वरो आएपछि उपचारका लागि आफन्त र उनकै घरमा डेरा गरी बस्नेहरूले सेती अञ्चल अस्पताल पुर्‍याए । “मध्यरात १२ बजे बिरामी गौरीलाई बोकेरै अस्पताल पुर्‍याउँदा इमर्जेन्सी वार्डामा एक जना डाक्टर रहेको र बिरामीका कुरुवाहरूले उहाँसँग चेकजाँचका लागि अनुरोध गरिरहेको” बिरामी कुरुवा तीर्थराज भट्टले आफ्नो फेसबुकमा लेखेका छन् ।

फाइल तस्बिर

उनले भनेका छन्– “डाक्टरले केही बेरमै आफूले हेरिसकेको बताउनुभयो । टाढैबाट विरामीलाई हेरेका थिए । न जाँच गरे न के समस्या थियो त्यसको बारेमा नै जानकारी दिए ।” उनले डाक्टरले ज्योतीषको जस्तै टाढैबाट बिरामीलाई हेरेर चेकजाँच गरेको जवाफ दिए ।
गौरीको ज्वरो ठिक हुनुको सट्टा झन् बढ्दै गएपछि इमर्जेन्सी वार्डमा ओजेटी गर्न आएका प्रशिक्षार्थी स्वास्थ्यकर्मी मात्रै थिए र उनलाई भए पनि चेकजाँच गरिदिन कुरुवाले आग्रह गरे । ती प्रशिक्षार्थी स्वास्थ्यकर्मीले अलि–अलि हेरेजस्तो गरे र पर्चीमा एउटा औषधि पनि लेखिदिए । राति सबै क्लिनिकहरू बन्द भएपछि औषधि कहाँ पाइन्छ ? भन्ने प्रश्न सोध्नका लागि पुन: इमर्जेन्सी वार्ड धाएका ती कुरुवाले त्यहाँ न चिकित्सक भेटाए, न प्रशिक्षार्थी स्वास्थ्यकर्मी भेटाए, न त अस्पतालमा कार्यरत एक जना स्वास्थ्यकर्मी नै ।
कञ्चनपुरको पुनर्वास नगरपालिकाकी नरमाया विकले सेती अञ्चल अस्पतालको सामाजिक स्वास्थ्य ईकाइबाट औषधि सिफारिस गराई फार्मेसीमा औषधि लिन गइन् । तर, उनले फार्मेसीबाट कुनै औषधि नपाएको बताइन् । “फार्मेसीमा सामान्य सिटामोल पनि छैन भनेर फिर्ता पठाए” उनले भनिन्– “नजिकको क्लिनिकबाट औषधि किनेर ल्याए ।”
अस्पतालमा चिकित्सकले बिरामीसँग राम्रो व्यवहार नगर्नु, अस्पतालमा उपचारका लागि आएका बिरामीले राम्रोसँग उपचार नपाउनु, फार्मेसीमा औषधि नपाउनु लगायतका कारणले अस्पतालप्रति आम नागरिकको विश्वास कम हुने गरेको छ ।
“धनी व्यक्ति त बाहिर सुविधायुक्त अस्पतालमा गएर पनि ठूलो रकम खर्च गरेर सेवासुविधा लिन सक्छन्” नरमायाले भनिन्– “हामी जस्ता गरिब अस्पतालमा राम्रो उपचार पाइन्छ भनेर आउछौं, तर डाक्टर र अस्पताल व्यवस्थापनको कमजोरीका कारण दु:ख पाउनुपर्छ ।”
सेती अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर सजन केसीले अस्पतालमा कार्यरत कर्मचारीहरूलाई बिरामीसँग नराम्रो व्यवहार नगर्न आग्रह गरिरहेको बताए । उनले प्रदेशकै रेफरल अस्पताल भएकाले व्यवस्थापनमा केही कमजोरी रहेको स्वीकारे । “अस्पतालमा दैनिक दुई सयदेखि तीन सयसम्म बिरामीहरू आउँछन्” उनले भने– “जनशक्ति, भवन र स्रोत साधनको कमीले अस्पताल व्यवस्थापनमा कमजोरी देखिएको छ ।” उनले सेती अञ्चल अस्पताललाई प्रदेशको सुविधासम्पन्न अस्पताल बनाउन आवश्यक रहेको बताए ।

मानवअधिकार निगरानी समूहले छलफल गर्ने
सेती अञ्चल अस्पतालमा भइरहेको कमीकमजोरीबारे मानवअधिकार निगरानी समूहले छलफल गर्ने भएको छ ।
बिहीबार बसेको समूहको बैठकले सेती अञ्चल अस्पतालमा चिकित्सक तथा अन्य कर्मचारीको दुव्र्यवहार, सामाजिक ईकाइबाट पाउने औषधि बिरामीले नपाउने लगायतका विषयमा अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर सजन केसीलाई भेटेर छलफल गर्ने निर्णय गरेको जनाइएको छ ।
स्वास्थ्य बिमा गरेका व्यक्तिहरूले अस्पतालको फार्मेसीमा औषधि नपाउँदा बाहिर क्लिनिकबाट किन्नु पर्ने बाध्यता रहेको सिविन नेपालकी मथुरा कुँवरले बताइन् ।
त्यस्तै, केही दिनअघि कञ्चनपुरको पुनर्वासमा बलात्कृत बालिकालाई उचित न्यायका लागि आवश्यक पहल गर्ने निर्णय गरेको छ । भारतको सीमावर्ती बजारबाट सामान किनेर घर आउने क्रममा कञ्चनपुरका अन्दाजी २४ वर्षीय सलिम अन्सारीले बलात्कार गरेको बताइन्छ । प्रहरीले सलिमलाई पक्राउ गरेको छ, तर पीडितका आफन्तले भने प्रहरीले अनुसन्धान फितलो पार्ने प्रयास गरिरहेको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार