३ जेष्ठ २०८१, बिहीबार

प्रतिपक्षको अवरोधपछि संसद बैठक स्थगित



धनगढी । प्रदेश ७ को प्रदेश सभा बैठक प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले अबरुद्ध गरेको छ । शुक्रबार बैठक शुरु हुने बित्तिकै नेपाली काँग्रेसका सांसदहरू आफ्नो स्थानबाट उठेर विरोध गरेपछि सभामुखले बैठक स्थगित गरे ।
सभामुख अर्जुनबहादुर थापाले प्रतिपक्षका सांसदलाई आफ्नो सिटमा बस्न पटक–पटक आग्रह गरे पनि नमानेपछि बैठक स्थगित गरेका थिए ।

फाइल तस्बिर

काँग्रेसले प्रदेश नम्बर ७ मा बैठक अबरुद्ध गरेको यो दोस्रो पटक हो । यसअघि प्रदेश सरकारले आर्थिक वर्ष २०७५/०७६ का लागि ल्याएको बजेटमा असन्तुष्टी जनाउँदै असारको दोस्रो साता पनि काँग्रेसले बैठक अवरुद्ध गरेको थियो ।
शुक्रबारको बैठकमा शुन्य समयमा समसामयिक विषयमा सांसदहरूले धारण राख्ने र गाउँ सभा र नगर सभाको कार्य सञ्चालन गर्न बनेको विधेयक २०७५ माथि दफावार छलफलको कार्य समाप्त भए पश्चात तयार पारिएको प्रतिवेदन सभा समक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको थियो ।
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद भरतबहादुर खडकाले राज्यले विधिको शासनको उपहास गरेकाले संसद बैठक अवरोध गर्नुपरेको बताए ।
उनले आतंककारीको शैलीमा सरकारले डाक्टर गोबिन्द केसीलाई जुम्लाबाट अपहरण गरी काठमाडौं पुर्‍याएको, राज्यका हरेक निकायमा हस्तक्षेप गरिएको लगायत वर्तमान सरकारको नेतृत्वले विधिको शासनको नै उपहास गरिरहेकाले बाध्य भएर संसद बैठक अबरुद्ध गरेको बताए ।
प्रदेश नम्बर ७ नेपाली काँग्रेसले संसदीय दलको कार्यालयले शुक्रबार नै एक विज्ञप्ति प्रकाशीत गरी विभिन्न पाँच बुँदामा आफ्नो विरोध जनाएको छ । संसदीय दलका उपनेता देवराज पाठकद्वारा हस्ताक्षरित विज्ञप्तिमा डाक्टर केसीप्रति राज्यले गरेको व्यवहारदेखि महंगी, भ्रष्टाचार, अशान्ति, हत्या बलात्कारसँगै सरकारको कार्यशैली प्रति भत्र्सना गरिएको छ ।
प्रदेशको आगामी बैठक ७ गते सोमबार दिउसो ३ बजेसम्मका लागि स्थगीत गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार