१२ माघ २०८१, शनिबार

शहिद गोविन्द गौतमको शालिक बनाउने मुख्यमन्त्रीकाे घोषणा



धनगढी । प्रदेश सातका मुख्यमन्त्री त्रिलोचन भट्टले सीमा विवादमा भारतीय प्रहरीको गोली प्रहारबाट मारिएका शहिद गोविन्द गौतमको शालिक बनाउने घोषणा गरेका छन् ।
हामीले देशका लागि ज्यान दिनेको सम्मान गर्नुपर्छ गोविन्द मारिएकै ठाउँ नजिकै भएको कञ्चनपुरको पुनर्वास नगरपालिकाको नवनिर्मित भवनको बिहीबार उद्घाउन गर्दै मुख्यमन्त्री भट्टले शहिद गौतमको शालिक बनाउने घोषणा गरेका हुन् ।

शहिद गोविन्द गौतम

मुख्यमन्त्री भट्टले प्रदेश सरकारले पुर्नवास नगरपालिका क्षेत्रमै शालिक बनाउने बताएका हुन । गोविन्द पुर्नवास नगरपालिका वडा नम्वर–४, आनन्दबजारमा २०७३ साल फागुन २६ गते मारिएका थिए ।
मुख्यमन्त्री भट्टले भव्य नगर भवन बनाउन सफल भएको पुर्नवास नगरपालिकाले अब तिब्र गतिमा जनताको सेवा गर्ने विश्वास गरे । उनले जताततै आर्थिक वर्षको अन्तिममा विकास निर्माणका कार्य गर्ने परम्परा रहेको चर्चा गर्दै त्यस्ता पुराना चलनको अन्त्य गर्न पनि आग्रह गरे ।
सोही अवसरमा प्रदेश सभा सदस्य तारा लामा तामाङले नगरको विकासमा सबै जनता एक भएर अघि बढ्नुपर्नेमा जोड दिए ।
गत वर्ष शुरु भएको नगरको भव्य भवन निर्माण कार्य निर्धारित समयावधी भन्दा आठ महिना पहिले नै सम्पन्न भएको छ । पाँच हजार चार सय २२ वर्ग मिटर क्षेत्रफलमा बनेको नगर भवन छ करोड ३२ लाख १२ हजार आठ सय तीस रुपैयाँमा बनेको हो । दुई तले सो भवनमा ठूलाठूला ११ वटा कोटा र हल रहेका छन् ।
सो अवसरमा नगरप्रमुख जीवनराज थापाले चक्रपथ, विद्युत विस्तार र सिंचाइका क्षेत्रमा सहयोग गर्न प्रदेश सरकारलाई सहयोग गर्न आग्रह गरेका थिए । कार्यक्रममा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख फैर तामाङ, नगरका उपप्रमुख शारादा विष्ट लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार