२ जेष्ठ २०८१, बुधबार

सम्झौता भएको अढाई वर्ष पुग्यो, काम अलपत्र



सुखड । ठेक्कापट्टा सम्झौता भएको अढाई वर्ष भइसक्दा पनि कैलालीको सुखड–लठुवा सडकखण्ड कालोपत्रे गर्ने कार्य अलपत्र रहेको छ ।
घोडाघोडी नगरपालिका र निर्माण कम्पनीबीच आर्थिक वर्ष २०७२/०७३ मा एक करोड ५० लाख रुपैयाँमा सुखड–लठुवा सडकखण्डको दुई किलोमिटर सडक कालोपत्रे गर्ने सम्झौता भएको थियो ।
सम्झौता अनुसार पहिले एक किलोमिटर सडकखण्ड कालोपत्रे गरिए पनि केही दिनभित्रै कालोपत्रे उप्किन थालेको स्थानीयले बताए ।
स्थानीय भन्छन्– “नगरपालिकाले पटक–पटक म्याद थप गर्दै जाने, ठेकेदारले सडक कालोपत्रे गरिरहने र केही दिनमै कालोपत्रे उप्कदै जाने क्रम अहिलेसम्म चलिरहेको छ ।” स्थानीयका अनुसार सो सडकको एक किलोमिटर सडकखण्ड अहिले तेस्रो पटक कालोपत्रे हुँदै छ । भने दोस्रो चरणको काम अन्तर्गत बाँकी एक किलोमिटर सडक खण्डमा ग्राभेल थुपारिएको छ ।
घोडाघोडी बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख लक्ष्मीप्रसाद भट्टराई ठेकेदारको लापरवाहिका कारण सो सडकखण्डमा कालोपत्रे गर्ने काम पुरा हुननसकेको बताउँछन् ।
घोडाघोडी नगरपालिकाका योजना शाखा प्रमुख अशोक जोशीले ठेकेदारले मापदण्ड विपरित मनोमानी ढंगले कालोपत्रे गरेकाले पटक–पटक कालोपत्रे उप्किने गरेको बताए । उनले अहिले सो योजनाको ठेकेदार सम्पर्कबिहिन रहेको बताए ।
घोडाघोडी नगरपालिकाले ठेकेदार तपेन्द्र शाहलाई कालोपत्रेका लागि एक पटक फेरि म्याद थप गरेको जनाएको छ । घोडाघोडी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्यले मापदण्ड अनुसार आगामी कात्तिक महिनाभित्र सडक कालोपत्रे नभए सम्झौता रद्द गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार