१७ बैशाख २०८१, सोमबार

कैलालीमा भारीवर्षा



धनगढी । आइतबार रातिदेखि परेको भारी वर्षाका कारण कैलालीमा एक जना बृद्धाको मृत्यु भएको छ । भारी वर्षापछि नदीखोलामा बाढी आउँदा विभिन्न स्थानमा गरी १४ घरपरिवार विस्थापित भएका छन् । वर्षाका कारण जिललका विभिन्न स्थानमा एक सय बढी घर डुबानमा परेका छन् ।
अविरल वर्षाका कारण आइतबार राति घर भत्किएर गोदावरी नगरपालिका वडा नम्बर ९, धनचौरीकी ६२ वर्षीया दुथा रानाको मृत्यु भएको छ । कैलालीका प्रहरी प्रमुख (प्रहरी उपरीक्षक) विनोद घिमिरेका अनुसार घरमै सुतिरहेको बेला राति एक्कासी घर भत्किँदा दुथाको च्यापिएर मृत्यु भएको थियो । घरमा च्यापिएका उनका श्रीमान ६५ वर्षीय कडेवा राना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
भारी वर्षाका कारण कैलालीको दक्षिणी क्षेत्रमा पर्ने भजनी नगरपालिकामा १४ घरपरिवार विस्थापित भएका छन् । अविरल वर्षापछि विस्थापित भएका उनीहरूलाई नजिकै रहेको कुटिस्थित सामुदायिक विद्यालयमा राखिएको स्थानीय प्रशासनले जनाएको छ ।
अविरल वर्षाका कारण कैलालीको अत्तरिया, भजनी, टीकापुर, जोशीपुर, धनगढी लगायतका क्षेत्रमा बजार र दर्जनौ वस्ती जलमग्न भएका छन् । बजार क्षेत्रमा ढल निकासको उचित व्यवस्थापन हुन नसक्दा मुख्य चौक र आसपासका वस्ती जलमग्न भएका छन् ।
अत्तरिया बजारका करिब एक दर्जन पसलमा पानी पसेको छ । अविरल वर्षाकै कारण अत्तरियादेखि धनगढीसम्मको सडकमा यातायात सञ्चालनमा निकै कठिनाई भइरहेको छ । निर्माणाधीन अत्तरिया–मोहना ६ लेन सडकको ठाउँठाउँमा कल्र्भट निर्माण भइरहेको तथा सडक अत्यधिक हिलाम्ये भएका कारण यातायात सञ्चालनमा निकै कठिनाई भइरहेको छ ।
जिल्लाको बाढी प्रभावित क्षेत्रको रूपमा चिनिने भजनी क्षेत्रमा आइतबार रातिदेखि परेको अविरल वर्षाले डुबानमा परेको भजनी नगरपालिकाका प्रमुख शेरबहादुर चौधरीले जानकारी दिए । उनका अनुसार भजनी नगरपालिकाको वडा नम्बर ३ को पकरियापुर, वडा नम्बर ५ को लौबास्ता, कुटीपुर र लालबोझी, वडा नम्बर ७ को सिराधानी बस्तीर गणेशमान मुक्तकमैया वस्ती, वडा नम्बर ८ को काडाढिक र वडा नम्बर ९ को खुरखुरिया तथा ओखरपुर वस्तीमा गरी एक सय बढी घर डुबानमा परेका छन् ।
नगर प्रमुख चौधरप्ले कान्द्रा, मोहना, पथरैया र काडा नदीमा आएको बाढीले वस्ती डुबानमा परेको जानकारी दिए । नदीको पानीको बहाब बढ्ने क्रम जारी रहेको बताउँदै उनले सुरक्षित स्थानमा उद्दार कार्य जारी रहेको जनाए । हाल सो क्षेत्रमा भजनी नगरपालिका, नेपाल रेडक्रस, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली उद्दारमा खटिएको जनाइएको छ ।
जिल्ला प्रशासन कार्यालय कौलालीले वर्षातको समयमा हुन सक्ने सम्भावित बाढी, पहिरो, चट्याङ लगायत प्राकृतिक प्रकोपको जोखिमबाट जोगिन तथा जोखिम न्यूनीकरणको लागि उच्च सतर्कता अपनाइएको जनाएको छ ।
बाढी र पहिरो प्रभावित क्षेत्रमा आवश्यक जनशक्तिसहित सुरक्षा निकाय तथा उद्दार टोली, राहात वितरण टोली, सम्बन्धित सरोकारवाला निकाय लगायतलाई तयारी अवस्थामा रहन निर्देशन दिएको कैलालीका निमित्त प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले बताए ।
निमित्त प्रमुख जिल्ला अधिकारी भट्टले कैलालीका पानीको बहाव उच्च रहने तथा मुख्यमुख्य नदीमा पानीको बहाव मापनको लागि उपकरणसहित जनशक्ति तयारी अवस्थामा राखिएको बताए । उनले दैवी प्रकोप जतिबेला पनि हुनसक्ने भएकाले सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरे ।
निमित्त प्रमुख जिल्ला अधिकारी भट्टका अनुसार कैलालीको मोहना, कर्णाली, घुराहा, कान्द्रा, कटैनी, पथरिया, शिवगंगा, मनहरा, काँडालगायत १६ वटा नदीमा बाढीको पूर्व सूचना प्रणाली तथा वर्षा मापण केन्द्र एवं नदीको चेतावनी तथा खतरा तह मापनको लागि जनशक्ति तयारी अवस्थामा राखिएको छ ।

सम्बन्धित समाचार

उपमहानगर डुवान भएका बस्तीको पानी निकास गर्दै

चिसापानी जोखिम घोषित

अविरल वर्षापछिका कारण १० काे ज्यान गयाे

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार