३ जेष्ठ २०८१, बिहीबार

विविध कार्यक्रमसहित अन्तर्राष्ट्रिय न्याय दिवस मनाइयो



धनगढी । कैलालीसहित देशभरी विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय न्याय दिवस मनाइएको छ । दिवसको अवसरमा धनगढीमा कैलाली जिल्ला बार एशोसियसन, अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) र एडजस नेपालको संयुक्त आयोजनामा नागरिकको न्यायमा पहुँच र चुनौति विषयक अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
कार्यक्रममा कैलालीका जिल्ला न्यायधिश विष्णुप्रसाद अर्यालले आम नागरिकलाई न्यायको पहुँचमा ल्याउन सबै पक्ष गम्भीर भएर लाग्न अनुरोध गरे । “अदालत एक्लैले जनतालाई न्यायको पहुँचमा ल्याउन सक्दैन” उनले भने– “अर्धन्यायिक समिति, नागरिक समाज, अनुसन्धानमा खटिएको प्रहरी सबै संवेदनशिल हुनुपर्छ । कानुन कार्यान्वयनमा राज्यले ध्यान दिनुपर्छ ।”
उनले संयुक्त राष्ट्रसंघ र यसका सदस्य राष्ट्रहरूको पहलमा रोम विधानमार्फत एक स्थायी प्रकृतिको अन्तराष्ट्रिय फौजदारी अदालतको स्थापना भएको स्मरण गराउँदै रोम विधानलाई नेपाल सरकारले अनुमोदन गर्नुपर्ने बताए । उनले सरकारलाई यो (रोम) विधान अनुमोदन गराउन नागरिक समाज, संघ/संस्थाको दवाव आवश्यक रहेको बताए ।
कार्यक्रममा कैलाली जिल्ला बारका पूर्व अध्यक्ष गंगाराम पाध्याले नेताहरूमा रोम विधान अनुमोदन भएमा अभियोग लाग्ने डर छाएको बताए । उनले रोम विधान पारित नगरेर सरकार नागरिकप्रति उत्तरदायी नभएको आरोप लगाए ।
अधिवक्ता रमेश भट्टले आर्थिक अवस्था कमजोर तथा चेतनाको कमीका कारण नागरिकलाई न्यायको पहुँचमा ल्याउन कठिनाई हुने गरेको चर्चा गरे ।
कार्यक्रम कैलाली जिल्ला बार एसोसियसनका अध्यक्ष प्रेम चन्दको अध्यक्षतामा भएको थियो । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अधिकृत झंकरबहादुर रावल, धनगढी उपमहानगरपालिकाका वडा सदस्य रत्ना बिष्ट, अधिवक्ता वीरबहादुर जेठारा, जोहरीलाल चौधरी र कैलाश कडायत, दलित महिला अधिकार मञ्चका कार्यकारी निर्देशक सावित्रा घिमिरे लगायतले धारणा व्यक्त गरेका थिए ।
कार्यक्रममा अधिवक्ता प्रयागदत्त भट्टले रोम विधानको पृष्ठभूमि, क्षेत्राधिकार, अनुसन्धान र अभियोजन, उजुरी लाग्ने अवस्था, पुर्पक्ष र सजाय लगायतका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
एड्जस नेपालीकी चित्रा पनेरूले स्वागत गरेको कार्यक्रमको सञ्चालन बारका सचिव हिमालयविक्रम विष्टले गरेका थिए । कार्यक्रममा गैरसरकारी संस्थाका पदाधिकारी, अधिवक्ता, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार