२० कार्तिक २०८१, मंगलवार

चार सामुदायिक अस्पताललाई डेढ करोड



धनगढी । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश ७ का चार वटा सामुदायिक अस्पताललाई झण्डै डेढ करोड रुपैयाँ अनुदान दिने भएको छ ।
मन्त्रालयले ‘सामुदायिक अस्पताललाई अनुदान दिने सम्बन्धी (दोस्रो संशोधन) निर्देशिका २०७३’ अनुसार प्रदेशका चार वटा अस्पतालमा एक करोड ४९ लाख दुई हजार रुपैयाँ अनुदान दिने निर्णय गरेको जनाइएको छ ।
चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार मन्त्रालयले अस्पतालहरूलाई २५ लाखदेखि ५२ लाख रुपैयाँसम्म अनुदान रकम दिने भएको छ । मन्त्रालयको अनलाईन पोर्टल अनुसार कैलालीको सुदूरपश्चिमाञ्चल सामुदायिक अस्पताल, पिपुल्स सामुदायिक अस्पताल, अछामको वयलपाटा अस्पताल र डोटीको सुजुङ अस्पताललाई अनुदान दिइने छ ।
सो अनलाईन अनुसार कैलालीको सुदूरपश्चिमाञ्चल सामुदायिक अस्पताललाई २९ लाख ५६ हजार, पिपुल्स सामुदायिकलाई ३३ लाख २५ हजार, वयलपाटा अस्पताललाई ५२ लाख ५६ हजार र सुजुङ अस्पताललाई ३३ लाख २५ हजार अनुदान दिने जनाइएको छ ।
यस्तै मन्त्रालयले देशका विभिन्न स्थानमा रहेका ३० वटा सामुदायिक अस्पताललाई १० करोड रुपैयाँ अनुदान दिने भएको छ ।
मन्त्रालयले सबैभन्दा बढी अछामको बयलपाटा अस्पताललाई र सबैभन्दा कम भक्तपुरको सिद्धि स्मृति प्रतिष्ठानलाई २५ लाख २५ हजार अनुदान दिने निर्णय भएको छ । स्रोतका अनुसार, अनुदान पाउनेमा अधिकांश राजनीतिक रूपमा निकट र पहुँच भएका अस्पतालहरू छन् ।
प्रदेश ७ का कुन सामुदायिकले कति रकम पाए ?

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार