‘हेलो सिएम’मा गुनासा घट्न थाले
धनगढी । आम जनताका गुनासा सुन्न र तत्काल सम्बोधन गर्ने घोषणा सहित सञ्चालनमा ल्याइएको ‘हेलो सिएम’ कार्यक्रममा गुनासा कम हुन थालेका छन् । प्रदेश नम्बर सात सरकार गठन भएको एक सय दिन पुगेको अवसरमा हेलो सिएम कार्यक्रम लागू गरेको थियो ।
हेलो सिएममा शुरुका दिनमा सर्वसाधारणहरूबाट दैनिक गुनासाको चाङ लाग्ने गरेकामा क्रमश: कम हुँदै गएको बताइन्छ । हेलो सिएम कार्यक्रम शुरु भएको दोस्रो दिन अर्थात् जेठ ८ गते सबैभन्दा बढी २५ वटा गुनासा आएका थिए । जेठ महिनामा ८८ वटा गुनासा प्राप्त भएको जनाइएको छ । तर, गुनासा आउने क्रम घट्दै गएर असार महिनामा जम्म ३१ वटा मात्र गुनासा प्राप्त भएका छन् ।
आम जनताले पठाएका गुनासा सम्बोधन भएर नभई सम्बोधन नभएका कारण गुनासो पठाउन अनिच्छुक हुँदै गएको देखिएको छ । मुख्यमन्त्री कार्यालयका प्रवक्ता विशनसिंह थापाले एउटै व्यक्तिले एउटै विषयमा दुई/तीन पटक पनि गुनासा गर्ने गरेको बताए ।
हेल्लो सिएम कार्यक्रममा ट्राफिक व्यवस्थापन, बन्द विमानस्थल पुन: सञ्चालन, विद्युत आपूर्तिको नियमिता, बैंकिङ सेवा विस्तार, सडकको स्तरोन्नती, शिक्षा, स्वास्थ्य, शान्ति सुरक्षा, सामाजिक सुरक्षा, अख्तियार दुरुपयोग, सुशासन, छाडा पशुचौपाया व्यवस्थापन, सञ्चार, खानेपानी, कृषि, सडक अतिक्रमण नियन्त्रण, तटबन्ध, चोरी निकासी, कुरियर, यातायात कार्यालय, वन र पर्यटन, मूल्यवृद्धि नियन्त्रण, सीमा, दुर्घटना, वातावरण, आर्थिक कारोबार, श्रम लगायतका विषयमा उजुरी परेका छन् ।
‘हेल्लो सिएम’मा सबैभन्दा बढी सडक पूर्वाधार सम्बन्धी गुनासा परेको मुख्यमन्त्री कार्यालयले जनाएको छ । दुई महिनाको अवधिमा सडक पूर्वाधार सम्बन्धी २७ वटा गुनासा आएका छन् ।
त्यस्तै, विद्युत सेवाको नियमति आपूति सम्बन्धी २५, सुशासन सम्बन्धी सात, शिक्षा, शान्ति सुरक्षा र मूल्यबृद्धि सम्बन्धी पाँच/पाँच, सामाजिक सुरक्षा, स्वास्थ्य, वन र पर्यटन सम्बन्धी चार/चार तथा कृषि सम्बन्धी तीन गुनासा प्राप्त भएका छन् ।
त्यस्तै, ट्राफिक व्यवस्थापन, खानेपानी, चोरी निकासी, यातायात कार्यालय र सीमा सम्बन्धी दुई/दुई र एयरपोर्ट सञ्चालन, बैंकिङ सेवा, अख्तियार दुरुपयोग, छाडा पशुचौपाया व्यवस्थापन, सञ्चार, सडक मिचेर घर टहरा निर्माण, कानुनी उपचार, तटबन्ध, कुरियर, विद्यालय, दुर्घटना, बाल शिक्षाको पारिश्रमिक, वातावरण, आर्थिक कारोबार, हुलाक र श्रम सम्बन्धी एक/एक उजुरी परेका छन् ।
मुख्यमन्त्रीको कार्यालयका प्रवक्ता थापाले आएका गुनासाको सम्बोधनका लागि सम्बन्धित कार्यालयलाई जानकारी गराएको बताए । “हामीले अहिलेसम्म आएका उजुरीहरू सम्बन्धित कार्यालयलाई जानकारी गराएका छौं” उनले भने– “ती उजुरीको सम्बोधन भयो वा भएन भन्नेबारे चाही अनुगमन भएको छैन ।” उनले हेलो सिएममा परेका कति उजुरीको सम्बोधन भयो भनेर अहिलेसम्म भन्न सक्ने अवस्था नरहेको बताए ।
मुख्यमन्त्री कार्यालयमा परेको पहिलो उजुरी थियो ‘धनगढी बजारको ट्राफिक व्यवस्थापन गरियोस् ।’ तर, अहिले पनि धनगढीमा यो समस्या यथावत रहेको छ । सवारीको चाप, सडकका दायाँ–बायाँ ठेला टहरा, सडक अतिक्रमण, पार्किङ अभाव लगायतका कारणले धनगढी बजारमा सवारी व्यवस्थापनको चुनौति यथावत रहेको छ ।
कार्यक्रम आरम्भ गर्दा प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भनेका थिए– हेलो सिएममा आएको जनताका गुनासोलाई आवश्यकता अनुसार जरुरी गुनासोलाई चार घण्टाभित्र र सामान्य गुनासालाई बढीमा एक हप्ताभित्र सम्बोधन गर्ने व्यवस्था मिलाएका छौं । उनले हरेक गुनासोको ढिलोचाडो सम्बोधन हुने र समस्या, गुनासो, सुझाव आवश्यक रहेको बताएका थिए ।
जनतालाई सिधै सरकारसँग जोड्ने प्रयासले सञ्चालनमा ल्याईएको कार्यक्रमको मुख्यमन्त्री कार्यालयले अहिलेसम्म उजुरी तथा सम्बोधनका विषयमा छलफल समेत नगरेको जनाईएको छ । प्रवक्ता थापाले भन– “अब केही दिनमा यस विषयमा सरोकारवालाहरूसंग बृहत छलफल गरि प्रभावकारी ढंगले कार्यान्वयन गर्न पहल गरिनेछ ।”
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले १६६०–९१५२७२३ नम्बरको पैसा नलाग्ने टोलफ्रि नम्बर सञ्चालन ल्याएको थियो । प्रदेशका कोही पनि नागरिकले फोन, एसएमएस तथा फयाक्स गरेर आफ्नो समस्या, गुनासो तथा सुझाव प्रदेश सरकारलाई दिन सक्ने गरी व्यवस्था मिलाइएको छ । मुख्यमन्त्रीको कार्यालयले सञ्चालनमा ल्याएको सो सेवा हरेक दिन बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन रहेको जनाइएको छ ।
हेलो सीएम कार्यक्रममा दुर्घटना, विपद्सम्बन्धी घटना र उद्दार, प्रदेशस्थित सार्वजनिक निकायले वितरण गर्ने सेवासुविधामा भेद्भाव गरिएको वा वञ्चित गरिएको, सार्वजनिक निकायबाट प्रदान गरिने सेवासुविधा प्राप्त गर्न अवरोध वा बाधा पुगेको, गैर कानुनी क्रियाकलाप वा त्यस्तो कार्यबाट कुनै व्यक्तिलाई हानी नोक्सानी भएको, संविधान र प्रचलित कानुन प्रदत्त हकअधिकारको उपयोगमा बाधा, अवरोध वा विभेद गरिएमा, भ्रष्टाचारजन्य तथा महिला हिंसा वा अन्य लैगिंक हिंसा सम्बन्धी क्रियाकलाप गरेको लगायतका विषयमा जानकारी गराउन सकिने छ ।