२ जेष्ठ २०८१, बुधबार

धनगढी–दिल्ली हवाइसेवा चाँडै सुरु हुन्छ : उड्डयनमन्त्री अधिकारी



धनगढी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले भारतका विभिन्न विमानस्थलसँग धनगढीलाई जोड्ने गरेर काम अघि बढी रहेको बताएका छन् ।
धनगढीमा आज आयोजित प्रदेश सातको पर्यटन प्रवद्र्धन तथा विकास छलफल कार्यक्रममा मन्त्री अधिकारीले एक वर्षभित्र धनगढीलाई भारतका विमानस्थलसँग जोड्ने गरेर काम भइरहेको बताए । उनले पर्यटक बढाउन छिमेकी देशमा मात्रै होइन पोखरा लगायतका मुलुकमा अन्य ठाउँमा पनि आन्तरिक हवाई सेवा सञ्चालन गरेर धनगढीसँग जोड्ने योजना रहेको जानकारी दिए ।
सन् २०२० मा २० लाख पर्यटक ल्याउने योजना सफल बनाउन सात नम्बर प्रदेशको केन्द्रका रूपमा धनगढी विमानस्थलको विकास गरिने उनले बताए । हामी एअरपोर्ट बनाउँछौं प्रदेश र स्थानीय तहले पर्यटकीय क्षेत्र निर्धारण गर्नै पूर्वाधार बनाउने काम गर्नुपर्छ उनले भने, एक महिनाभित्रमा सात नम्बर पर्यटन कार्यालय स्थापना गरिदैछ ।
दिल्ली, उत्तरप्रदेश र उत्तराखण्डको कराडौ जनसंख्या छ त्यसलाई नेपाल ल्याउनका लागि प्रचारप्रसार गर्न चाडै सात नम्बरमा भारतीय पत्रकार र टूर अप्रेटरको बैठक आयोजना गरिने पनि मन्त्री अधिकारीले बताए ।
भारतका पर्यटक ल्याउन हवाई सेवाका साथसाथै सडक सेवा पनि प्रभावकारी हुनुपर्ने उनको भनाइ छ ।
काठमाडौं, पोखरा, चितवन, लुम्बिनी, सगरमाथा क्षेत्रमा मात्रै अल्झिएका पर्यटकहरूलाई सात नम्बर र कर्णालीसम्म ल्याउन मन्त्रालयले हरसम्भव प्रयास गर्ने आश्वासन पनि उनले दिए ।
छलफलमा प्रदेश सभा सदस्यहरू तारा लामातामाङ, लालबहादुर खड्का, प्रकाश रावल, भरतबहादुर खड्का, डिल्लीराज पन्त लगायतले सात नम्बर प्रदेशको पर्यटकीय विकासबारे आफ्ना राय व्यक्त गरे । छलफलमा भाग लिदै डा. हेमराज पन्त, मायाप्रकाश भट्ट, जिल्ला समन्वय समितिका संयोजक सूर्यबहादुर थापा, घोडाघोडीका मेयर ममताप्रसाद चौधरी, व्यवसायी गोपाल हमाल पत्रकार मातृका तिमिल्सेना, वीरेन्द्र रावल लगायतले शुक्लाफाँटालाई भारतको दुधवासँग जोडेर फाइदा लिनुपर्ने बताए । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय मुख्य आयोजक रहेको कार्यक्रममा फाया नेपालका कार्यकारी निर्देशक धर्मराज पाठकले सात नम्बरको पर्यटनको अवस्था, सम्भावना र चुनौतिबारे कार्यपत्र प्रस्तुत गरे ।
यसैबीच धनगढीमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले मुआव्जा लगायतका समस्या एक साताभित्रै सकेर धनगढी विमानस्थललाई अझ अत्याधुनिक बनाउन सरकार लागिरेहको बताए ।
उनले अब आउने छ वटा ट्वीनेटर जहाजलाई प्रदेश–प्रदेशका मुख्य विमानस्थलमा बास बस्ने व्यवस्था गरेर तराइ पहाडलाई हवाई सेवाबाट जोड्ने बताए ।
फरक प्रसंगमा पहिले काम भएन भन्ने काम भएपछि अनावश्यक आक्रमण गर्ने प्रवृति नेपालमा हावी भएको चर्चा गर्दै उनले आफूमाथि हुने कुनै पनि आक्रमणले काम गर्न रोक्न नसक्ने बताए । म गल्ती गर्र्दिन कसैलाई मेरा काममा शंका छ भने अख्तियार, अदालत लगायतका निकायमा गए हुन्छ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार