१० श्रावण २०८१, बिहीबार

चौध वटा क्याम्पस सुविविको आंगिक




धनगढी ।
प्रदेश नम्बर ७ का १४ वटा सामुदायिक क्याम्पस औपचारिक रूपमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका आंगिक क्याम्पस भएका छन् ।
शिक्षा मन्त्रालय, अर्थ मन्त्रायल, विश्वविद्यालय अनुदान आयोग र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयबीच भएको सहमतिअनुसार चार सय ४४ दरबन्दीसहित १४ वटा क्याम्पस आंगिक क्याम्पसमा परिणत भएका छन् ।
सोमबार एक औपचारिक कार्यक्रम गरी १४ वटा क्याम्पसका चार सय ४४ दरबन्दीमा कार्यरत शिक्षक कर्मचारीहरूलाई समायोजन गरी नियुक्ति समेत दिइएको छ ।

फाइल तस्बिर

त्यसैगरी १४ वटै क्याम्पसका क्याम्पस प्रमुखहरूलाई समेत सोहीे जिम्मेवारी सहित नियुक्ति दिइएको छ ।
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा समायोजन भइसकेपछि आंगिक क्याम्पसहरूले शैक्षिक, भौतिक र प्रशासनिक रूपमा आफूलाई चुस्त बनाएर उत्कृष्ट क्याम्पसका रूपमा सञ्चालन गर्न विश्वविद्यालयका रजिष्टार प्राध्यापक डाक्टर द्विजराज भट्टले निर्देशन दिएका छन् ।
विश्वबजारमा बिक्ने जनशक्ति उत्पादनका लागि जुन विषय उच्च शिक्षामा आवश्यक रहेको र ती विषयहरूको अध्यापन गर्न चाहने क्याम्पसहरूलाई तुरुन्त सो विषय अध्यापन गराउन समेत स्वीकृति दिइने बताउँदै रजिष्टार प्राध्यापक डाक्टर भट्टले क्याम्पसहरूले गुणस्तरीय जनशक्ति उत्पादनमा ध्यान दिनुपर्ने बताए ।
अर्थ मन्त्रालयले सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका १४ वटा क्याम्पसका चार सय ४४ दरबन्दी र मध्यमाञ्चल विश्वविद्यालयका १० वटा क्याम्पसका दुई सय तीन दरबन्दी गरी छ सय ४७ दरबन्दीका लागि २९ करोड ३७ लाख ७८ हजार दुई सय २५ रुपैयाँ विनियोजन गरेपछि आंगिकको प्रक्रिया अन्तिममा पुगेको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रायलले असार १४ गते विश्वविद्यालय अनुदान आयोगलाई आगामि वर्षका लागि थपिएको वजेटबाट कार्यान्वयन गर्ने गरी मन्त्री परिषद्को २०७४ भदौ २१ को निर्णयानुसार कार्यान्वयन गर्न निर्देशन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार