साक्षर घोषणामा ध्यान देऊ– मन्त्री सोडारी
धनगढी । प्रदेश नम्बर ७ का सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीले कैलाली जिल्लालाई साक्षर घोषणा गराउनमा स्थानीय तहहरूले विशेष ध्यान दिन आग्रह गरेका छन् ।
शिक्षा इकाइ तथा समन्वय समिति कैलालीले बिहीबार धनगढीमा आयोजना गरेको विद्यार्थी भर्ना विशेष अभियान २०७५ दोस्रो चरणको कार्यक्रम कार्यान्वयन र कैलाली जिल्ला साक्षर घोषणा सम्बन्धी बैठकमा सामाजिक विकास मन्त्री सोडारीले तथ्यांकका आधारमा जिल्लालाई साक्षर घोषणा गर्न उपयुक्त रहेको भए पनि पहाडी क्षेत्रमा निरक्षरको संख्या अझैं पनि उल्लेख्य रहेको बताए । उनले पहाडी क्षेत्रका मानिसलाई साक्षर बनाउन स्थानीय तहले विशेष कार्यक्रम अघि बढाउन जरुरी रहेको बताए ।
मन्त्री सोडारीले साक्षर घोषणाका आधारमा जिल्लालाई साक्षरता दिवसका दिन घोषणा गर्न कुनै समस्या नरहेको बताए ।
जिल्ला समन्वय समिति कैलालीका प्रमुख सूर्यबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा कैलालीका १३ वटै स्थानीय तहका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष, जिल्ला शिक्षा इकाइ समन्वय समितिका कर्मचारी, सञ्चारकर्मीको सहभागिता रहेको थियो ।