१२ श्रावण २०८१, शनिबार

सामुहिक बलात्कार तथा हत्या घटना : दोषिलाई सर्वस्वसहितको जन्मकैदको माग



सुखड । कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ११ कटानकी २१ वर्षीया माया विकको सामुहिक बलात्कार तथा विभत्स हत्यामा संलग्न दोषिहरूमाथि सर्वस्वसहितको जन्मकैदको माग गरिएको छ ।
मायाको सामुहिक बलात्कार र हत्या भएको विरोधमा सोमबार मसुरियामा भएको श्रद्धाञ्जली सभामा पीडित परिवारलाई उचित क्षतिपूर्तिको पनि माग गरियो ।
प्रगतिशील शिक्षक मञ्च, तदर्थ समितिको आयोजनामा भएको कार्यक्रममा प्रदेश सांसद टेकबहादुर रैकाले अझै पनि दलित समुदायलाई हेर्ने दृष्टिकोणमा सुधार आउन नसकेको चर्चा गरे । उनले दलित समुदायमाथि समाजका अरू पक्षको हेपाहा प्रवृत्तिका कारण यस्ता जघन्य घटना दोहोरिने गरेको बताए ।
सांसद रैकाले मायाको बलात्कार तथा हत्यामा संलग्न पाँचै जनामाथि जातीय छुवाछूत ऐन अनुसारको कारवाही, कर्तव्य ज्यान तथा जवरजस्ती करणी अन्तर्गत मुद्दा चलाउन माग गरे । उनले घटनामा संलग्न अभियुक्तहरूको अंश सहित पीडित परिवारलाई क्षतिपूर्ति दिन माग गरे ।
सो अवसरमा सांसद दुर्गाकुमारी विकले घटनामा संलग्न दोषिहरूलाई सर्वस्व सहितको जन्मकैदको माग गरिन् ।
सभामा गौरीगंगा नगरपालिका प्रमुख भीमबहादुर देउवाले मायामाथि भएको सामुहिक बलात्कार तथा हत्या घटना निकै निन्दनीय भएको चर्चा गरे । उनले पीडित परिवारलाई उचित राहत र दोषिलाई कानुन बमोजिम हदैसम्मको कारबाही हुनुपर्ने बताए । नगर प्रमुख देउवाले समाजलाई नै स्तब्ध बनाउने यस्ता जघन्य अपराधमा संलग्न अपराधीलाई फासीको व्यवस्था हुनुपर्ने माग गरे ।
नगर उपप्रमुख अञ्चला चौधरीले यस्ता जघन्य अपराधिक घटना दोहोरिन नदिन समाजका सबै पक्ष गम्भीर र संवेदनशील हुन आग्रह गरिन् ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, विद्यार्थी, शिक्षक तथा ठूलो संख्यामा स्थानीयको सहभागिता रहेको थियो ।
असार १२ गते नगरपालिकाबाट घरधुरी सर्वेक्षणमा निस्किएकी मायाको असार १५ गते गौरीगंगा नगरपालिकाको वडा नम्बर ११ स्थित चपरतल्ली सामुदायिक वनमा शव फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार