२ जेष्ठ २०८१, बुधबार

सरकार शहरमुखी र व्यापारीमुखी शिक्षा विधेयक ल्याउन खोज्दैछ– नेता सिंह



धनगढी । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सरकारले शहरमुखी र व्यापारीमुखी चिकित्सा शिक्षा विधेयक ल्याउन खोजेको आरोप लगाएका छन् ।
“देश नयाँ संरचनामा गइसकेको छ । हरेक प्रदेशमा सरकारी मेडिकल कलेज, गुणस्तरीय स्वास्थ्य संस्था खोल्नुपर्छ” शुक्रबार धनगढी विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता सिंहले भने– “तर, अझै सरकार शहरीमुखी र व्यापारीहरूलाई पोस्ने ढंगले विधेयक ल्याउने जिद्दी गरिरहेको छ ।
उनले चिकित्सा शिक्षा विधेयक नेकपा सरकारले आफ्नै पार्टी, कार्यकर्ता, लगानीकर्ताहरूलाई बढुवा दिने गरी तोडमोड गरेर ल्याउन लागेको बताए । नेता सिंहले भने– “डाक्टर गोविन्द केसीका माग जायज छन् । उनले मेडिकल कलेज शहर र केन्दमा मात्र होइन् गाउँ–ठाउँमा पनि खुल्नु पर्छ भनेका छन् । सरकारले उनको जीवन रक्षा गर्नुपर्छ र अघिल्लो सरकारले ल्याएको चिकित्सा शिक्षा अध्यादेश हुवहु ल्याउनुपर्छ ।” नेता सिंहले माथेमा आयोगले दिएको सुझावलाई अंगिकार नगरी सरकार बहुमतको दम्भमा अगाडि बढिरहेको आरोप लगाए । उनले विधेयक तोडमोड गरेर ल्याएमा र आम नागरिकको चाहनाविपरित काम गरेमा नेपाली काँग्रेसले सडकदेखि सदनसम्म सशक्त ढंगमा आन्दोलन गर्ने चेतावनी दिए ।
उनले माथेमा आयोगको प्रतिवेदन अनुसार विधेयक जारी भएमा अस्पतालको गुणस्तर, आम गरिब नागरिकको शिक्षामा पहुँच र शिक्षा क्षेत्रमा सुधार हुने बताए ।
उनले वर्तमान सरकार अधिनायकवादी र सर्वसत्तावाढी ढंगले अघि बढेको आरोप लगाए । भने– “कहिले उपकुलपतिलाई एयरपोर्टबाटै फर्काएको छ, कहिले अस्पतालमा काम गरिरहेको डाक्टरलाई जवरजस्ती उठाएर लग्छ भने जायज मागलाई सम्बोधन गर्नुको ठाउँमा दबाउने प्रयास गरिरहेको छ ।” उनले जुम्लामा डा. केसीको समर्थकमाथि प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै लाठीचार्ज गरेको घटनाको निन्दा समेत गरेका छन् ।
सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिँदै नेता सिंहले नेपाली काँग्रेसले चिकित्सा विधेयकमा आफना धारणा सरकारमा रहँदा र प्रतिपक्षमा रहँदा पनि एउटै रहेको स्पष्ट पारे । उनले वर्तमान सरकारले जनताको आशा अनुसार काम गर्न नसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार