२ जेष्ठ २०८१, बुधबार

पहेंलो घेरा र कालो बादलभित्र सूर्य



धनगढी । मंगलबार बिहान नौ बजे । आकाशमा बादल बाक्लिँदै गयो । एकाएक आकाशमा पहलो घेराभित्र कालो बादल देखापर्‍यो र, कालो बादलको बीचमा मधुरो सूर्य । प्रचण्ड गर्मीयाममा आकाश खुला हुँदा सधैं आगो ओकल्ने सूर्य मंगलबार बिहान नौ बजेदेखि मध्यान्हसम्म कुनै बेला हल्का पहेंलो घेरामा, कुनै बेला निलो घेरामा त कुनै बेला हिउ पग्लिएको हिमाल जस्तो देखिने बादलको घेरामा देखिएको थियो ।

धनगढीको आकाशमा मंगलबार देखिएको सूर्य । तस्बिर : प्रकाशविक्रम शाह

सूर्यको यस्तो रूप कैलाली र कञ्चनपुरबाट देखिएको थियो । मानिसहरूले अचम्म मानेर सूर्यको विभिन्न रूप अवलोकन गरे । बेलौरीका पल्लवराज भट्टले मंगलबार दिउँसो “आज सूर्यको रंग किन यस्तो ?” भन्दै फेसबुकमा फोटो हालेपछि निकै चर्चा भएको थियो । सोमबार डडेल्धुराबाट पनि सूर्यको यस्तै रूप देखिएको बताइएको छ ।
सूर्यको बदलिएको रूपबारे विज्ञहरूले उच्च प्रकारको बादलको समूहका कारण यस्तो दृश्य देखिएको बताएका छन् । कैलालीको अत्तरियास्थित जल तथा मौसम विज्ञान विभाग मातहतको हावापानी कार्यालयका प्रमुख एपी चौरसियाका अनुसार “सूर्यको रंग फरक भएको नभई ‘ग्रुप सेभन’ नामको उच्च प्रकारको बादलले ढाकिएकोले मात्रै सूर्यको रंग फरक देखिएको” हो । उनले भने– “बादलमा पानीको मात्रा धेरै भएको बेला सूर्यको रूपरंग यस्तो देखिन्छ र यस्तो बेला पानी पर्न पनि सक्छ, नपर्न पनि सक्छ ।
उनका अनुसार बादलबीच सूर्य छोपिएको यस्तो अवस्थालाई अंग्रेजीमा ‘सिरो स्टाटस क्लाउड सेभन’ भनिन्छ । उनले भने– “प्रि मनसुन र मनसुनका बेला कहिलेकाही यस्तो अवस्था आउने गर्दछ । यस्तो अवस्था कहिलेकाही दुई दिनसम्म पनि रहन सक्छ ।”
हावापानी कार्यालय प्रमुख चौरासियाका अनुसार बादलका तीन अवस्था हुन्छन्– “उच्च तह, मध्यम तह, र निम्न तह । मंगलबार देखिएको बादल उच्च तहमा पनि उच्च सातको अवस्था हो ।”

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार