१७ बैशाख २०८१, सोमबार

सामाजिक विकास मन्त्रीद्वारा सहारा घरको अवलोकन



बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा रहेको असहायका लागि सहयोगी हातहरू, नेपालद्वारा सञ्चालित सहारा घरको प्रदेश नम्बर ७ का सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीले सोमबार अवलोकन गरेका छन् ।
सो अवसरमा सामाजिक विकास मन्त्री सोडारीले सहारा घरका क्रियाकलाप तथा संस्थाका समस्याबारे जानकारी पनि लिएका थिए ।
सो अवसरमा संस्थाका अध्यक्ष बलबहादुर बिष्टले मन्त्री सोडारीलाई संस्थाले घरपरिवारबिहीन तथा अवहेलनामा परेका सहाराबिहीनहरूको स्याहार सुसार गर्ने, उनीहरूको परिवारको खोजी गर्ने र परिवार पत्ता लागेका व्यक्तिहरूलाई जिम्मा लगाउने तथा परिवार पत्ता लाग्न नसकेका व्यक्तिलाई सहारा घरमा आश्रय दिइरहेको जानकारी दिए ।
अध्यक्ष बिष्टले घर परिवारबाट अलग्गिएर सडकपेटीमा भौतारिदै हिड्ने शारीरिक र मानसिक रूपमा अशक्त भएकाहरूमध्ये २१ जनालाई आश्रय दिनुका साथै उनीहरूको परिवार पत्ता लगाएर पुनर्मिलन गराइएको बताए । हाल सहारा घरमा २७ जनालाई आश्रय दिइएको छ ।
अध्यक्ष बिष्टले संस्थाले बेहोरिरहेका समस्याबारे पनि अवगत गराएका थिए । उनले मनोसामाजिक परामर्शका लागि कुशल परामर्शदाताको अभाव रहेको, नियमित रूपमा स्वास्थ्य परीक्षणका लागि स्वास्थ्यकर्मीको अभाव, शुद्ध पिउने पानीको अभाव, असहाय महिला र पुरुषलाई अलग अलग कक्षमा राखेर हेरचाह गर्ने घरको अभव रहेको, सिकिस्त विमारी भएको अवस्थामा अस्पतालसम्म पुर्‍याउन एम्बुलेन्सको अभाव रहेको लगायतका समस्या प्रस्तुत गरेका थिए ।
सो अवसरमा सामाजिक विकास मन्त्री सोडारीले सरकारले मानवीय सेवाको कार्यमा लागेका संस्थाको सहयोगका लागि आवश्यक पहल गर्ने बताए ।
यसैबीच फाया नेपालले सहारा घरलाई विभिन्न सामग्री सहयोग गरेको छ । फाया नेपालका अध्यक्ष शेरबहादुर बस्नेतका अनुसार तीन सेट घुम्ती शौचालय, कोठा सफा गर्ने भ्याकुम क्लिनर, दाल चामल राख्न प्रयोग हुने प्लाष्टिकका जर्किन चार थान, त्रिपाल एक थान, दान पेटीका एक थान सहारा घरलाई प्रदान गरिएको छ । ती सामग्री सामाजिक विकास मन्त्री सोडारीले सहारा घरका अध्यक्ष बिष्टलाई हस्तान्तरण गरेका थिए ।
त्यस्तै, फाया नेपालका सचिव लोकराज भट्टकी श्रीमतीको जन्मदिनको अवसरमा २५ केजी चामल र पाँच केजी दाल तथा फाया नेपालका नीति तथा साझेदारी संयोजक धनपति ढुंगेलका श्रीमती धना ढुंगेलको जन्मदिनको अवसरमा १० केजी चिउरा, १० केजी नून, एक कार्टुन तेल, अढाई केजी नमकिन र पाँच केजी दाल सहारा घरलाई सहयोग प्रदान गरिएको छ ।
कार्यक्रममा कैलाली उद्योग वाण्ज्यि संघका पूर्व अध्यक्ष कर्ण कुँवरले सहारा घरलाई मासिक एक क्विन्टल चामल सहयोग गर्ने घोषणा गरेको संस्थाका अध्यक्ष बिष्टले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार